• सोमबार, ५ कार्तिक, २०८१
  • १०:२०:११

सीतापाइला-धार्के सडक बन्द

काठमाडौँ । नागढुङ्गा-नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धार्के-ठूलोखोलामा दोस्रो तहको कालोपत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजदेखि धार्के-ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।”

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका-५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीन/तीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ ।”

यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा-नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला-धार्के हुँदै गुडेका थिए ।

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ ।

सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।