• बिहीबार, १३ बैशाख, २०८१
  • ०८:२८:०३

दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने

  • Netizen Nepal
  • बुधबार, २५ श्रावण, २०७९- १३:२५:००/ Wednesday 08-10-22

नेटिजन संवाददाता 

काठमाडौँ, २५ साउन। राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी दीपा उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नुहुनेछ । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, दीपाले भन्नुभयो । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी हुनुहुन्छ । उहाँले गोकुलम केरेला क्लबबाट खेल्नुहुनेछ ।

प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो । दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताउनुभयो । उहाँले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताउनुभयो ।

यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ ।