• बिहीबार, १३ असार, २०८१
  • ०९:००:४४

विदेशमा सङ्गालेको सीप नेपालको गार्मेन्टमा

  • Netizen Nepal
  • शुक्रबार, ११ कार्तिक, २०७९- १५:४८:००/ Friday 10-28-22

राजकुमार साउद
सहजपुर, ११ कात्तिक । ‘सुदूरगार्मेन्ट’ कैलालीको गोदावरी नगरपालिकामा मात्र नभई आसपासका अन्य पालिकामा पनि चर्चित नाम हो । गोदावरी नगरपालिका–६ लालपुरमा रहेको उक्त गार्मेन्टले सस्तो तथा सुलभ मूल्यमा फेन्सीका सबै सामान प्रदान गर्न थालेपछि सबैको प्रिय बनेको छ । उक्त गार्मेन्टका सञ्चालक हुनुहुन्छ, सोही वडामा बस्ने रमेश महता । 

विसं २०७३ मा छरछिमेकसँग सापटी लिएर कैलालीकै गोदावरी नगरपालिका–६ लालपुरमा उक्त गार्मेन्ट सञ्चालनमा ल्याउनुभएका उहाँले  गार्मेन्टसम्बन्धी आफ्नो लामो अनुभव र श्रीमतीले पनि सिलाइसम्बन्धी काम गरेकीले व्यवसाय सञ्चालनमा सहजता आएको बताउनुभयो । “सुरुआती चरणमा गार्मेन्ट अगाडि बढाउन केही समस्या थियो तर मैले लामो समयसम्म गार्मेन्टमा काम गरेको र श्रीमतीले पनि सिलाइकटाइसम्बन्धी सीप सिकेको हुँदा सोचे जति अप्ठ्यारो भएन”, महताले भन्नुभयो, “थोरै लगानीबाट सुरु गरेको गार्मेन्टले राम्रो प्रगति गर्दै उद्योगको रुप लिएको छ ।” 

छ वर्षअगाडि रु पाँच लाखको  लगानीमा स्थापना गरिएको उद्योगको लगानी अहिले बढेर रु तीन करोड भन्दाबढी पुगेको छ । सुरुमा गार्मेन्टमा उत्पादन गरिएका लुगा कपडा गार्मेन्टकै अगाडि खोलेको पसलबाटै बिक्री वितरण गर्दै आउनुभएका उहाँले अहिले छिमेकी बजारका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कपडा पठाउँदै आउनुभएको छ । लत्ताकपडा ढुवानीका लागि अहिले उहाँले गाडीसमेत खरिद गरिएकोे छ । 

गार्मेन्टमा उत्पादन गरिएका कपडा मोटरसाइकलबाट ढुवानी गर्न समस्या भएपछि आफूले गाडी खरिद गरेको महताले बताउनुभयो ।  विद्यालयका ट्र्याक सुट, जर्सी, ज्याकेट, टिसर्टलगायत अर्डरअनुसारको सबै प्रकारको कपडासमेत गारमेन्टमा उत्पादन हुन्छ । झण्डै १० वर्ष भारत, दुई वर्ष विदेश र एक वर्ष काठमाडौँमा गार्मेन्टकै क्षेत्रमा काम गर्नुभएका उहाँ नोकरीको सिलसिलामा विभिन्न ठाउँमा सँगालेका अनुभवलाई आफ्नै क्षेत्रमा प्रयोग गरेर मालिक बन्न सफल हुनुभएको हो । 

घरपरिवारभन्दा बाहिर बसेर मासिक रु ४० हजार जति कमाउँदै आउनुभएका महताले  अहिले सबै खर्च कटाएर वार्षिक रु १०÷१२ लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो  । उहाँले सञ्चालनमा ल्याएको गार्मेन्टमा अहिले स्थानीय १५ जनाले रोजगारीसमेत पाएका छन् । “गारमेन्टमा मैले १५ जनालाई रोजगारी दिएको छु”, महताले भन्नुभयो, “काम गर्ने कामदारहरुलाई सुरुआतमा करिब एक महिनासम्म तालिम दिएर काममा राख्ने गरेको छु, जसले गर्दा उनीहरुको पनि सीप अभिवृद्धि भइरहेको छ ।” 

गार्मेन्टमा आवश्यक पर्ने कच्चापदार्थ काठमाडौँ र भारतबाट ल्याउने गरेको र बाहिरबाट आएको कपडाभन्दा गार्मेन्टमा तयार पारिएको कपडा सस्तो हुने उहाँले बताउनुभयो । गार्मेन्टबाटै महताले एउटा गाडी किन्नाका साथै सोही ठाउँमा जग्गा किनेर घर बनाउनाका साथै सोही घरमा गार्मेन्ट राख्नुभएको छ । उहाँको गार्मेन्टमा हाल १२ वटा मेसिन रहेकामा समय अनुकूल भए लगानी बढाएर ३० देखि ३५ वटासम्म मेसिन सञ्चालनमा ल्याउने योजना बनाएको उहाँले बताउनुभयो । 

स्थानीयस्तरमा हुने खेलकुदका कार्यक्रममा उल्लेखनीय योगदान दिँदै आउनुभएका महताले समाजमा हुने अन्य विकास र निर्माणका कार्यका साथै अनाथ एवम् असहायहरुलाई पनि सहयोग गर्दै आउनुभएको छ ।

समस्याले नै बनायो गार्मेन्ट मालिक

डडेल्धुराको भागेश्वर गाउँपालिका–५, बगरकोट सिराडबाट  कैलालीको गोदावरी नगरपालिका–६, भुएरामा बस्दै आउनुभएका उहाँको बाल्यकाल सुखद रुपमा नै बित्यो । विसं २०४३ फागुन ७ मा जन्मनु भएका महता उतिबेला कक्षा १० मा पढ्दा पढदै  तत्कालीन नेकपा माओवादीको जनआन्दोलनको डरले पढाइ छाडेर  साथीसँग भारतको दिल्ली पुग्नुभयो ।

भारत पुगेपछि खानकै लागि पहिले चिया बनाएर बेच्न थाल्नुभयो । केही महिनापछि दिल्लीमै हार्नेस बनाउने कम्पनीमा काम गर्न थाल्नुभयो तर यो कामबाट पनि चित्त नबुझेपछि उहाँ एक महिनासम्म गार्मेन्टको सीप सिकेर सोही कम्पनीमा जागिर पाउनुभयो । भारतका विभिन्न गार्मेन्ट कम्पनीमा काम गर्नुभएका महताले झन्डै १० वर्ष भारतका विभिन्न गार्मेन्ट उद्योगमा काम गरेरेर उतिबेलै करिब ३५ देखि ४० हजारसम्म भारतीय रुपैयाँ कमाउने गरेको सुनाउनुभयो । माओवादीको डर सकिएपछि भारतमा सिकेको सीप लिएर उहाँ नेपाल फर्किनुभयो । 

नेपालमा आएपछि कञ्चनपुरकी मीना महतासँग विवाह गर्नुभएका उहाँले परिवार पाल्नुकै लागि काठमाडाँै आएर करिब एकवर्ष जति गार्मेन्टकै काम गरेपछि त्यहीँबाट मलेसिया पुगेर गार्मेन्ट कम्पनीमै करिब दुई वर्ष काम गर्नुभयो । त्यहाँबाट फर्केपछि उहाँले आफ्नै गार्मेन्ट खोलेर बस्ने योजनाअनुसार नै सुदूर गार्मेन्टको सुरुआत भएको थियो । रासस ।