खाने पानी र सरसफाइ प्रबर्द्धन गर्न 'थ्री स्टार' विद्यालय
- Netizen Nepal
- सोमबार, ३० श्रावण, २०७९- १६:४०:००/ Monday 08-15-22
पार्वती अधिकारी
काठमाडौँ, ३० साउन । सर्लाही जिल्लाको रामनगर गाउँपालिका स्थित श्री तपस्वी माविको कक्षा ११ मा अध्ययनरत रेणु कुमारी गिरी आजभोली नियमित विद्यालय आउनुहुन्छ । विद्यालयमा सफा र पर्याप्त पानीसहितको महिलामैत्री सौचालय निर्माण भएपछि उहाँलाई महिनावारीका बेला समेत विद्यालय आउँ आउँ लाग्न थालेको छ ।
तपस्वी माविमा झन्डै दुई हजार विद्यार्थीहरु अध्ययनरत छन् । डेढ वर्षअघि सम्म विद्यालयमा सबै विद्यार्थीका लागि एउटै सौचालय मात्र थियो । फोहोर र दुर्गन्धले वरिपरी जाने नसक्ने स्थिति थियो । पर्याप्त पानी र हात धुने सुविधा पनि थिएन । हुन त छात्रहरुले पनि आ–आफ्नो किसिमका समस्या भोग्नुपर्थ्यो । तर सौचालय अभावमा छात्रा तथा अपाङ्गता भएका विद्यार्थीहरुले भोग्नुपरेको पिडा झनै विकराल थियो ।
हुन त रेणुको समुदायमा महिनावारीलाई पहाडी भेगमा जति छोइछिटोका हिसाबले हेरिंदैन । अनि महिनावारी बार्ने परम्परा पनि हुँदैन । तर विद्यालयमा सौचालय अभावमा भोग्नुपरेको समस्याका कारण उहाँ प्रत्येक महिना ४ देखि ६ दिनसम्म अनुपस्थित हुनुपर्थ्यो । 'विद्यालयमा एउटा प्याड फेर्ने ठाउँसमेत थिएन । सौचालय जानुपर्यो भने विद्यालयभन्दा टाढा जंगल र झाडीतिर जानुपर्थ्यो । त्यहि समस्याका कारण मन लागेर पनि विद्यालय जान सक्दिनथें’, उहाँले भन्नुभयो ।
नेपालका २६ हजार ४ सय ५४ सामुदायिक विद्यालयमध्ये झन्डै २० प्रतिशतमा मात्र सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छ । १९% विद्यालयहरुमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको युनिसेफको एक तथ्यांकमा उल्लेख छ ।
अहिले विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै सौचालय निर्माण भएको छ । सौचालयको सरसफाइ पनि चुस्त छ । पानी र हातधुने साबुनको पनि व्यवस्था छ । महिनावारी भएका बेला आराम गर्नका लागि आराम कक्षको समेत व्यवस्था गरिएको छ । रेणु भन्नुहुन्छ, ’मलाई अहिले विद्यालय जाँदा सपना जस्तै लाग्छ । सौचालय बनेपछि विद्यालय छुटाउनु परेको छैन । नियमित आउँन पाउँदा पढाइ छुट्ने चिन्ता पानि हुन छाडेको छ । ’ आफ्नो पढाई पनि पहिलाको भन्दा राम्रो भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
चन्द्रनगर गाउँपालिकाको दुर्गा खोबारी उच्च मा वि मा कक्षा १० मा अध्ययनरत ममता कुमारी कुश्वा आजभोली घरमा भन्दा विद्यालयमा बढि खुशी हुनुहुन्छ । विद्यालयमा निर्माण भएको सफा र सुविधायुक्त सौचालयले पहिला भोग्नुपरेका सास्तीसमेत बिर्साइदिएको उहाँको भनाइ छ । विद्यालयमा अहिले छात्र र छात्राका लागि छुट्टाछुट्टै सौचालय छ । सौचालयमा पर्याप्त पानी र हात धुने व्यवस्था छ । खानेपानीको पर्याप्तताका कारण पनि विद्यार्थीहरु सन्तुष्ट छन् ।
महिनावारी भएका बेला निशुल्क प्याड, आराम कक्ष, पेट दुखेमा हट ब्याग, तातोपानी तताउने भाँडोको व्यवस्था छ । कुनै समस्या पर्यो भने खुलस्त कुराकानी र छलफल गर्नका लागि एकजना छुट्टै शिक्षिकाको समेत व्यवस्था गरिएको छ । विद्यालयको यो सुविधाका कारण ममतालाई आजभोली नियमित विद्यालय जान मन लाग्न थालेको छ ।
रेणु र ममता त प्रतिनिधि पात्र मात्र हुन् । नेपालका २६ हजार ४ सय ५४ सामुदायिक विद्यालयमध्ये झन्डै २० प्रतिशतमा मात्र सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छ । १९% विद्यालयहरुमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको युनिसेफको एक तथ्यांकमा उल्लेख छ । यी सुविधा भएका विद्यालयमा छात्राहरुको पढाइ पनि राम्रोसंग अघि बढेको छ । तर धेरैजसो विद्यालयमा यिनै सुविधाको अभावमा छात्राहरुको पढाइमा बाधा परेको छ ।
सरकारले विद्यालय तहमा स्वच्छता प्रवद्र्धनका लागि ठुलो लगानी गरेको छ । संविधानतः सबै नागरिकका लागि खानेपानी, सरसफाइ र स्वच्छता मौलिक हक हो । यो हकलाई विद्यालयमा समेत सुनिश्चित गर्न सरकारले ’विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यविधि २०७४’समेत तयार गरि लागु गरेको छ ।
विद्यालयहरुमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्द्धन गर्ने कार्यमा बहुसरोकारवाला निकायहरु बीच कार्यक्रम तर्जुमा, कार्यन्वयन तथा अनुगमनमा एकरुपता कायम गर्न तथा समन्वय, सहकार्य गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा समेत सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउने खालका योजनाहरु कार्यविधिमा स्पष्ट रुपमा लेखिएको छ । तर यसको कार्यान्वयनमा अझै चुनौतिहरु छन् ।
विद्यालय सिकाइ सुधार तथा विद्यार्थीको बृहत्तर विकासका लागि अपनाउनुपर्ने न्युनतम आवश्यकताहरु सहितको कार्यविधि तयार पारिएको छ । 'विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यविधि २०७४' मा न्युनतम आधारभूत आवश्यकताअन्तर्गत १० वटा सूचकहरुलाई आधार बनाइ तीन तारे अवधारणा ल्याइएको छ ।
कार्यविधिमा के छ ?
विद्यालयमा सौचालयको व्यवस्था भएर मात्र पुग्दैन, पर्याप्त पानी र सरसफाइ भएन भने बालबालिकालाई उल्टै विभिन्न किसिमका सङ्क्रमण हुने जोखिम पनि त्यत्तिकै हुन्छ । सयौं सरुवा रोगहरुबाट बच्नलाई अरु केहि गर्नु पर्दैन, बेलाबेला साबुनपानीले हात धोए पुग्छ । हाम्रो देशका कतिपय विद्यालयहरुमा हात धुन साबुनपानीको व्यवस्था त परको कुरा शुद्ध पिउने पानीको समेत अभाव छ ।
त्यसैले विद्यालय सिकाइ सुधार तथा विद्यार्थीको बृहत्तर विकासका लागि अपनाउनुपर्ने न्युनतम आवश्यकताहरु सहितको कार्यविधि तयार पारिएको छ । 'विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यविधि २०७४' मा न्युनतम आधारभूत आवश्यकताअन्तर्गत १० वटा सूचकहरुलाई आधार बनाइ तीन तारे अवधारणा ल्याइएको छ । १० ओटा सूचकहरुमा खानेपानी, सौचालय, सफा स्वच्छ र हरियाली वातावारण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छाता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्थापन र दिगोपाना, विपद जोखिम व्यवस्थापन, अनुगमन र जवाफदेहिता आदिलाई समावेश गरिएको छ । स्थानिय सरकारको अनुगमन र व्यवस्थापनमा देशभरका हरेक विद्यालयमा यो सुविधा उपलब्ध हुनुपर्ने व्यवस्था रहेको शिक्षा तथा मानव संसाधन स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेल बताउनुहुन्छ ।
यसका साथै, नेपाल सरकारले अघि सारेको २०२१ देखि २०३० सम्मका लागि ’स्कुल सेक्टर एजुकेसन प्लान’ नामक १० वर्षको योजनाले पनि सम्पूर्ण रुपमा खाने पानी, सरसफाइ र स्वच्छालाई प्राथमिकतामा राखेको छ । जसमा विद्यालयको मूल जिम्मेवारी स्थानिय सरकारलाई हुन्छ । बाँकी जिम्मेवारी संघिय सरकारको मातहतमा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत संसाधन विकास केन्द्रसंग हुन्छ । केन्द्रले 'वास'लाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम, तालिम तथा जनचेतनाको काम गर्छ ।
तीन तारे अवधारणा
नेपालमा झन्डै चार दशक अघि देखि स्वच्छता र सरसफाइलाई विद्यालयको पाठ्यक्रममा समावेश गरी लागू गर्ने काम भएको छ । नेपाल सरकारको अग्रसरता र अन्य विभिन्न संस्थाको सहयोगमा विद्यालयमा खानेपानी तथा सरसफाइ कार्यक्रम, विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम आदि सञ्चालन भइरहेका छन् । विद्यालयमा सरसफाइ प्रवर्द्धन जस्तो विषयवस्तुलाई मध्यनजर गर्दै युनिसेफको सहयोगमा नेपाल सरकारले एकतारे, दुईतारे र तीनतारे विद्यालयको अवधारणालाई अघि सारेको छ । एसएनभि नेपालले पनि सर्लाही र दैलेख जिल्लाका विद्यालयमा सफा खाने पानी, साबुन पानीले हात धुने तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरु गरेको छ । यी कार्यक्रमबाट सरकारको नीतिलाई सहयोग गर्न खोजिएको छ ।
एकतारे विद्यालयका सूचकको रुपमा सबै विद्यार्थीहरुले दैनिक रुपमा साबुन पानीले हात धुने सुनिश्चित गरिएको, दिनहुँ शौचालयहरुको सरसफाइको सुनिश्चित गरिएको, शौचालयमा वा शौचालय नजिक हात धुने स्थानमा साबुनको व्यवस्था भएको, विद्यालयमा पानीे उपलब्ध रहेको र विद्यालय परिसर खुला दिसामुक्त भएको र सेवा क्षेत्रसमेत खुला दिसामुक्त घोषणा भएको हुनुपर्ने रहेका छन् । त्यस्तै, दुईतारे विद्यालयका सूचकहरुको रुपमा एकतारे विद्यालयमा भएका प्रावधानहरुको अतिरिक्त विद्यालयमा साबुन पानीले हात धुने समूहगत सुविधा भएको, विद्यालय हाताभित्र पानीको सुविधा भएको, महिनावारी शिक्षा दिनुका साथै सेनिटरी प्याड व्यवस्थापनका लागि इन्सिनेटर भएको, छात्रछात्राका लागि अलग–अलग शौचालयको सुविधा भएको र कम खर्चिलो तथा सरल पानी शुद्धिकरणका विधि प्रयोग गरिएको अवस्थालाई समावेश गरिएको छ ।
सरसफाइको क्षेत्रमा सर्वोत्कृष्ट विद्यालय अर्थात् तीनतारे विद्यालय हुनका लागि आवश्यक पर्ने सूचकहरुमा एकतारे र दुईतारे विद्यालयमा हुने सेवा सुविधाहरुको अतिरिक्त अपाङ्गता भएका विद्यार्थीहरुलाई समेत सहज हुनेगरी शौचालयसम्म जानको लागि र्याम्पको व्यवस्था भएको, शौचालयमा ह्यान्ड रेलिङ्ग राखिएको, प्रति ५० विद्यार्थीको अनुपातमा एउटा शौचालय र युरिनलको सुविधा भएको तथा वास कार्य योजनालाई विद्यालय सुधार योजनामा समावेश भएको हुनु पर्ने रहेका छन् । यसरी नेपाल सरकारबाट स्टार विद्यालयको रुपमा मान्यता पाउनका लागि माथि तोकिएका आधारहरु पूरा गरेको हुनु पर्छ । एकतारे हुनका लागि एकतारेमा भएका सूचकहरु पूरा गर्नुपर्छ भने दुईतारे हुनका लागि एकतारे र दुईतारे दुबैका सूचकहरु पूरा गरेको हुनुपर्छ । यसरी नै तीनतारे विद्यालय हुनका लागि एकतारे, दुईतारेका साथ तीनतारेमा उल्लेख भएका सूचकहरु पनि पूरा गर्न जरुरी हुन्छ । जुन विद्यालयमा एक तारेमा उल्लेख गरेका आधारभूत सूचकहरु उपलब्ध हुँदैनन्, त्यस्ता विद्यालयहरु तारे विद्यालयमा पर्दैनन् । तीन तारे अवधारणा वाससंग सम्बन्धित तिनै १० ओटा सूचकहरुका आधारभूत विषयहरु प्राप्त गरेको संकेतका रुपमा पनि लिन सकिन्छ ।
छात्रालाई प्राथमिकता
मापदण्डले छात्रा तथा बालिकाहरुका विषयलाई प्राथमिकता दिंदै महिनावारी स्वच्छतालाई पनि विशेष जोड दिएको छ । जसअनुसार देशभरका विद्यालयहरुमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन सरकारले बजेट छुट्याएको छ । महिनावारीका कारण बालिकाहरुको शिक्षा र पठनपाठनमा कुनै अवरोध नपरोस् भन्ने उद्देश्यले यो अवधारणा ल्याइएको निर्देशक पौडेलको भनाइ छ । ’महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई स्वाभाविक रुपमा स्विकारिनुपर्छ । महिनावारीका कारण एकातिर पढाइ छुट्ने र अर्कोतिर मानशिक रुपमा पर्ने प्रभावका कारण बालिकाहरु पिडित हुनु हुँदैन’, उहाँले भन्नुभयो ।
’विद्यार्थीलाई पढाउदा पनि स्टार दिनाले उनीहरुलाई समयमै गृहकार्य गर्न प्रेरणा मिल्ने र अरुलाई पनि प्रेरणा दिने काम गर्छन् । त्यसैले नै विद्यालयहरुमा तीन ताराको अवधारणा ल्याइएको हो’
अवधारणाको औचित्य
पौडेलका अनुसार यो अवधारणा विद्यालयहरुलाई प्रेरित गर्नका लागि पनि ल्याइएको हो । ’विद्यार्थीलाई पढाउदा पनि स्टार दिनाले उनीहरुलाई समयमै गृहकार्य गर्न प्रेरणा मिल्ने र अरुलाई पनि प्रेरणा दिने काम गर्छन् । त्यसैले नै विद्यालयहरुमा तीन ताराको अवधारणा ल्याइएको हो’, उहाँले भन्नुभयो ।
गुणस्तरीय शिक्षाका लागि १० ओटा सूचकहरुको निकै ठुलो भूमिका रहन्छ । कुनै पनि कार्यक्रम ल्याइसकेपछि त्यसको दिगोपानामा प्रश्न उठ्ने गर्छ । वाससम्बन्धि यस कार्यक्रम केहि दिन, महिना या वर्ष भन्दा पनि सदावाहार रुपमा कार्यन्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रम सफल पार्नका लागि ’विद्यालय खानेपानी तथा स्वच्छता समन्वय समिति, गाउँपालिका वा नगरपालिकास्तरिय सामाजिक विकास समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक, बाल क्लब, विद्यार्थी, विकासका साझेदारहरु र स्वास्थ्य शिक्षा तथा खानेपानी सम्बन्धि निकायहरुको उत्तिकै भूमिका रहन्छ । कार्यविधिमा हरेकले गर्नुपर्ने काम र निभाउनुपर्ने जिम्मेवारीका विषयमा समेत उल्लेख गरिएको छ ।
विद्यालयसंग जोडिएका संस्थाहरुले पनि विद्यालयका एजेन्डासंग रहेर काम गर्ने र त्यसको व्यवस्थापन प्रधानाध्यापाक वा विद्यालयले गर्नुपर्छ । जसमा विद्यालयलाई व्यवस्थापन गर्नका लागि स्थानिय सरकारसंग जिम्मेवारी हुन्छ । जोसंग नीति नियम बनाउने र विद्यालय अनुकुल आधार र मापदण्ड तयार गर्नेे अधिकारसमेत हुन्छ । त्यसपछि प्रदेश र केन्द्रिय सरकारले पनि समन्वय, नीति निर्माण र तर्जुमाको काम गर्छ ।
चुनौती र आवश्यकता
सरकारले ल्याएको कार्यविधि सबै विद्यालयहरुमा लागु हुन भने सकेको छैन । भौगोलिक चुनौती एकातिर होला तर सामुदायिक विद्यालयको अनुगमन र नियमनको सम्पुर्ण जिम्मेवारी पाएको स्थानिय सरकारबाट पनि स्पष्ट निति तथा कार्ययोजना बनाउने तथा नियमन गर्ने पाटोमा कमजोरी रहेको सरोकारवालाहरु बताउँछन् । यसका साथै, सामुदायिक विद्यालयहरुमा सरसफाइ तथा स्वच्छतासम्बन्धि कार्यक्रमहरु गैरसरकारी संस्थाहरुकै जिम्मेवारीका रुपमा बुझिदिनाले पनि समस्या उत्पन्न भएको हो ।
आफ्नो घर, गाउँ, टोल, समाज र विद्यालय आफैंले सफा गर्नुपर्ने कुराको ज्ञान सबैमा भए पनि व्यवहारमा त्यसो हुन सकेको स्वयं विद्यालयका अभिभावक देखि विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु बताउँछन् । वातावरण सफा गर्नुभन्दा अघि प्रत्येकले आफ्नो मन सफा गर्नुपर्ने पौडेल बताउनुहुन्छ । विद्यालयको वातावरण पनि जति सफा, स्वस्थ, प्राकृतिक र अनुकुल भयो त्यति नै सिकाइ प्रभावकारी हुन्छ । आजका बालबालिका नै भोलिका देशका कर्णधार हुन् । त्यसैले भोलिका सिर्जनशिल जनशक्ति उत्पादनका लागि त आजदेखि नै उनिहरुको सिकाइलाई प्रभावकारी र परिणममुखी बनाउन खाने पानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकतामा राख्न आवश्यक छ । यो आवश्यकता प्राय सबैले महशुस गरेका छन् तर यसलाई व्यवहारमा उतार्न अझै धेरै काम गर्न बाँकी छ ।