• बुधबार, १२ बैशाख, २०८१
  • ०९:३५:१६

पुरुष जति सबै खराब हुन् त ? 

नारी र पुरुष ५०/५० होइनन् । १००/१०० प्रतिशत हुन् । उनीहरु आफैंमा पूर्ण छन् । आधि बनाउने र आधि सम्झने अधिकार कसैलाई छैन । 

 

पार्वती अधिकारी 
एकचोटी भगवान शिव र पार्वती ठुलो मन्दिरमा पुगेछन् । मन्दिरमा मेला लागेको थियो । जताततै दर्शनार्थीको भिडमभिड ।  कतै भजन गाइरहेको, कतै भगवानको जप गरिरहेको । भिडको प्रवाह नगरी भगवानको दर्शनमा मानिसको ओइरो-पहिरो थियो । अझ कतिपय त घन्टौं भोकभोकै लाइन बसेर पुजाअर्चना गर्दै थिए । मन्दिरमा बुढाबुढी देखि युवापुस्ता र बालबालिका सबैको उल्लेखीय उपस्थिति थियो । यो रमिता देखेर पार्वतीलाई अचम्म लागेछ र भगवान शिवलाई भन्नुभएछ, ’ओहो ! श्रीमानज्यु, दुनियाँमा कति धेरै धर्मात्माहरु रहेछन् ।’

भगवान शिवलाई खासै अचम्म लागेनछ । उनले ’अँ, होला ’ भनेरै टारिदिएछन् ।  
फेरि पार्वतीले प्रश्न गरिछन्, 'के यिनीहरु साँच्चिकै  धर्मै गर्न आएका होलान् त ?’
पार्वतीको प्रश्नको जवाफका लागि शिवले एउटा जुक्ति निकालेछन् । शिव पार्वती त्यहि मेलाको एउटा छेउमा गएछन् । शिवले शरिरबाट पिप, रगत बग्दै गरेको रोगी श्रीमानको अभिनय गरेछन् र बाटोमा सुतेछन् । पार्वतीले छेउमा बसेर रुने कराउने अभिनय गर्नुपर्ने थियो ।  
पार्वतीले रुँदै भनिछन्, 'मेरो श्रीमान् बिरामी हुनुहुन्छ । उहाँको यो रोग निको हुनका लागि संसारका सबै तिर्थहरुको दर्शन गरेको मानिसले छोइदिनु पर्छ रे ।’ 

भगवानशिवलाई देखेर कोहि छिःछि भन्दै तर्किएर भागेछन् । कतिपयले ’तिमी यति राम्री छौ, त्यो रोगि श्रीमानलाई छोडिदेउ । तिम्रो श्रीमान् भन्दा लायकका त हामी छौं’ भन्न समेत भ्याएछन् । त्यत्रो लाखौँको भिडमा शिवलाई छोएर ठिक पाइदिने मानिस कोहि भेट्टीएनछ ।  दिन ढल्नै लागेको थियो । एकजना अधबैंसे उमेरको मानिस उनीहरु भएको ठाउँमा गएछ र सोधेछ । 'के भयो तपाईंको श्रीमानलाई ?
पार्वतीले  सबै बेलिबिस्तार लगाइछिन् । त्यसपछि त्यो मानिसले भन्यो, ’ए किनचिन्ता लिएको ? म छु नि ।  म संसारको सबै तिर्थस्थलमा पुगेको छु ।’ 
त्यसपछि त्यो मानिसले शिवलाई छोइदिएछ । नभन्दै शिवलाई ठिक भएछ । अचम्मको कुरा त के भने त्यो मानिस संसारको कुनै पनि तिर्थ  गएको थिएन । उसको मन सफा थियो।  अन्त्यमा यहि निष्कर्ष निस्किएछ कि त्यो मन्दिरमा दर्शन गर्न आएका लाखौँ मानिसमध्ये धर्मात्मा त त्यहि एकजना मात्र पो रहेछ । बाँकी त कोहि रमाइलो हेर्न, कोहि समय बिताउन, कोहि केटि जिस्क्याउन, कोहि भगवानसंग नचाहिने सर्त राक्दै आवश्यकता पुरा गर्न आएका रहेछन् ।  

यहाँ भगवानको कथा सुनाएर प्रवचन दिन खोजेकी चाहिं पटक्कै होइन । यो प्रसङ्ग पछिल्लो समय सामाजिक संजालमा जन्मिएका महिलावादी (फेमिनिस्ट)हरुको चर्चाका लागि प्रस्तुत गरिएको हो ।  च्याउसरि जन्मिएका फेमिनिस्टहरुको के काम हो कसैले बुझेका छैनन् । उनीहरु आफैंले पनि बुझेका छैनन्, 'म के गरिरहेकी  छु र  म के बोलिरहेकी छु ।’ सामाजिक संजाललाई मन्दिरको रुपमा मान्ने हो भने अहिले च्याउसरी उम्रिएका फेमिनिस्टहरुले घंचमंच त पारिदिएका छन् । तर उनीहरुको काम भिड बढाउने र हुलदंगा मच्चाउने भन्दा बाहेक अरु केहि हुँदै होइन । अझ कतिपय त पुरै समाजलाई नै पुरुषबिरुद्ध उराल्ने अभ्यासमा लागेका छन् । उनीहरुको एउटै भनाइ सुन्न सकिन्छ, 'सबै समस्याको जड पुरुष नै हुन् । पुरुष अपराधि व्यक्ति हो । उसले महिलालाई दुःख मात्र दिन्छ । पुरुषकै कारणले महिलाहरु बाँच्नै नसक्ने स्थितिमा पुगिसके।’ 

उनीहरुका यस्तै भड्किला र चड़किला कुराहरुले गर्दा साँच्चै पिडित महिलाहरुका बारेमा आवाज उठाउनेहरुलाई पनि मानिसले पत्याउन छाडीसकेका छन् । 'महिलाअधिकारकर्मी’ भन्ने शब्द सुन्दा मानिसले अलि झर्को मान्छन् ।  त्यहि देखाइयो ।  त्यहि सुनाइयो ।  कि महिला अधिकारकर्मी भनेका पुरुषको विरुद्धमा बोल्ने मानिस हुन् । त्यो सरासर गलत हो । सहि कुरा फैलन समय लाग्छ तर गलत कुराहरु एकछिनमै दुनियाँ साराले थाहा पाइहाल्छ । त्यसैले यो विषय पनि यसरी नै चर्कियो, उरालियो । 

महिला मात्र होइन पुरुष पनि फेमिनिस्ट हुन सक्छन् । समग्र महिलाको भलो चाहाने पुरुष नै फेमिनिस्ट पुरुष हुन् । महिलालाई दमन गर्ने र गलत फाइदा उठाउने नियत भएकाहरु पुरुष होइनन् ।  उनीहरु मानिस पनि होइनन् ।  मानिसजस्ता देखिने परजीवी मात्र हुन् । यस्ता परजीवीको अन्त्यका लागि  किटनाशक औषधि या एन्टीबायोटिक प्रयोग गर्नुपर्छ ।  त्यसपछि उनीहरुको ’च्याप्टर’ सधैंका लागि ’क्लोज’ गरिदिनुपर्छ ।
  
पुरुषको बिरुद्धमा मात्र बोल्ने नारीहरु कसरी फेमिनिस्ट हुन सक्छन् ? उसलाई जन्माउने बाबु पुरुष होइन ?उसको दाजुभाइ, इष्टमित्र, छरछिमेक सबै पुरुष होइनन् ? पुरुषबिना दुनियाँ चल्छ ? कल्पना गरौँ न, दुनियाँमा महिला मात्र छन् । कस्तो होला दुनियाँको स्वरुप ? चल्न सक्ला र दुनियाँ ? जति नारीको महत्व छ, पुरुषको पनि त्यति नै छ । हामी भन्ने बेला अर्धांगिनी शब्द प्रयोग गर्छौं । अनि अधिकार भने ३३ प्रतिशत मात्र माग्छौं । नारी र पुरुष एक रथका दुई पाङ्ग्रा होइनन् र ? हो भने नारीको ३३ प्रतिशत पाङ्ग्राले रथ चल्ला ? लगभग लगभग पन्चर भएको टायरले गन्तब्यसम्म पुर्याउला भन्न पनि त सकिंदैन । नारी र पुरुष ५०/५० होइनन् । नारी र पुरुष त १००/१०० प्रतिशत हुन् । उनीहरु आफैंमा पूर्ण छन् । आधि बनाउने र आधि सम्झने अधिकार कसैलाई छैन । 

हामी आमालाई संसारको सबैभन्दा महत्वकी नातेदार सम्झन्छौं  । आमालाई तपाईंले कति प्रतिशत अधिकार दिनुभएको छ ? तपाईंको हरेक गल्ति औंल्याएर झापड हान्ने अधिकार आमाको छ । तपाईंले गरेका हरेक काममा यो सहि र यो गलत भनेर छुट्याइदिन सक्ने क्षमता उनमा छ ।  तपाईंको हरेक पाइलामा हौसला दिने र सफलताको बाटोसम्म डोहोर्याउने सामर्थ्य राख्छिन् उनि ।  अनि तपाईं आमालाई ३३ प्रतिशत अधिकार दिन सक्नुहुन्छ ?  ’चाइल्ड इज फादर अफम्यान’भनेजस्तै हरेक नारीहरु आमा हुन् । आज आमा नभएका नारीहरु भोलीका आमा नै हुन् । आमालाई अधिकार चाहिन्न, किनकि सन्तान प्रतिको सबै अधिकार आमाको हातमा हुन्छ ।  सन्तानले आमालाई आमाकै स्थानमा राखीरहोस् । आमाले पनि आफुभन्दा ठुलो जात पुरुष हो भनेर कहिल्यै आफ्ना सन्तानलाई नसिकाउन् ।  अनि यहींबाट सुरु हुने थियो समानताको कहानी ।  

दुनियाँमा धेरै राम्रा पुरुषहरु छन्, जसले आफ्ना श्रीमतीको हात समाएर सफलताको बाटोसम्म डोहोर्याएका छन् ।  कयौं बाबुहरू छन्, जसले आफ्ना छोरीहरुको खुशीका खातिर ज्यान दिन तयार हुन्छन् । अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामा आफुलाई सबैभन्दा पहिले छोरीको बाबु भन्न रुचाउँछन् ।  त्यसपछि मिसेलको श्रीमान् भन्छन् । तेस्रो नम्बरमा मात्र उनले आफुलाई अमेरिकाको राष्ट्रपति भनेर परिचय दिन्छन् । सच्चा पुरुषहरु यस्तै हुन्छन् । यो भन्नका लागि मात्र भनिएको होइन कि हरेक पुरुषको सफलताको पछाडी नारीको हात हुन्छ । त्यस्तै हरेक नारीको सफलताको पछाडी पनि पुरुषको हात हुन्छ ।  तर त्यसका लागि दुवैले दुवैलाई सम्मान, आदरभाव र निष्ठा भने उत्तिकै दिन जरुरी छ ।  

बाबु मात्र होइन, धेरै दाजुभाइ छन्, जो आफ्ना दिदीबहिनीप्रति आघात माया, सम्मान र सद्भाव  राख्छन् । कयौं प्रेमीहरु छन्, जसले आफ्नी प्रेमिकाकै लागि र प्रेमिकासंगै ज्यान समेत दिएका छन् ।  उनीहरुलाई अपराधि पुरुषकै दर्जामा राखेर हेरिरहने ? मानशिक सन्तुलन ठिक नभएर पशुभन्दा तल्लो कोटीको व्यवहार गर्ने राक्षशी स्वभाव भएका नरपशुहरुसंग सबै पुरुषहरुलाई जोडेर एउटै कोटीमा राखेर हेर्नु सान्दर्भिक होला र ?

महिला अधिकारका नाममा अनेक तानाबाना बुन्दै चर्को आवाजमा पुरुषबिरुद्ध बोलिएका घिन लाग्दा शब्दहरुले ति न्यायका पर्खाइमा रहेका कयौं पिडित महिलाहरुको उपहास मात्र भएको छ । उनीहरुको घाउ चर्काएर मल्हमको सट्टा चुक छारिदिने काम सभ्य समाजको उपयुक्त अभ्यास हुनै सकदैन ।

एक समय थियो, जतिबेला पुरुषहरुले महिलामाथि दमन गरे ।  त्यहि दमनबाट सयौं वर्षसम्म नाजायज लाभ उठाए । त्यहि विभेदले प्रथाको रुप नै लियो । त्यसपछि हरेक कुराहरुहरु पाप र धर्मसंग जोड्दै महिला आफैंले आफुलाई पनि पिडा र कष्ट दिएको उदाहरणहरु टन्नै छन् ।  तर अब युग फेरियो, महिलाप्रति जुन जरा गढेर बसेका विभेदकारी प्रथाहरु थिए, ति पनि केहि हदसम्म कम हुँदै गइरहेका छन् । अब ति कुराहरुलाई जोडेर कानुन, संविधान र संरचनाको आडमा महिलाहरु समेत नाजायज फाइदा उठाउन थालेको गुनासाहरु पनि प्रसस्तै आउन थालेका छन् । पुरुष र महिला भनेका त दिन र रात रात जस्तै हुन् ।  दिनको आफ्नै विशेषता छ, रातको आफ्नै सुन्दरता छ । त्यसैले पुरुष र महिलाका पनि आफ्नै सुन्दरता छन्, विशेषता छन् । जुन अपरिवर्तित छन् । त्यो सुन्दरतालाई कायम राख्नका लागि त सबै सुन्दरतालाई स्वीकार  गरिदिन सक्ने मुटु हामी सबैमा चाहिन्छ ।  

अबको सभ्य समाजमा हामीले पुरुष जाती नै नराम्रो भन्दा पनि कुनचाहिं पुरुष नराम्रो  भनेर पहिल्याउनुपर्छ र दण्डित गर्नुपर्छ । महिलाहरु पिडित हुँदा उनीहरुको न्यायका लागि भन्दै आवाज उठाउने र सरकारलाई दबाव दिने महिलाहरु मात्र छैनन् ।  पुरुषहरु पनि छन् ।  पुरुषहरुले पनि त चाहान्छन्, महिला अघि बढुन्, उनीहरुको भलाइ होस् भन्ने कुरा । उनीहरुसंग पनि मन हुन्छ ।  खराब पुरुषसंग दुनियाँका सबै पुरुषहरुलाई तुलना गर्न पटक्कै सुहाउँदैन । त्यसैले यस्ता कुरामा पुरुषको पक्षमा महिला पनि खुल्न सक्नुपर्छ ।