• बुधबार, १२ बैशाख, २०८१
  • ०२:३०:०२

मरेको सुँगुर बचाउन वैज्ञानिक सफल 

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १६:५६:००/ Friday 08-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० साउन । विज्ञान र प्रविधिले असम्भव कुराहरुलाई पनि सम्भावनामा बदलिदिएको आजको युगमा मृत्यु भइसकेपछि जीवित हुने कुरा भने अझै सम्भव हुन सकेको थिएन ।  तर अमेरिकी वैज्ञानिकहरुले हालसालै सुँगुरमाथि गरेको अध्ययनबाट मरेको कोषिकालाई पुनः जीवित गराउन सकिने कुरा पत्ता लगाएका छन् ।  

 वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 

यो घटनाबाट मृत्युको परिभाषालाई नै परिवर्तन भएको केही विज्ञहरूले तर्क समेत दिएका छन् । यो सफलता भोलिको दिनमा मानिसहरूमा पनि प्रयोग गर्न सकिने उनीहरूको भनाई छ ।

यसरी ब्युताइएको अंगहरूलाई मानिसहरूमा प्रत्यारोपण गरि हजारौं मानिसहरूको जीवन बचाउन सकिने उनीहरूको तर्क छ । सार्वजनिक भएको प्रतिवेदनका अनुसार उनीहरूले बेहोस पारिएको सुँगुरमा हृदयघात गराइएको थियो, जसबाट शरीरमा रगत प्रवाह बन्द भएको थियो ।

यस्तोमा शरीरका कोषहरूमा अक्सिजन प्रवाह रोकिन्छ र अक्सिजन नपाउँदा कोषिकाहरू मर्न थाल्छन् । यो प्रकृया मार्फत उक्त सुँगुर एक घण्टासम्म मृत अवस्थामा थियो ।

त्यसपछि वैज्ञानिकहरूले उक्त सुँगुरको रगतमा सिन्थेटिक हेमोग्लोबिन मिसाएर शरीरमा पठाइएको थियो । सुँगुरको रातो रक्तकोषिकामा अक्सिजन सहित सो कोषिकालाई सुरक्षा गर्ने औषधी पनि मिसाइएको थियो । 

यसरी राखिएको रगत उसको मृत शरीरमा प्रवाह हुन सुरु भएपछि सुँगुरको मुटु, कलेजो र किड्नीले पुनः काम गर्न थालेको थियो । यसरी ती अङ्गहरू छ घण्टासम्मको परीक्षण अवधिभर चलेका थिए । यसले मरेको कोषिकालाई पुनः जीवित गराउन सकिने कुरा प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ । 

यो परीक्षणलाई वैज्ञानिकहरूले ‘अर्गानएक्स’ नाम दिएका छन् । यो प्रविधि मानिसमा पनि परीक्षण गरिने बताइएको छ । यद्यपि यो प्रविधि मानिसहरूमा उपयोगी हुने कुरा भने अझै पनि अन्यौलतामा नै रहेको केही विज्ञहरू बताउँछन् । यो परीक्षणलाई केहीले भविष्यका लागि उपयोगी हुने तर्क राखेका छन् भने केहीले मानिसमा यो प्रयोग प्रभावकारी नहुने अभिव्यक्ति दिएका छन् ।