• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:५८:५४

बजार खोज्दै बझाङी आलु

  • Netizen Nepal
  • शुक्रबार, १४ असोज, २०७९- १८:२१:००/ Friday 09-30-22

 भूमिराज पिठातोली
बझाङ, १४ असोज।   खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाउनुभयो । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्र्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाउनुभयो । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट दुई÷तीन किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो । 

आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खोजीमा लाग्नुभयो शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि कुहिने चिन्ता लाग्यो उहाँलाई ।

“गत वर्षको बाढीले स्थानीय बजारसम्म जाने बाटो पनि अवरुद्ध गरेपछि बारीबाट घरमा ल्याएको आलु कुहिने चिन्ता लागेको थियो”, उहाँले भन्नुभयो, “बारीबाट घरसम्म त पु¥यायौँ, अब बजार कसरी पु¥याउने भन्ने चिन्तामै थियौँ । करिब डेढ महिनापछि सडक खुल्यो अब बजार पाइन्छ कि भनेर आशा लागेको छ ।”

वर्षौंदेखि बाँझो जमिनमा पनि राम्रै उत्पादन हुँदा तरकारी खेती नै गर्ने सोच बनाएको तर, बजार नपाउँदा निरास हुनुपरेको उहाँ बताउनुहुन्छ । “मामाले एक क्विन्टल ३० केजी रातो आलुको बीउ दिनुभयो”, थापाले भन्नुभयो, “दगाउँमा तीन÷चार दिन लगाएर लगाएको आलु १५ क्विन्टल जति भएको  छ । आधा निकाल्नै बाँकी छ । अब निकाल्दै बिक्री गर्नुपर्छ ।”

बाह्र कक्षामा पढ्दै गरेका थापा पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित हुनुहुन्छ । “टनेलभित्र तरकारी फलाउँदा हरेक सिजनमा पनि ताजा तरकारी खान पाइन्छ”, थापा भन्नुहुन्छ, “गत वर्षदेखि थोरै लगानीमा तरकारी खेती सुरू गरेको हुँ । अहिले आफूलाई पर्याप्त भएर छिमेकीहरूलाई सानोतिनो बेच्ने गरेका थियौँ । त्यसले घर खर्च राम्रै चलेको थियो । यसपटक मात्रै आलु बेच्न पाएको छैन ।”

तिउनेमा शमशेर मात्रै एक्ला हुनुहुन्न, वीरजङ्ग थापा र वीरेन्द्र थापाको बारीमा पनि यसपटक आलु राम्रै उत्पादन भएको छ । उहाँहरू पनि अहिले सडक खुलेको र आलुले बजार पाउने आशा पलाएकोे बताउनुहुन्छ । “पहिले नजिकैको बजारमा तरकारी पु¥याए पनि बेचिन्थ्यो”, थापा भन्नुहुन्छ, “बीचमा लामो समय सडक अवरुद्ध भएपछि बजार पाइएन । अब त दसैँ पनि लाग्यो । गाउँघरबाटै पनि बेचिन थालेको छ ।”

खप्तडछान्ना–९ का हिक्मत रोकायाले पनि आलुखेती गर्न थालेको लामो समय भयो । हरेक वर्ष आलुबाट डेढ दुई लाख रुपैयाँ आम्दानी गर्ने रोकायाले यस वर्ष भने सडक नै नभएको भन्दै बारीबाट आलु निकाल्नुभएको छैन ।

छान्नामा आलुको भण्डार भनिने बामया लेकमा लगाएको आलुले यसपटक बजार नपाउने हो कि भनेर चिन्ता लागेको र सडक खुलेपछि सहज हुने उहाँले बताउनुभयो । “अहिले बारीबाट आलु निकाल्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आलु ल्याएर घरमा कुहिनुभन्दा बारीबाट नै निकालेका थिएनौँ । अब बजार पु¥याउनका लागि सडक पनि खुल्यो । आलुले बजार पाउला भन्ने आशा छ ।”

रोकायाको बारीमा यो वर्ष ५० क्विन्टलको हाराहारीमा आलु फलेको छ । “एउटै बोटमा पनि राम्रै फल लागेको छ, त्यसमा पनि ठूला ठूला दाना”, रोकायाले भन्नुभयो, “पुरै गणा (बारी) को आलु निकाल्दा त ५० क्विन्टलभन्दा बढी हुन्छ ।” गडरायमा हिक्मत जस्तै सात÷आठ जना कृषकको बारीमा सयौँ क्विन्टल आलु निर्यात गर्ने तयारी भएको रोकायाले बताउनुभयो ।

थापा र रोकाया जस्तै बझाङमा सयौँ कृषक छन् । वर्षायाम भएको हुँदा उत्पादन गरेको तरकारी थन्किएको र अब निर्यात हुने कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत टेकबहादुर विष्ट बताउनुहुन्छ । उहाँका अनुसार सडक अवरुद्ध भएर सयौँ क्विन्टल आलु रोकिएको थियो । अब सडक खुलेपछि अन्य जिल्लामा पठाउन सकिने उहाँले बताउनुभयो । “कृषि ज्ञान केन्द्र बझाङले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “हामी किसानको तरकारी किनेर बेच्दैनौँ । बजारका लागि समन्वय गरेर ढुवानी गरिदिन्छौँ ।” बझाङको उत्पादन निर्यात गर्नका लागि कैलालीमा डिपो बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आलु जोनको सहयोगमा मात्रै हजार क्विन्टल आलु निर्यात

बझाङबाट आलु जोनको सहयोगमा मात्रै एक हजार क्विन्टल आलु निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको कृषकको आलु डडेल्धुरा, कैलाली, चितवनलगायतका स्थानमा निर्यात भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (आलु जोन कार्यक्रम) प्रमुख सविता जोशीका अनुसार यस सिजनमा मात्रै बझाङमा उत्पादन भएको आलु कोल्डस्टोरसहित एक हजार क्विन्टल बाहिर पठाइएको छ । “आलु जोनको सहयोगमा बझाङबाट एक सय क्विन्टल डडेल्धुरा र एक सय क्विन्टल पहलमानपुरको कोल्डस्टोरमा बीउका लागि पठाएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी आठ सय क्विन्टल कृषकको आलु कैलालीमा पठाएका छौँ ।” 

अघिल्लो वर्ष आलु जोनले छ पालिकाका तीन सय २० घरधुरीमा गरिएको सर्वेक्षणअनुसार दुई दशमलव ७८ रोपनीमा आलुखेती गरिन्थ्यो । अहिले जिल्लाभर पाँच सय हेक्टर जमिनमा आलुखेती गरिँदै आएको उहाँले बताउनुभयो । पाँच सय हेक्टर जमिनमा १० हजार टन आलु उत्पादन हुने विश्वास लिइएको एकाइ प्रमुख जोशीले बताउनुभयो । “लेकाली आलु कृषकले बीउका लागि पनि त्यत्तिकै मात्रामा छुट्याउने गर्छन्”, उहाँले भन्नुभयो, “कृषकले बीउलाई छुट्याएर बिक्री गर्ने आलु मात्रै जोनको सहयोगमा निर्यात हुने हो ।” रासस