• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:०९:२०

भरतपुरमा रेनु दाहाल १७ सय १२ मतले अगाडि

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- १२:३४:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 

काठमाडौँ, ४ जेठ। भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गर्नुभएको छ । 

वडा अध्यक्षमा गठबन्धनका  तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गर्नुभएको छ । श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गर्नुभएको छ ।

  यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ । 

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय  गठबन्धनको अग्रता कायम गरेको छ ।