• शुक्रबार, २७ असार, २०८२
  • ०४:५७:५३

ऋणले थलिएर घर बेच्नै लाग्दा १ करोडको चिट्ठा !

  • Netizen Nepal
  • शनिबार, १४ श्रावण, २०७९- १४:५४:००/ Saturday 07-30-22

नेटिजन संवाददाता 
काठमाडौँ, १४ साउन । मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो । त्यो एउटा आनन्दको क्षण थियो।  मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए।  

२५ जुलाईको कुरा हो यो। चार दिनपछि बावा दक्षिण भारतीय राज्य केरलामा पर्ने आफ्नो गृहनगर कासरगोडमा सेलिब्रिटी बने। 

मोटो रकम जित्न खेलाइने चिट्ठा धेरैजसो भारतीय राज्यमा गैरकानुनी मानिन्छ । तर केरलाजस्ता केही राज्यमा भने कडा निरीक्षण र नियमनबीच त्यसलाई मान्यता दिइएको छ ।  त्यस्तो जितको खबर बावाका लागि सबैभन्दा उत्कृष्ट समयमा आइदियो। 

कस्तो समय ?

उनी बर्सेनि थपिँदै गएको उच्च ऋणले थलिएका थिए । ऋण तिर्न सङ्घर्ष गरिरहँदा उनी स्वयं र परिवारले ठूलो तनाव खेपिरहेको थियो । अरू केही उपाय नलागेपछि ऋण तिर्नकै लागि उनको परिवारले घर बेच्ने निर्णय गर्‍यो। 

चिट्ठा जितेको खबर आउनुभन्दा केही घण्टाअघि बावाले घर किन्न खोजिरहेका मानिससँग लगभग छिनोफानो गरिसकेका थिए। 

२५ जुलाईमा उनले साँझको ५:३० मा सम्भावित क्रेतासँग भेट्दै विक्रीको टुङ्गो लगाउने र बैना लिने काम गर्नेवाला थिए । तर उनको भाग्यमा अर्कै कुरा थियो। 

साथी गणेशले फोन गर्दाको कुरा उनी प्रस्टसँग सम्झन्छन् । दिउँसोको ३.२० बजे त्यस दिनको नतिजाहरूबारे उनले गणेशबाट वाट्सएप सन्देश पाए । 

लगत्तै उनको फोन आयो । "म त निकै हलुका भएँ," बावाले बीबीसीसँग भने । हामी यति खुसी भयौँ कि ती क्षण व्याख्या गर्ने शब्द नै हामीहरूसँग छैन।"

हात पर्ने पैसा

कर कटाएर बावाले ६३ लाख भारतीय रुपैयाँ पाउने ठानिएको छ। त्यो पैसा ठ्याक्कै कहिले उनको हात पर्छ भन्ने अझै स्पष्ट भएको छैन । तर ऋण दिनेहरूले उनलाई दबाव दिन बन्द गरिसकेकाले उनी यतिखेर चिन्तित छैनन् । "मैले चिट्ठा जित्ने बित्तिकै ऋण दिनेहरू शान्त बने। जब तपाईँसँग पैसा हुँदैन तब मानिसहरू कोलाहल मच्चाउँछन्," उनी भन्छन् । तर जब मतसँग उनीहरूलाई तिर्ने पैसा भएको कुरा थाहा भयो उनीहरू शान्त छन्।"

उनीहरू कुनैबेला ऋणभार नभएको मध्यमवर्गीय परिवार थिए । निर्माण क्षेत्रमा ठेकेदारका रूपमा काम गर्थे बावाले बिस्तारै काममा मन्दी लाग्न थाल्यो । कोभिड महामारी सुरु भएपछि त अवस्था थप बिग्रियो मात्र । 

उनले काम पाउन सङ्घर्ष गरिरहे र परिवार चलाउने क्रममा ऋण थपिइरह्यो मात्र । पाँच सन्तानमध्ये दुईजनाको हालसालै विवाह भयो जसले आर्थिक भार झन् बढायो। 

उनले छोरालाई कतार काम गर्न पठाउने खर्च समेत जुटाए । यसै वर्षको जुलाईमा उनको ऋण झण्डै ५० लाख रुपैयाँ थियो । 

उनले आफ्नो कामले गति लेला र ऋण तिर्न सकिएला भन्ने आशा राखिरहे। "बिहेको खर्च बापतको ऋण मात्र १०-१५ लाख निस्कियो," उनले भने । मैले सबैलाई तिर्नुथियो तर मसँग कमाईको स्रोत थिएन।"

कठिन निर्णय

अनि उनको परिवारले सबैभन्दा कठिन निर्णयका रूपमा घर बेच्ने सोच्यो । उनीहरू हालसालै बस्न थालेको सपनाको घर बेच्नुपर्ने भयो। 

बावाले भाडाको घर खोजेर बल्ल घर बेच्ने प्रक्रिया थालेका थिए । तर उनले एक वर्षदेखि चिट्ठामा आफ्नो भाग्य खोज्न थाले पनि खासै सफल हुन सकेका थिएनन्। 

त्यो बढी नै आशावादी हुनु र लाखौँमा एक सम्भावना हुने कदम रहेको र त्यो साँच्चिकै हुनु भनेको चमत्कार हुनुजस्तै रहेको उनलाई थाहा थियो। 

त्यैपनि उनले वर्षभरि आशावादी बनेर प्रतीक्षा गरिरहे । तर केही सिप नलागेपछि उनले घर बेच्ने निर्णय गरेका थिए। 

"तिमी बच्यौ"

उनले आफ्नो साथी गणेशसँग दैनिक टिकेट काट्थे र गणेशले उनलाई चिट्ठा नपरेको कुरा दैनिक जसो बताउँथे। त्यो क्रम एक वर्ष चल्यो । 

जब आफ्नो साथीले जितेको गणेशले थाहा पाए उनी रोमाञ्चित भए । "तिमी बच्यौ," उनले बावालाई फोनमा चिच्याउँदै भने । बावाले भनेको ठ्याक्कै शब्दहरू उनलाई याद छ। उनी साँच्चिकै बचेका थिए । उनको परिवारमा त्यसले निकै खुसी ल्यायो । 

चिट्ठाको पैसा मोटो रकम भए पनि बावाले ऋण तिरेपछि खासै बच्नेछैन । तर बचेखुचेको केही उनी राम्रो प्रयोजनमा हाल्न चाहन्छन् । उनले साथी गणेशलाई समेत घर किन्न सघाउने बताउँछन् र केही पैसा गरिबहरूलाई दान दिने भनेका छन् ।  विविसी।