• सोमबार, ५ कार्तिक, २०८१
  • ०७:५५:५७

दिवा खाजा कि विद्यार्थी तान्ने चुम्बक ? 

  • Netizen Nepal
  • बुधबार, ४ श्रावण, २०७९- १२:५१:००/ Wednesday 07-20-22

मेनका चौधरी
बाँके, ४ साउन । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी सङ्ख्या बढेको हो । 

नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जान्छिन् । विद्यालयमा दिन बिराएर फरक–फरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउँछिन् । नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीमा अध्ययन गर्ने उनी मात्रै नभएर पछिल्लो समय दिवा खाजाकै कारण धेरै विद्यार्र्थी विद्यालय आउन थालेका छन् । 

सङ्गीता यादव पनि आजकाल नियमित विद्यालय आउँछिन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउँछन् । “पढ्न पाइने नियमित खाजा पनि फरक–फरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छौं”, लजाउँदै उनले भनिन् । विद्यालयमा हरेक दिन फरक–फरक परिकारको पौष्टिकले भरिपूर्ण खाजा पाक्ने गरेको छ । हजुवा, मीठो दलिया, खिचडीलगायतका खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको हो । 

सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको गाउँपालिकाका शिक्षा शाखाप्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारू बताउँनुहुन्छ । उहाँले भन्नुभयो, “नरैनापुरमा विद्यालय ड्रप आउट हुने क्रम रहेको र विद्यालय भर्ना न्यून हुनेमा दिवा खाजा कार्यक्रमपछि यो प्रभावकारी रहेको पाइएको छ ।” 

उहाँले नरैनापुरमा बाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थी मध्ये दिवा खाजा सञ्चालनपछि २० प्रतिशत भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गर्नुभयो । नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले दिवा खाजा कार्यक्रमबाट विद्यार्थी बढेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेकोमा अहिले दिवाखाजाले कक्षा कोठा भरिएका छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउँछन् । विद्यालय बीचमै छोडेका पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।” कार्यक्रमले भर्ना सङ्ख्या बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम लागू नहुँदा ३७६ विद्यार्थी भएकामा अहिले बढेर ४४३ पुगेको छ ।”

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थी बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालित सो मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । न्यून विद्यार्थी रहेको मदरसामा सो कार्यक्रमले सकारात्मक प्रभाव पारेको प्रधानाध्यापक अब्दुल रहमान खाँले बताउनुभयो । “पहिला थोरै विद्यार्थी हुन्थे, अहिले यो कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बरान्डामा राखेर पढाउनु परेको छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रम निरन्तर रहेमा विद्यार्थीको चाप अत्यधिक बढ्ने छ । मदरसाको पूर्वाधार पनि बढाउन आवश्यक देखिन्छ ।”  गाउँपालिकाका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ र तीन बालविकास केन्द्रमा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो ।