• बुधबार, १२ बैशाख, २०८१
  • ०२:२४:२१

उमेर बृद्धभत्ताको, रजगज शक्ति र सत्ताको 

बृद्धभत्ताको उमेर भएका नेताहरु

  • Netizen Nepal
  • शनिबार, १५ असोज, २०७९- १०:२०:००/ Saturday 10-01-22


नेटिजन संवाददाता
काठमाडौँ, १५ असोज । नेपाली समाजमा एउटा उखान चलनचल्तीमा छ, ‘तन बुढो भए पनि मन बुढो हुँदैन । नेपाली राजनीतिका लागि पनि यो उखान मिल्दो जुल्दो छ भन्दा फरक पर्दैन । हाम्रो देशका अधिकांश शिर्ष नेताहरु ६८ वर्ष कटेका छन्, अर्थात बृद्धभत्ता खाने उमेरका छन् ।

वास्तवमा युवा जोश र जाँगर भएको उमेरमा काम गर्ने र बुढेसकालमा आफ्ना अनुभव साट्दै युवाहरुलाई अभिभावकत्व सहितको अवसर दिनुपर्ने हो । तर नेपालमा उमेरले बृद्ध बनाए पनि राजनीति र सत्ताको स्वाद लिन पाउँदा युवाको भन्दा बढी उर्जा आएको गर्जन छाँट्ने नेताहरु प्राय:  सबै दलमा छन् । नत उनीहरु शक्तिको कुर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार देखिन्छन,  नत युवापुस्ता नै त्यो कुर्सीमा दाबी गर्ने आँट देखाउँछन् । नेपाली राजनीतिको यो चक्र नतोडिदासम्म राजनीतिक संस्कार, चालचलन,  अभ्यास र व्यवहारमा सुधारको अपेक्षा गर्नु निरर्थक हुन्छ ।

यस किसिमको बुढेसकाले राजनीतिक प्रचलनलाई तोड्ने एक मात्र अचुक अस्त्र जनमत हो । जसका लागि आमनागरिकमा छुटको चेत खुल्नु आवश्यक छ भने नेताहरुले विराशत मानेको राजनीतिक भाष्यलाई परिवर्तन गर्नु राष्ट्रिय आवश्यकता नै भैसक्यो । पछिल्लो समय भने राजनीतिमा युवाहरुको चासो र सक्रियता बढ्न थालेको छ । यसले राजनीतिमा पुस्तान्तरणको संकेत त गरेको छ तर देशको उच्च ओहोदाको साँचोमुचो र हालीमुहाली भने पाका नेताहरुको हातमा नै बढी छ । अब पाका नेताहरुले आफ्नो अनुभव सिकाउने र युवाहरुलाई पालो दिने गर्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेका छन् ।  

यद्द्यपी, जनआवाजले युवापुस्तालाई नै खोजिरहेको भए पनि पार्टी भित्रका युवा नेताहरु बाहिर ठुला ठुला गफ दिने तर तिनै नेताहरुको चाकडी गरेर नै अगाडी बढ्ने प्रवृत्तिले तत्काल परिवर्तनको छाँट भने देखाउँदैन । पार्टी भित्रका युवा तथा कार्यकर्ताहरुमा पनि सत्ता मोह तथा आवाज उठाउँदा बाहिरिनुपर्ने डरका कारण पनि चाकडीको राजनीतिमा रुमलिएको जानकारहरु बताउँछन् ।  

समयको माग अनुसार पाका नेताहरुको सोचमा पनि परिवर्तन हुन् जरुरी हुन्छ ।  तर उनीहरु अझै पनि पचासौं वर्षअघि जुन तरिकाबाट अगाडी बढ्थे त्यहि भिजनबाट अगाडी बढ्न चाहान्छन् ।  पाका व्यक्तिहरु देशका महत्वपुर्ण हिस्सा हुन् ।  जसमा देशका युवाहरुलाई आफ्नो अनुभवका आधारमा एउटा सहि बाटोमा डोहोर्याउन सक्ने शक्ति हुन्छ ।  तर उनीहरु आफैं नै एकआपसमा गोरु जुधाई गरेर बसिरहेका छन् ।  जसबाट भावी पुस्ताले सिक्ने ज्ञान के भन्ने प्रश्न पनि उठ्न थालेको छ ।  

यहि सेरोफेरोमा उमेरले बुढेसकाल लागेका तर शक्तिको कब्जा जमाएर बसेका नेताहरुको उमेर यहाँ प्रस्तुत गरिएको छ।  

शेरबहादुर देउवा

शेरबहादुर देउवा झन्डै ३ दशकदेखि पटक पटक गरेर ५ पटक प्रधानमन्त्री भइसक्नुभएको छ । २०४८ सालयता निर्वाचित हुँदै आउनुभएका नेपाली कांग्रेसका सभापति देउवालाई अझै पनि पद र कुर्सीको आशक्तिले छोड्न सकेको छैन । आफु मात्र होइन देउवाले श्रीमती र आफन्तहरुलाई समेत राजनीति र पदको स्वाद चखाउने मौका छोडेका छैनन् । नेपाली कांग्रेसका सभापति देउवाको जन्म विसं २००३ जेठ ३१ गते भएको हो । उमेरका हिसाबले उहाँ अहिले ७६ वर्षको हुनुभयो । उमेरका हिसाबले त आफ्ना अनुभव बाँडेर युवाहरुलाई काम गर्न उत्प्रेरित गर्ने समय हो । तर राजानितिर कुर्सीप्रतिको आकार्षण अझै जस्ताको त्यस्तै नै छ । उहाँ यस  पटकको चुनावमा डडेल्धुराबाट उठ्दै हुनहुन्छ।  पछिल्लो समय भने देउवालाई चुनौती दिन केहि युवाहरु पनि निर्वाचनमा उठ्ने तयारीमा छन् ।

केपी शर्मा ओली

काम थोरै र गफ धेरै गर्ने नेताका रुपमा केपी शर्मा ओलीलाई धेरैले चिन्छन् । नेकपा एमालेका अध्यक्ष ओलीको जन्म विसं २००८ साल फागुन ११ गते भएको हो । हाल उहाँ ७१ वर्षको हुनुभयो । ओलीलाई पनि दुई तिहाई जनमतको सरकार संहाल्न नसकेको आरोप लाग्ने गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा ओली झापा ५ बाट उठ्नुभएको छ।  उहाँलाई पनि टक्कर दिन पछिल्लो समय केहि युवाहरु अगाडी आउने तयारी गरिरहेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड

कुर्सी र पदका लागि धुर्त्याइं र चतुर्याइं गर्न जानेको भनेर आरोप लाग्ने गरेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म २०११ साल मङ्सिर २६ गते भएको हो । हाल उहाँ ६८ वर्षको हुनुभयो । प्रचण्डलाई अस्थिर र ढुलमुले स्वभावका नेताका रुपमा चित्रण गर्ने गरिन्छ । उनको यहि ढुलमुले छविका कारण जनताले उनिप्रति विश्वास राख्न छाडेका छन् ।

उहाँलाई आफ्नो बोलि र आदर्शमा अडिग रहन नसक्ने र जितका लागी जोसंग जति बेला सम्झौता गर्न पनि सक्ने भनेर पनि आरोप लाग्ने गरेको छ । विगत ५ वर्षको गतिविधिलाई हेर्दा पनि उहाँ कहिले एमालेसंग त कहिले कांग्रेससंग गठबन्धन गर्न तयार भइहाल्छन् । केहिले उनलाई एक्लै लड्ने आँट नभएका नेता समेत भन्ने गरेका छन् । आफु सर्वेसर्वा हुन खोज्ने अनि कामभन्दा बोलिले नै सबै कुरा जित्न खोज्ने नेताका रुपमा उहाँलाई चित्रण गरिन्छ । हरेक निर्वाचनमा ठाउँ फेर्ने प्रचण्ड यस पटक गोर्खा २ बाट चुनाव लड्दै हुनहुन्छ।  

माधव कुमार नेपाल

माधव कुमार नेपालको जन्म वि.सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा भएको हो । तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपाल नेपालको ३४ औं प्रधानमन्त्री हुनुभएको छ  । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका नेपाल ७० वर्षको हुनुभयो ।

नेपाललाई पनि नेतृत्व दिन सक्ने क्षमता कम भएको र अरुकै भरमा उठ्ने नेताका रुपमा चित्रित गर्ने गरिएको छ । १४ वर्ष एमालेका महासचिव हुनुभएका उहाँ आगामी निर्वाचनमा रौतहट १ बाट चुनाब लड्दै  हुनुहुन्छ ।

झलनाथ खनाल

एकीकृत समाजवादी पार्टीका वरिष्ट नेता झलनाथ खनालको जन्म विसं २००६ साल चैत ६ गते भएको हो । उहाँको उमेर ७३ वर्ष भयो । कुनै बेला नेकपा एमाले पार्टीका अध्यक्ष समेत बन्नुभएका खानालको राजनीतिक यात्रा पछिल्लो समय भने संकटापूर्ण अवस्थामा छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातसम्मको अध्ययन गर्नुभएका उहाँ २०६७ सालमा नेपालका ३५औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ यस पटक एकीकृत समाज बादी बाट  इलाम १ को उमेद्वार हुनुहुन्छ।  

डा. बाबुराम भट्टराई

जनताले निकै आश गरेका नेता भएपनि अपेक्षा अनुसारको काम गर्न नसकेका तथा अस्थिर नेताको ट्याग लागेका बाबुराम भट्टराईको जन्म २०११ साल असार ४ गते भएको हो । उहाँ अहिले ६८ वर्षको हुनुभयो । भट्टराईको पनि पहिला आउँदा जस्तो ओझ थियो, त्यहि ओझ छैन । कहिले कुन पार्टीमा त कहिले कुन पार्टीमा चहारीरहेका कारण जनाता पनि उनिसंग आजित भइसकेका छन् । यो कुरा उनले पनि बुझेका छन् । त्यसैले उनि यसपालीको चुनाव जित्ने मनसायले नै 'यो मेरो अन्तिम चुनाव हो' न्दै फन्डा  फलेका भट्टराई यस पटक भने  चुनाव नलड्ने घोषणा गर्नुभयो र कतै बाट उठ्नु भएन।  ।

रामचन्द्र पौडेल

पद र कुर्सीका लागी मरिहत्ते गर्ने र अलि रुन्चे स्वभावका नेता भनेर आरोप लाग्ने गरेका नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलको जन्म वि.सं.२००१ साल असोज ३० गते भएको हो । अहिले उहाँको उमेर ७८ वर्ष भयो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण पटक-पटक गरी १३ वर्ष जेल र एक वर्षसम्म नजरवन्दमा परेका उहाँ विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएको थियो । २०७४ सालको चुनाबमा हरेका उहाँ यस पटक तनहु क्षेत्र नम्बर १ को उमेद्वार हुनुहुन्छ।   

बामदेव गौतम

कुनै बेलाका नेकपा एमालेका वरिष्ट नेता बामदेव गौतमको राजनीतिक यात्रा पछिल्लो समय भने अलि सुस्त गतिमा छ । २००५ सालमा जन्मिनुभएका उहाँ हाल ७४ वर्षको हुनुभयो । गौतमलाई पनि जता तर मार्न पाइन्छ त्यतै लाग्ने ढुलमुले नेताका रुपमा चित्रित गर्ने गरेको पाइन्छ । प्युठानमा पराजित भए पनि राष्ट्रिय सभामा गएका उहाँ यस पटक भने कतै बाट चुनाब लड्नुभएन।  


सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको जन्म विसं २००९ साल फागुन २८ गते  इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उहाँ अहिले ७० वर्षको हुनुभयो । २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नु भएको छ । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भइसक्नुभएको छ । त्यस्तै ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इलाम बाट  चुनाब लड्दै हुनुहुन्छ।  

शेखर कोइराला

कांग्रेस नेता शेखर कोइरालाको जन्म विसं २००७ भाद्र ०९ गते भएको हो । उहाँको उमेर ७२ वर्ष भयो । उहाँ नेपाली काँग्रेस पार्टीका राजनीतिज्ञ तथा व्यवस्थापिका संसद सदस्य समेत हुनुहुन्छ । कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।  उहाँ मोरंग ६ बाट चुनाव लड्दै हुनुहुन्छ।  

बिजयकुमार गच्छादार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको जन्म विसं २०१० सालमा भएको हो । उहाँ अहिले ६९ वर्षको हुनुभयो । ।इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो ।  उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत भैसक्नुभएका गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष समेत हुन् । पछिल्लो समय भने उहाँ आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिक यात्रालाई निरन्तर्ता दिंदै हुनुहुन्छ ।  उहाँ सुनसरी बाट चुनाव लड्दै हुनुहुन्छ।  

महन्थ ठाकुर

दलगत स्वार्थबाट माथि उठ्न नसकेका नेता भनेर आरोप लाग्ने गरेका जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) का सभापति महन्थ ठाकुर पनि पार्टीमा टिक्न नसक्ने नेताका रुपमा चिनिन्छन । उहाँको पार्टी कहिले जुट्ने, कहिले फुट्ने भइरहन्छ । ठाकुरको जन्म विसं २००८ सालमा भएको हो । हाल उहाँको उमेर ७१ वर्ष भयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर महोत्तरी  क्षेत्र नं  ३ को चुनावी मैदानमा हुनुहुन्छ। 

अर्जुन नरसिंह केसी

नेपाली राजनीतिमा बहुदल स्थापना पश्चात शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा मुख्य भूमिका निर्वाह गर्नुभएका अर्जुन नरसिंह केसीको जन्म विसं २००३ सालमा भएको हो । हाल उहाँको उमेर ७६ वर्ष भयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।  उहाँ  नुवाकोबाट चुनाव लड्दै हुनुहुन्छ।  

कमल थापा

 राप्रपा नेपालका अध्यक्ष कमल थापाको जन्म २०११ सालमा भएको हो । हाल उहाँ ६८ वर्षको हुनुभयो । उहाँ पूर्व गृहमन्त्री, टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान समेत हुनुहुन्छ ।  थापालाई पछिल्लो पार्टीको महाधिवेशनबाट आफ्नो पराजय स्वीकार गर्न नसकेर पार्टी नै परिवर्तन गरेको आरोप लाग्ने गरेको छ । राजतन्त्रको पक्षधर पाले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । उहाँ मकवानपुर १ बाट चुनाव लड्दै हुनुहुन्छ।   

पशुपति शमशेर जवरा

 राणा वंशका राजनीतिज्ञ पशुपति शमशेर जवरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । उहाँको जन्म विसं १९९७ सालमा भएको हो । हाल उहाँ ८२ वर्षको हुनुभयो । उहाँ पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री र नेपालमा बहुदलीय व्यवस्था आएपछि अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलश्रोत तथा सञ्चार मन्त्री हुनुभएको थियो ।  पछिल्लो समय भने उहाँ राजनीतिमा कम सक्रिय हुनुहुन्छ ।  

कुनै एउटा घर पाको मान्छेले संहालेको छ भने त्यो घरको अनुशासन, चालचलन र व्यवस्थापन छुट्टै जिम्मेवार किसिमको हुन्छ ।  त्यहाँ सबै जिम्मा बुढा व्यक्तिले लिएका हुँदैनन्, बरु काम गर्ने जिम्मा युवाहरुकै हुन्छ ।  बुढा व्यक्तिले रेखदेख, हेरचाह र संरक्षणको काम गर्छन् ।  युवाहरुले गर्ने निर्णयमा आफ्नो दरिलो राय प्रस्तुत गर्छन । छलफल हुन्छ र सहि निष्कर्ष निकालिन्छ ।  त्यस्तै देश संहालने पाटोमा पनि पाका नेताहरुको भूमिका घरका जेष्ठ नागरिकको जस्तै हुनुपर्छ ।  जिम्मेवार व्यक्तिबिना हरेक नेतृत्वहरु काँचो हुन्छ ।  तर पाका नेताहरु सबै जिम्मेवारी आफैं लिन अघि सर्छन्, ७५ वर्षको उमेरमा देश बनाउन श्रम गर्नुभन्दा बढी आराम गर्नु जरुरी हुन्छ ।  नेताहरुले आराम नगरेका कारण देशले भोगेका सास्तीहरु भनिनसक्नुको छ ।  

पाका नेताहरुले देशका लागि केहि नगरेका भने होइनन् ।  उनीहरुको मुख्य उद्देश्य व्यवस्था परिवर्तन गर्नु थियो । राणा शासन, पंचायत हुँदै राजा शासन अन्त्य उनीहरुको मुख्य एजेन्डा भित्र पर्थ्यो ।  उनीहरुले त्यो सफल पनि पारेर छाडे ।  तर अब वस्था परिवर्तन गर्ने दिन आएको छ ।  जुन उनीहरु युवा हुँदा कहिल्यै प्राथमिकताको विषय बन्न पुगेन । त्यहि कारणले नै पाका नेताहरु पछिल्लो समय राजनीतिमा चुक्न पुगेका हुन् भन्ने कुरा पनि यदाकदा सुन्ने गरिन्छ । 

त्यसैले, जनताले पनि आफुले खोजेको के हो र कोबाट सम्भव छ भन्ने कुरा बेलैमा बुझ्न जरुरी छ ।  आफुले चाहेको व्यक्तिलाई बुद्धिमाता पुर्वक छनौट गरेमा फेरि आगामी ५ वर्षसम्म निरास हुँदै बस्नेपर्ने अवस्था आउँदैन ।