• बुधबार, १२ बैशाख, २०८१
  • ११:३६:४८

शिक्षकदेखि मुख्यमन्त्री हुँदै पाँचौँ पटक सङ्घीय संसदमा राजेन्द्र पाण्डे   

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- २३:५६:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
    काठमाडौँ, ८ मङ्सिर।  धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । झण्डै आठ हजार मतान्तरहित उहाँ निर्वाचित हुनुभएको हो । पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गर्नुभयो । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्नुभयो ।    
    
 विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मनुभएका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको होे । पाण्डे विद्यार्थी राजनीतिबाट उदाउनुभएको हो । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उहाँले एक वर्ष भूमिगत र चार वर्ष छ महिना बन्दी जीवन बिताउनुभएको छ । उहाँले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण गर्नुभएको थियो ।    
    
 बुबा स्व नेत्रराज र आमा स्व मनमायाका जेठो छोराका रुपमा जन्मनुभएका पाण्डेले सीता थपलियासँग विवाह गर्नुभएको हो । उहाँका तीन छोरा छन् । पाण्डेले त्रिभुनव विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उतीर्ण गर्नुभएको छ ।    
    
 पाण्डे २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित हुनुभएको थियो । विसं २०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । विसं २०५१ मा पाण्डे नेकपा (एमाले)को संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बन्नुभएको थियो । विसं २०५० मा उहाँ एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।    
    
 पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा उहाँ धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । विसं २०७८ मा उहाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । एमालेको विभाजनसँगै उहाँ नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष हुनुहुन्छ ।    
    

 पाण्डको ‘चीन भ्रमण एक अनुभव अनेक’ कृति प्रकाशित छ । उहाँले चीन, भारत, बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड, बेल्जियम, हल्याण्ड, लक्जम्वर्ग, इटली, अमेरिका, भेनेजुएला, ब्राजिल, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाको भ्रमण गर्नुभएको छ ।