• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:०२:४२

बाख्राको खोर बनाउन ४० हजार 

  • Netizen Nepal
  • आइतबार, २९ श्रावण, २०७९- १५:४९:००/ Sunday 08-14-22

तारानाथ आचार्य 
बलेवा, २९ साउन । जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाउनुभएको छ । उहाँको खोरमा २५ वटा बाख्रा छन्। 

यसअघि परम्परागत खोरमा बाख्रा पाल्नुभएका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताउनुभयो । राङखानीकै एलु थापाले पनि बाख्रा र बङ्गुरको खोर बनाउनु भएको छ । आधुनिक खोरमा बाख्रा र बङ्गुरको उत्पादन बढाउने उहाँको चाहना छ । 

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरेको कृृषि ज्ञान केन्द्रले किसानलाई लागतको ९० प्रतिशतसम्म अनुदान दिएपछि उनीहरु हौसिएर काम गर्दै आधुनिक खोर बनाएका हुन् । असारको पहिलो साता सम्झौता गरेका यहाँका ३० किसानले आधुनिक खोर बनाइसकेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

बाख्राको खोर बनाउनेलाई केन्द्रले रु ४० हजार लगानी गरेको र  त्यसमा किसानले रु चार हजार ४०० आफ्नो लगानी थप्नुपर्छ । त्यस्तै बङ्गुरको खोर बनाउन केन्द्रले रु ५० हजार दिँदा किसानले रु पाँच हजार लगानी गरेका छन् । “अधिकांशले खोर बनाएर बाख्रा बाँधिसके, केहीले अझै पूरा गर्दैछन्” उहाँले भन्नुभयो,“काम सकेको प्राविधिक प्रतिवेदनको आधारमा मात्रै किसानले भुक्तानी पाउँछन् ।” राङखानीलाई बाख्रा र बङ्गुरको स्रोत केन्द्रकै रुपमा विकास गर्न यो लगानी गरिएको केन्द्रका प्रमुख भट्टराईले  बताउनुभयो । ढिलागरी बजेट आए पनि विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम छनोटका लागि चार वटा स्थानलाई रोजिएको थियो ।

 ती बस्तीमध्ये विपन्न परिवार, काम गर्ने चाहना र  आवश्यकता समेतको पहिचान गरेपछि राङखानीको यही गाउँ छनोटमा परेको हो । “यहाँका किसानले धान रोप्ने कामसमेत छाडेर खोर बनाएको देख्दा साँचिकै आवश्यकता रहेछ भन्ने देखियो” जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भन्नुभयो,“अब किसानले आफ्ना उत्पादन बेचेर धनी भएको पनि देख्न पाउनुपर्छ ।” सबै विपन्न बस्तीको रुपमा रहने अवस्था अन्त्य गर्न कृषि ज्ञान केन्द्रले काम गर्नुपर्ने उहाँको सुुझाव थियो ।

 विपन्न बस्ती छनोट गरेर लगानीका लागिसमेत समन्वय प्रमुखकै अध्यक्षतामा समिति गठन हुन्छ । उक्त समितिले गरेको निर्णयपछि मात्रै बजेटका लािग माग गरिने प्रावधान छ । माग गरेको बजेट ढिला आए पनि समयमा काम सकेकाको आवश्यकता देखिएको समन्वय समिति प्रमुख थापाले बताउनुभयो । यहाँ दलित र मगर विपन्न बस्तीका रुपमा सूचीकृत भएका छन्  । चालु वर्षका लागि उक्त केन्द्रमा रु ३५ लाख ३५ हजार बजेट आएकामा तिनलाई  ४१ वटा खोरमा लगानी गरिएको र  त्यसबाहेक कृषि फसल उत्पादन गर्ने किसान, प्लास्टिक टनेल, बेमौसमी उत्पादनलगायतमा पनि लगानी भएको उहाँको भनाइ थियो ।

 किसानले खोर बनाएपछि बोयर बोका पाल्ने योजना पनि सुनाए । केही किसानले बङ्गुरको सङ्ख्या बढाएर व्यावसायिक बन्ने योजना बनाएका छन् । किसानले सूर्यमुखी किसान समूह गठन गरेर विपन्न बस्ती समेटेका छन् । “समूहमा आवद्ध भएर पनि केही किसानले तत्काल काम गर्न नसकेर बजेट लिएनन्” समन्वय समिति प्रमुख थापाले भन्नुभयो, “आगामी वर्ष अन्य कार्यक्रमलाई समेत जोडेर बस्तीका सबैलाई सम्पन्न बनाउने लक्ष्य लिएका छौँ ।” केन्द्रले सञ्चालन गरेको कृषि फार्मको भुक्तानीका लागि जिल्ला समन्वय समिति, प्रशासन, ज्ञान केन्द्र र  जनप्रतिनिधि समेतले  अनुगमन गरेका छन्  । 

अनुगमनपछि उपयुक्त ठहर भएका योजनामा मात्रै भुक्तानी गर्ने केन्द्रका प्रमुख भट्टराइले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि राङखानीका किसानका लागि  लगानी गरिएको छ । पाहीकै केदार आचार्यले निर्माण गरेको सुन्तला बिरुवाको नर्सरी निर्माणमा रु १५ लाख लगानी गरिएको परियोजनाका निमित्त प्रमुख सुजित पौडेलले बताउनुभयो । अनुसन्धान केन्द्र तथा बिरुवाको स्रोत केन्द्र बनाउन उहाँले यहाँ रु ५० लाखभन्दा बढी लगानी गर्नुभएको छ ।