• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:०७:४५

स्थानीय निर्वाचन: १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित 

  • Netizen Nepal
  • सोमबार, २३ जेठ, २०७९- ०८:००:००/ Monday 06-06-22

नेटिजन संवाददाता 
काठमाडौँ, २३ जेठ। स्थानीय तहको निर्वाचनमा ४१.२ प्रतिशत महिला निर्वाचित भएपछि महिलाको प्रतिनिधित्व न्यून रूपमा बढेको छ। स्थानीय निर्वाचन–२०७४ को तुलनामा २०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनबाट चुनिएका महिला १ प्रतिशत बढी छन्।

सत्ता साझेदार पाँच दलीय गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घट्ने अनुमान गरिए पनि न्यून रूपमा बढी नै निर्वाचित भए। बाध्यात्मकबाहेक प्रमुख पदमा महिला जनप्रतिनिधिको संख्या केही बढेको हो। यसपटक देशभरबाट १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित भएका छन्।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गरी प्रमुख पदमा २५ महिला विजयी भएका छन्। २०७४ सालमा प्रमुख पदमा १८ महिला निर्वाचित भएका थिए। यसपालि ७ सय ५२ स्थानीय तहमा ३४ हजार ९ सय ५३ जनप्रतिनिधि निर्वाचित भएका हुन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन हुन बाँकी छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अघिल्लो निर्वाचनमा भन्दा यसपालि ५३ महिला बढी जनप्रतिनिधिमा चुनिएका छन्। विवादका कारण रोकिएको बुढीगंगामा निर्वाचन आयोगले पुनः निर्वाचन गर्न भनेको छ। तर दलीय सहमति नजुट्दा निर्वाचन मिति टुंगो लागेको छैन। त्यहाँ निर्वाचन भएपछि महिला जनप्रतिनिधि संख्या केही बढ्नेछ।

जनप्रतिनिधिमा महिलाको संख्या न्यून रूपमा बढी देखिए पनि बाध्यात्मक पदबाहेकका पदमा पनि महिला उल्लेखनीय रूपमा वृद्धि हुन सकेको देखिन्न। यसपटक देशभरबाट महिला उम्मेदवार ५५ हजार ६ सय ९९ जना थिए। विभिन्न पालिकाका वडामा १ सय २३ दलित महिला सदस्य पद खाली छ।

अनिवार्य गरिएका पदमा दलहरूले उम्मेदवार अघि सार्न नसक्दा र स्वतन्त्र उम्मेदवारी दिने पनि कोही नहुँदा ती पद खाली भएका हुन्। कतिपय स्थानमा दलितको बसोबास नहुँदा उम्मेदवारी नै नपरेको निर्वाचन आयोगको भनाइ छ। नागरिक दैनिक