• सोमबार, १३ असार, २०७९
  • ११:०४:१५

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०८:२५:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ। उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित हुनुभएको हो । 


थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गर्नुभयो । 

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।