म किन जन्मिएको ?
- रीता थपलिया
- सोमबार, ९ श्रावण, २०७९- १६:३५:००/ Monday 07-25-22
गीता अधिकारी
काठमाडौँ, ९ साउन । एक जमाना थियो, जतिबेला म सधैं नै खुशी हुन्थें। सुखी हुन्थें । मेरा लागि हरेक दिन उत्सवजस्तै थिए । अझ जन्मदिन आउने बेला त एक महिना अघिदेखि मन त्यसै फुरुङ्ग भएर आउँथ्यो । उमेरले डाँडा काट्दै गरेको हेक्का नभएपछि मानिसलाई जन्मदिनले खुशी बनाइरहने रहेछ । हुन त अहिले पनि मलाई जन्मदिन आउँदा के के न आयो जस्तो महसुस हुन्छ । मैले गरेको त केहि होइन । न आफ्ना लागि, न अरुका लागि । समय एउटै चलिरहेको हो आखिर । केहि गर्न नसक्नेहरुले पनि जन्मोत्सवचाहिं मनाउने रहेछन ।
हुन त मानिसको शरीरको केहि भर नै छैन । के थाहा यतिबेला बोलिरहेको मानिस एकछिनपछि हाम्रो साथमा होला या नहोला । जीवन सकिन धेरैबेर लाग्दैन । केहि सेकेण्डको कुरा मात्र हो । त्यसैले सेकेण्ड सेकेण्डमा बचेर थप एक वर्ष पुर्याउन सफल भएका कारण पनि जन्मदिनलाई उत्सवका रुपमा मनाउने चलन बस्यो होला ।
म आमाको विश्वास गर्छु त्यसैले जन्मदिन मनाउँछु । सायद म आमाले भनेकै दिन जन्मिएकी हुँला । आमाले पनि बिर्सिने हो भने त म कहिले जन्मिएँ र कति वर्षकी भएँ भन्ने थाहा नै हुने थिएन । गालामा लाली चढेपछि जवान भएको थाहा हुन्थ्यो, अनि गाला चाउरी परेको देखेपछि बुढी भैयो होला भन्ने लाग्थ्यो होला। आमा धन्य हुनुहुन्छ । उहाँले बताइदिनुभयो र म आफ्नो जीवनका मिनेट मिनेट पनि हिसाब किताब गरेर बाँचीरहेकी छु । हिसाब किताब गर्न सकुन्जेल जिन्दगीको रवास पनि छुट्टै हुन्छ । जब नयाँ दिनहरुसंग दिक्दार लाग्न थाल्छ, तब हिसाब किताबको पनि मतलब हुँदैन र जीवनको पनि वास्ता हुँदैन ।
सानोमा म हातका औंला भाँच्दै आफ्नो उमेर खुबै गन्थें । हातका औंला सकिएपछि खुट्टाका औंला पनि गनें । तर जब हात र खुट्टा दुवैतिरका औंला सकियो त्यसपछि मैले आफ्नो उमेर गन्न छोडिदिएँ ।
उमेरको हिसाब गर्दा मलाई पनि त्यति निको लाग्दैन । मलाई त सधैंभरि त्यहि स्कुले उमेरमा फर्किन मन लाग्छ । जतिबेला जिन्दगी साँच्चिकै बिन्दास थियो । सानोमा म हातका औंला भाँच्दै आफ्नो उमेर खुबै गन्थें । हातका औंला सकिएपछि खुट्टाका औंला पनि गनें । तर जब हात र खुट्टा दुवैतिरका औंला सकियो त्यसपछि मैले आफ्नो उमेर गन्न छोडिदिएँ । एकदिन यस्तो पनि आउला, जतिबेला उमेर भन्नुपर्यो भने सोच्नुपर्छ, सम्झनुपर्छ अनि हिसाब गर्नुपर्छ ।
हजुरआमाले बेला बेला भन्नुहुन्थ्यो, 'फोटो त राम्रो मान्छेको खिच्ने हो । मजस्तो बुढी मान्छेको खिच्ने होइन।' हामीलाई त गाला चाउरी परेकी हजुरआमा चाहिं सबैभन्दा राम्री र प्यारी लाग्छ । नत्र त दुनियाँमा आफुलाई संसारकै सुन्दर ठान्ने कयौं महिलाहरु थिए । तिनीहरु कसैलाई हामीले हजुरआमा भन्दैनौं । हामी उहाँलाई नै भन्छौं । सायद आफुले धेरै माया गरेको मान्छे गाला चाउरी परेपनि, कपाल सेतै फुले पनि र दाँत सबै झरेर थोते भए पनि राम्रो लाग्ने रहेछ । मायाले बाहिरी सुन्दरता हेर्दैन । मायाले त दुनियाँले देख्ने कुरुपतालाई पनि संसारको सबैभन्दा सुन्दर देख्छ ।
हामी सबै भ्रममा छौं । सुन्दर मानिस मात्र मायाका लायक हुन्छन भनेर । सुन्दर चिज मात्र अस्तित्वमा छ होला भनेर । पृथ्वीमा हरेक चिजको उत्तिकै मूल्य छ, चाहे त्यो दुनियाँले सुन्दर देखोस या कुरुप । ऐना हेरेपछि न थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा । प्रेम जोडीले जस्तो सबैले आँखामा आँखा हेरेर आफ्नो अनुहार कहाँ देख्न सक्छन त ? हजुरआमा बेलाबेला ऐना हेरिरहनुहुन्थ्यो । पहिलाको अनुहार र अहिलेको अनुहारमा फरक पाउनुहुन्थ्यो होला । त्यसैले नै उहाँलाई आफु बुढी भएकोमा पछुतो लाग्दो हो । उहाँमा जवान हुने रहर अझै गएको थिएन होला । उहाँ मन नहुँदा नहुँदै पनि बुढी हुनुभयो । हरेक जन्मदिनहरुले उहाँलाई फुकाउँदै लग्यो र पछि खुम्च्याउँदै लग्यो ।
ऐना हेरेपछि न थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा । प्रेम जोडीले जस्तो सबैले आँखामा आँखा हेरेर आफ्नो अनुहार कहाँ देख्न सक्छन त ?
हजुरआमाले अर्को कुरा पनि बारबार दोहोर्याउनुहुन्थ्यो, 'अब म बुढी भैसकें । कुन दिन काल आएर टपक्क टिपेर लैजान्छ ।' हामी हरेक पटक हजुरआमासंग झर्किएर भन्थ्यौं, 'हजुरआमा चुप लाग्नुस् । यस्तो नभन्नुस्।' हजुरआमाले ठिकै भन्नुभएको रहेछ । एकदिन हजुरआमालाई टिपेर लग्यो । कालले लग्यो या अरु केहिले थाहै भएन । कहिल्यै नफर्किने गरि टिपेर लग्यो । हामी हेरेको हेरेइ मात्र भयौं । हो, हरेक मानिस, अझ भनौं, हरेक सजिव प्राणी यसरी नै बिदा हुन्छन, यो दुनियाँबाट । पृथ्वीमा केहि फरकपना आउँदैन । उज्यालो हुने, रात पर्ने, फेरि उज्यालो हुने, फेरि रात पर्ने नै भइरहन्छ । कोहि आएर केहि भएन, कोहि गएर पनि केहि हुँदैन ।
म पनि त्यस्तै हुँ । म बाँचेर पृथ्वीलाई केहि फरक परेको छैन । म नभए पनि पृथ्वी चलिरहन्छ । घर छोडेर हिंडेजस्तो पृथ्वी छोडेर जाने ठाउँचाहिं कतै नहुने । भगवानहरु पृथ्वी छाडेर अन्त जान सक्छन् । मानिस पनि एकदिन भगवान हुन्छ । हजुरआमा पनि भगवान नै हुनुभयो । म पृथ्वीमा छु र त दुनियाँको भिडमा मैले पनि भिड बढाएको छु । पशुपतिमा एक एक जना गरेर नगएको भए शिवरात्रीमा त्यत्तिका मानिसको घुँइचो कसरी हुन्थ्यो ? जे होस् मैले गर्दा पनि संसारको सौन्दर्य बढेको छ ।
त्यति मात्र होइन, म छु र त २४ सै घण्टा सामाजिक संजालमा झुम्मिने मान्छे थपिएको छ । फेसबुक, इन्स्टाग्राम र टिकटकमा तालतालको फोटो र भिडियो राखेर चटक देखाउने थप एक जना म जन्मिएकै कारणले भएको हो । जन्मदिन मनाएर पृथ्वीमा आफ्नो समय छोटिदै गएको अवसरमा उत्सव मनाउने मान्छे अझै अस्तित्वमा छ । नत्र मेरो ठाउँ खाली नै हुने थियो होला ।