• मंगलबार, ४ बैशाख, २०८१
  • ०६:३६:५३

सधै फोहोर, सबै चोर

  • Netizen Nepal
  • आइतबार, २६ भदौ, २०७९- १६:१८:००/ Sunday 09-11-22

विज्ञान घिमिरे  
काठमाडौँ, २६ भदौ । यहाँ सबै कुरा सहज बनेको छ किनकि खुला रूपमा भ्रष्टाचार गर्नेहरू समेत पुरस्कृत हुँदै गएका छन् । नियन्त्रण गर्ने निकायले आँखा चिम्लिएको अवस्था छ । यी  व्यक्ति प्रायः शक्तिकेन्द्रको नजिक रहेका हुन्छन् र सबै प्रकारका कुकृत्य गर्ने अभयदान राज्यका तर्फवाट प्राप्त गरिराखेका छन् । त्यसैले सरकारी संयन्त्र जसलाई राष्ट्रसेवकको पवित्र संज्ञा दिइएको छ, उनीहरूले जनताका नजरमा कामचोर र भ्रष्टको पहिचान बनाएको पाइन्छ ।

अर्को पक्ष छ, व्यापारी र उद्योगपतिहरूको, यो समूह सबै प्रकारका शक्तिमा रहेकाहरूसँग राम्रो सम्बन्ध कायम गरी अत्यधिक फाइदा लिन लागेको  देखिन्छ। यिनीहरू राजनीतिज्ञलाई बेलाबखत चन्दा सहयोग दिन्छन् । कामसँग सम्बन्धित कर्मचारीलाई नजराना टक्रयाउँछन् र आफ्नो दुनो सोझ्याउँछन् । यी सबै सहयोग र नजरानामा अत्यन्त थोरै लगानी गर्दै अत्यधिक रूपमा व्यक्तिगत फाइदा लिन्छन् । यिनीहरूको भेटघाट अत्यन्त फाइदाजनक हुने भएकाले देशका नीतिनिर्माताको ढोका यिनीहरूका लागि सधैं खुला रहन्छ ।

राजनीतिज्ञ यस्ता समूहप्रति अत्यन्त ज्यादा मैत्रीपूर्ण सम्बन्ध राख्छन् । केही उच्च पदाधिकारीमाथि नियन्त्रण जमाई यिनीहरू व्यक्तिगत स्वार्थपूर्ति गर्न खप्पिस हुन्छन् । यस्तै व्यावसायिक समूहहरूको पक्कड सरकारी नीति निर्माण र निर्णय प्रक्रियामा रहन्छ । उदाहरणका लागि हरेक क्षेत्रगत कार्यालयमा यिनीहरू नै हावी भएका हुन्छन् । त्यसैले जनता उद्योगपति, व्यापारीहरूलाई तस्करका रूपमा देख्छन् ।

समाजमा वैदेशिक रोजगार व्यवसायीहरूको अर्को वर्ग छ । आफ्ना उद्योग कलकारखानाहरू जनताले तस्करका रूपमा सम्बोधन गरिराखेका व्यक्तिलाई सरकारमा रहनेहरूले कौडीको मोलमा बिक्री गर्छन् । उद्योग सञ्चालन गर्न लगानीको सुरक्षा हुने वातावरण तयार गर्न सरकार असफल भएको छ । त्यसैले भएका उद्योगहरू बन्द हुँदै गएका छन् । देशभित्र रोजगारिका अवसर प्राप्त गर्ने अवस्था छैन । त्यसैले देशको युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएको छ । उनीहरूले प्रेषित गरेको विप्रेषणवाट देशको अर्थतन्त्र  चलेको छ ।  

तर तिनै युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा ठूलो शोषण गर्ने अभयदान सरकार र यसको संयन्त्रले वैदेशिक रोजगार व्यवसायीहरूलाई प्रदान गरिराखेको छ । विदेशमा बसी कमाएको रकमको ठूलो अंश विदेश जाँदा लिएको ऋण तिर्नमा खर्चिनुपर्छ । तर उपलब्धि भने खासै हुदैन।  

समाजमा अर्को तप्का समाजसेवी नागरिक समाजको आवरणमा रहेको छ । समाजसेवीको छद्म भेषमा रहेकाहरू अपवादवाहेक सबै व्यक्तिगत अभिष्ट पूरा गर्न तल्लीन छन् । अन्यत्र प्रायः विकसित देशहरूमा यो वर्ग सरकारलाई सतर्क गराई देशमा सुशासन कायम गर्नमा विशेष भूमिका निर्वाह गर्दछन् । संवैधानिक निकायहरूमा पदाधिकारीहरूको नियुक्ति गर्ने क्रममा डेनमार्कमा नागरिक समाजलाई महत्वपूर्ण भूमिका कानुनले नै प्रदान गरेको छ । तर, नेपालमा भने नागरिकले चाहेको व्यक्ति यस्ता निकायमा पुगेको सम्म देखिदैन।  

नागरिक समाजको छद्म भेषमा विभिन्न दलका राजनीतिक कार्यकर्ताहरूले पेसाकै रूपमा अवलम्बन गरी आर्जन गरिराखेका छन् । त्यसैले नेपालमा इमान्दार नागरिक समाज  देख्न समेत् पाइदैन  । कुनै राजनीतिक दलसँग आबद्ध हुन पाउँदा गौरव मान्ने यस्तो नागरिक समाजसँग के अपेक्षा  गर्ने ?  

यस प्रकारको दूरअवस्थाबाट देश गुज्रिएको छ । यसको समाधान हुन सक्ने आशालाग्दो अवस्था देख्न सकिएको छैन । यसका लागि देशको राजनीति जनकेन्द्रित हुनुपर्छ । जुुन दिनसम्म साम्राज्यवादी र विस्तारवादी अदृश्य शक्तिको चङ्गुलमा देश फस्छ त्यस दिनसम्म जनता व्यवहारमा सार्वभौम हुनै सक्दैनन् । सार्वभौम जनताको अभावमा राजनीति, प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान सबै निष्प्रभावी बन्छन् । त्यसैले नेपालको सुदृढीकरणको दिशामा यी पक्षहरूलाई राम्ररी प्राथमिकतामा राखी अघि बढ्नुपर्ने विश्लेषण प्रबुद्ध वर्गले गरिराखेको अवस्था छ । यो अवस्था विद्यमान हुनुमा हाम्रो समग्र समाज पनि जिम्मेवार रहेको छ । यी सबै वर्गकाहरू हाम्रै समाजका उपज हुन् । त्यसैले यसको सुधार समग्र समाजमा सुधार आउँदा मात्र सम्भव हुन्छ । यो सुधारको सुरुवात आगामी मङ्सिर ४ गतेको चुनावबाट गर्न सके सबैको हित मात्र होइन आक्रोश समेत न्युन गर्न सकिन्थ्यो।  

नेपाली समाज विस्तार संस्कारविहीन बन्दैछ । आफ्नो भविष्यको  सही निर्णय लिन सक्दैन । देशको अवस्था नेपालीहरूले बुझेका छन् । व्यक्तिगत स्वार्थमा गलत निर्णय लिँदै आत्मालोचना गरेर बस्ने गर्छन् । राजनीतिले स्वार्थ लोलुप झुन्डरूपी दास मनोवृत्तिका कार्यकर्ताहरूको विकास गरिराखेको छ । हालै  निर्वाचनमा आफैंले दिएको निर्णयबाट प्राप्त नतिजापश्चात् मतदाता पछुताउन थालिसकेका छन् । 

सबैलाई पूर्वपञ्चहरूको दलको नेताले पाठ पढाएको चर्चा सघन रूपमा सुन्न पाइएको छ । राजनीति इमानदार, गतिशील, दीर्घकालीन सोचयुक्त बन्न सक्दा मात्र देशले प्रगति गर्छ । मूल्यमान्यता सबै तिलाञ्जली दिएका राजनीतिक दलहरूका शीर्षस्थहरूले आफ्नो त्याग र तपस्याको प्रतिफल जनताबीच अस्वीकार्य हुने तवरले प्राप्त गरिराखेका छन् । उनीहरूलाई जनताले खबरदारी गर्न सकिराखेका छैनन् । नेतृत्वमा रहनेहरू आफ्ना गुटमा संलग्न दासहरूको प्रशंसामा मुग्ध हुँदै आत्मरतिमा रमाइराखेका छन् । देश र देशका आमनागरिकको भलाइका दिशामा लोकतन्त्रका हिमायतीको ध्यान पुग्न सकेको छैन । सबै क्षेत्र अस्तव्यस्त छ । 

देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइराखेका छैनन् । समाजमा सफेद पोसाकमा देखिँदै आफूलाई भद्र भलाद्मी र समाजका लागि केही गरिराखेको दावी गर्नेहरू जनताका नजरमा बदनाम छन् । यो बदनामीका सम्बन्धमा गहिरो छाप परिसकेको छ । त्यसैले यिनीहरूमा छिट्टै सकारात्मक प्रभाव पार्न सक्ने अवस्था देखिँदैन । सबै क्षेत्रमा व्यक्तिवाद, नातावाद, कृपावाद, दलीय स्वार्थ, भ्रष्टाचार, कालोबजारी, तस्करी व्याप्त छ । यही अनुभूति जनताले राम्ररी गरेका छन् । यी सबै कारणले गर्दा देश गरिबीको दुश्चक्रमा नराम्ररी फसेको छ । थोरै टाठाबाठामा स्रोत साधन संग्रह भइराखेको छ । यसवाट देशले मुक्ति पाइहाल्ने सम्भावना देख्न सक्ने अवस्था नहुँदा सबैमा निराशा छाएको छ ।

आखिर कुन–कुन समूह हुन त देशलाई यस्तो दूरवस्थामा पु-याउने ? प्रश्न उठ्नु स्वभाविकै हो । राजनीतिले देशलाई अघि बढाउने र पछि धकेल्ने दुवै काम गर्छ । त्यसैले कस्तो छ त नेपालको राजनीति ? र त्यसका कलाकार, छलफल यसैबाट प्रारम्भ गरौं । नेपालमा यथार्थतामा राजनीति भूमिगत शक्तिवाट सञ्चालित छ । जो राजनीतिमा लागेर व्यक्तिगत तरक्की गर्न सफल भएका छन् उनीहरू आफ्नो बलबुता र नेपाली जनताको विश्वास, एवं समर्थनमा राजनीति गर्ने सामर्थ्य देख्दैनन् । राजनीति देशभन्दा अन्यत्रबाटै सञ्चालित छ ।

जनताभन्दा भूमिगत अदृश्य शक्तिको समर्थनमा नेपालका धेरै व्यक्तिहरूले राजनीतिलाई कमाई खाने भाँडो बनाएका छन् । त्यसैले जनताको आलोचनाको खासै महत्व  यी राजनीतिज्ञहरूलाई हुँदैन । उनीहरू जनतालाई गौण मान्दै जनतामाथि चरम शोषण गरिराखेका छन् । राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग गर्छन् । भ्रष्टाचारलाई संस्थागत रूप दिन तत्पर छन् । प्राडो, पजेरो प्रकरणदेखि लिएर पुरुष सांसदहरूलाई सुत्केरी हुँदा खाने औषधिको सुविधासमेत दिन तत्परता देखाइराखेका छन् । जो स्वच्छ छविका देखिएका छन् ।

उनीहरूका आसेपासेहरू भ्रष्टाचारमा लिप्त भएकोमा मूकदर्शक बनेका छन् । उनीहरूलाई हिजो दुई रङको चप्पलको फिता लगाउनेहरू रातारात नवधनाढ्यका रूपमा रूपान्तरित भइराखेको दृश्य हेर्न बाध्य मात्र होइन यिनै भ्रष्टहरूको आदर्श र उपदेश सुन्नु विवश बनाइराखेको अवस्था छ । देश अराजक अवस्थामा धकेलिँदै छ ।

अन्तराष्ट्रिय संस्थाहरूले नेपाललाई विश्वकै भ्रष्ट राज्यको सूचीमा राखेको अवस्था छ । तस्करी र भ्रष्टाचार नेपालको राजनीतिले नियन्त्रण गर्न सकेन । सरकारको नेतृत्वमा रहनेहरू नै तस्करी र भ्रष्टाचारमा घनिष्ठ रूपले सम्बन्धित रहेको आक्षेप लाग्दै छ । तर, हाम्रो राजनीति, राजनीतिज्ञहरू र सरकारमा रहनेहरू सबै उनीहरूको मूल्यांकन जनताले कसरी गरिराखेका छन् त्यसको लेखाजोखा गर्न आवश्यक देख्दैनन् । जनता अवाक् छन्, उनीहरू आफ्नै तथाकथित जनप्रतिनिधिलाई स्वार्थी व्यक्तिहरूको झुन्ड र भ्रष्टका रूपमा चित्रण गरिराखेका छन् । यिनै भ्रष्टहरूबाटै आफ्ना प्रतिनिधि आवधिक निर्वाचनहरूमा चयन गरिराख्नुपर्ने अवस्था नेपालका आमनागरिकको रहेको छ । त्यसैले नेपालमा सर्वसाधारण जनताले राजनीतिज्ञहरूलाई भ्रष्टहरूको झुन्डका रूपमा सम्बोधन गरिराखेका छन् ।

दोस्रो दर्जामा रहेका छन् सरकारी संयन्त्र, जसमा निजामती कर्मचारी, जंगी, प्रहरी, संस्थानलगायतमा कार्यरत राष्ट्र सेवकहरू पर्छन् । जनताहरूको यी निकायहरूमा आजसम्म सहज पहुँच स्थापित हुन सकेको छैन । सरकारले दिएको नीति, निर्देशन, कानुनी प्रावधान आदिका आधारमा प्रवाह गरिने सेवामा सेवाग्राही सन्तुष्ट छैनन् । प्रक्रिया अत्यन्त जटिल छ । प्रायः जनसम्पर्क हुने कार्यालयहरूमा खुलेयाम घुसको चलखेल देखिन्छ । कार्यालय प्रवेश गर्ने ढोकामा नै दलालहरूसँग सेवाग्राहीको जम्काभेट हुन्छ । दलाल र सेवाप्रदायकबीच अत्यन्त सुमधुर सम्बन्ध हुन्छ । त्यसैले यस्ता कार्यालयको सञ्चालन अप्रत्यक्ष दलालले नै गरिराखेका हुन्छन् । सरकार सुशासनको नारा दिएर थाक्दैन । जनता सामान्य कामका लागि दलाल, गाउँका टाठाबाठाहरूमा निर्भर हुनुपर्छ । कर्मचारीहरूको सेवाग्राहीप्रतिको व्यवहार अझै पनि सेवकका रूपमा देख्न पाइँदैन ।

शक्तिसँग नजिक भएकाहरूसँग दावेदारी गर्दै जनतामाथि शोषण, दमन र अमैत्रीपूर्ण व्यवहार गर्नुमा नै सरकारी सन्यत्र अभ्यस्त छ । यस परिस्थितिमा सरकारले गर्ने सुशासनको सुगा रटाई सस्तो मनोरञ्जन मात्रैमा सीमित देखिन्छ । यस्तो संयन्त्र राजनीतिज्ञलाई गलत मार्गमा लाग्ने बाटो देखाउन, सहयोग गर्न र राजनीतिज्ञ र कर्मचारीतन्त्रको मिलिमतोमा नीतिगत भ्रष्टाचारदेखि सबै प्रकारका जनविरोधी कार्य गर्न हाम्रा राजनीतिज्ञ र सरकारी संयन्त्रका अधिकांश पात्र निर्लज्जताका साथ अघि बढिराखेका छन् ।