• बिहीबार, ६ बैशाख, २०८१
  • ०९:२१:४५

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित

  • Netizen Nepal
  • शुक्रबार, ७ असोज, २०७९- ०८:२०:००/ Friday 09-23-22

नेटिजन संवाददाता 
काठमाडौँ, ७ असोज। नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेका थिए ।

नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताउनुभयो। देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उहाँको भनाई छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताउनुभयो। उहाँले भन्नुभयो , “एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता सङ्कटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो ।”

नवौँ ग्लोवल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१)  सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवद्र्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवद्र्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो ।

यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ ।