• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:४२:५२

१२४ रोपनी जग्गा चक्लाबन्दी

  • Netizen Nepal
  • सोमबार, ६ असार, २०७९- ०९:५०:००/ Monday 06-20-22

रामबहादुर थापा
बागलुङ, ६ असार। वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो ।

सहकारीका अध्यक्ष चिन्तामणि शर्माले १२४.२६ रोपनी जग्गा चक्लाबन्दी गरी कृषि बाली लगाउन सुरु गरिएको बताउनुभयो । “६० रोपनीमा आलुखेती गरेका छौँ, अरु जग्गामा तरकारी, बीउबिजन र अन्नबालीको लगाउँदैछौँ”, उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रमार्फत खेती विशेष कार्यक्रम पनि सुरु हुँदैछ ।”

सहकारीले स्थानीय ७३ किसानको जग्गालाई चक्लाबन्दी गरी एकीकृत गरेको हो । जसबाट २०० बढी गरामा बाँडिएको जग्गा १७ ‘प्लट’मा झरेको छ । सहकारीले प्रतिरोपनी वार्षिक रु दुई हजार तिर्ने गरी आउँदो २०९० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो । जग्गा चक्लाबन्दी कार्यक्रमका लागि मन्त्रालयले रु ३६ लाख ४९ हजार अनुदान दिएको थियो । मर्मतसुधार, सिँचाइ आदिका लागि आउँदो आवमा पनि प्रतिरोपनी पाँच हजारका दरले मन्त्रालयबाट सहयोग आउने सहकारीले जनाएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर पनि उपलब्ध हुने भएको छ ।

“प्रदेश सरकार र जग्गाधनी किसानको सहयोगमा चक्लाबन्दी खेतीले सार्थकता पाउँदैछ, यसै बाँझो भएर बसेको जग्गामा व्यावसायिक कृषि सुरु भएको छ”, सहकारीका अध्यक्ष शर्माले भन्नुभयो, “खेर गइरहेको जग्गा प्रयोगमा आएपछि किसान पनि खुसी छन् ।” तरकारीजन्य उत्पादनतर्फ आलुसँगै मुला, सिमी, सागलगायतको खेती गर्ने योजनामा सहकारी छ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिने भएको छ ।

माटो परीक्षणमा सूक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्र्याक्टर गोठे मल हालिने सहकारीले जनाएको छ । माटोमा अम्लीयपन भने नभएको पाइएको छ । निलुवा पशुपालन र खेतीपातीका लागि उर्बर ठाउँ हो । त्यसलाई पहिलेपहिले गोठथरीका रुपमा चिनिन्थ्यो ।

किसान पशुचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्थे । खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गयो । जसका कारण बारी बाँझै पल्टिए । गोठ रित्तिए । निलुवामा ८० भन्दा बढी परम्परागत खरका गोठ छन् । परम्परागत कृषि प्रणालीको झल्को दिने पुराना संरचनालाई संरक्षण गर्ने योजना पनि सहकारीले अघि सारेको छ । जग्गा चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिएको जनाइएको छ ।

वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभावजस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो। 

धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ हुने उहाँको भनाइ छ । “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ”, प्रमुख सुवेदीले भन्नभयो ।

नगरप्रमुख भरत शर्मा गैरेले व्यावसायिक कृषि उत्पादनको केन्द्रसँगै निलुवालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लगानी र पहल भइरहेको बताउनुभयो । नगरपालिकालगायतको सहयोगमा निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले त्यहाँ पूर्वाधार निर्माण र प्रवद्र्धनका काम गरिरहेको छ ।  केही वर्षअघि त्यहाँ मह शिकार महोत्सवकोसमेत आयोजना गरिएको थियो । निलुवामा ५०० मिटर अग्लो महभिर छ । रैथाने वास्तुशैलीका गोठ, मनोरम भू–बनोट, लोभलाग्दो हावापानी र हिमाली दृश्य निलुवाका आकर्षण हुन् । रासस