कुमाउँ युद्धका भारदारलाई राजा रणबहादुरले लेखेको पत्र
-
नेटिजन संवाददाता
- सोमबार, ३१ असार, २०८१- १८:००:००/ Monday 07-15-24

नेटिजन संवाददाता
काठमाडौँ, १० पुस। वि सं १८४९ मा रणबहादुर शाहले राजधानी कान्तिपुरबाट गढवाल विजय गर्न गएका भारादार काजी जगजीत पाण्डे, सरदार अमरसिंह थापा(बुढा) कप्तान गोलान्जा खवासहरुलाई चिठी पठाएका थिए । भारदारहरुले फागुनमा लेखेर पठाएको चिठी ६ महिनापछि पाएपश्चात प्रतिउत्तरमा यो चिठी लेखिएको हो । जहाँ गडवालमा नेपाल- अङ्ग्रेज युद्धदेखि चीनसंग भएको युद्धका बारेमासमेत राजा रणबहादुर शाहले आफ्ना भारदारहरुलाई जानकारी दिएका छन् ।
यो चिठीको सुरुमा विसं १८४८ फाल्गुनमा जगजित पाँडेहरुले पठाएको चिठीको चर्चा गरिएको छ। सो चिठी लेखेको ६ महिनापछि भाद्रतिर राजधानीमा आइपुगेको थियो । त्यसमा कौड़े भन्ने ठाउँमा भएको लडाइंको उल्लेख थियो । विसं १८४८ आषाढमा गढवालको राजधानी श्रीनगरमा नेपाली सेना पुगेपछि त्यहाँका राजा प्रध्युम्न त्यहाँबाट भागी अलकनन्दापारि गइ बसेका थिए । हिउँद लागेपछि कौड़े भन्ने ठाउँमा गडवाली राजा प्रध्युम्न शाह र नेपालीहरुको घोर घमासान लडाइं भयो । सरदार अमरसिंह थापाको मातहतको नेपाली शैन्यले प्रध्युम्न शाहलाई परास्त गरेको थियो।
यस लडाइं चलिराख्दा नेपाल-चीन युद्ध पनि मच्चिरहेकाले मुलुकलाई जोगाउनै हम्मे हम्मे परेको थियो । तर यो चिठी पुग्दा चीनसंग सम्झौता भएकाले पश्चिमको बिजय यात्रा जारि राख्न यस पत्रमा भनिएको छ ।
विसं १८४९ मा श्रीमोडका राजा जगतप्रकाशले काजी जगजित पांडेसंग सन्धि गरे। सन्धिसनुसार नेपाल राज्यको पश्चिममा यमुना साँध लाग्यो। साथै विसं १८४९ आश्विनमा गढ़ावाली राजा प्रध्युम्न शाहले पनि बर्षेनी रु २५००० नेपाललाइ बुझाउने गरि आश्रित सन्धि गरे ।
त्यसपछिको चिठीमा नेपाल चीन युद्धको विस्तृत विवरण दिइएको छ । विसं १८४५ मा भोटसंग नेपालको लडाइं पर्यो । लडाइंमा नेपाल बिजयी भयो । भोट नेपालसंग लात्रियो र सन्धि गर्न राजि भयो । सन्धिअनुसार नेपालीले अधिकार जमाएको भोट प्रदेश छाडिदिए र भोटले नेपाललाई वर्षेनी ५० हजार बुझाउने भयो । भोटले सम्झौताअनुसार एक वर्षमात्र कर बुझायो । भोटले सन्धि तोडेकाले नेपालले फेरि भोटसंग लड्ने निर्णय गर्यो ।
विसं १८४८ मा रणबहादुर शाहले अभिमानसिंह बस्नेतको मातहतमा केरुङ्गतिरबाट र काजि दामोदर पांडेको मातहतमा कुत्तितिरबाट भोट हान्न फौज पठाए । भोट आफ्नो कब्जामा लिइ नेपाली सेनाले सुनचाँदीसमेत हात पारे र राजधानी काठमाडौँ फर्किए । नेपालीहरुको कब्जामा भोटका स्यामर्पा लामा अघिदेखि नै थिए । लडाइंपछि ल्हासाका काजि धुरिन काजि य्युतोलाई पनि समातेर कैद गरि ल्याएका थिए ।
त्यसपछि १८४९ मा नेपाल चीन युद्ध सुरु भयो। भोटले आफ्नो सहायताका लागि चीनसंग गुहार गर्यो। चीनले भोटको रक्षाका लागि आफ्नो फौज पठाइदियो । नेपालको फौज थोरै र चीनको फौज धेरै थियो । त्यसैले उनीहरुले नेपाली फौजलाई लखेट्दै कुकुरघाट, केरुङ्ग हुँदै रसुवासम्म आइपुगे । नेपाली फौज कमजोर भएको थाहा पाई राजा बहादुर शाहले काजि दामोदर पांडेसहितको फौज रसुवातर्फ पठाए । त्यसपछि नेपाली फौजको बल बढ्यो । रसुवाको धुन्चे र धैबुङ डाँडाबाट ठुलो युद्ध भयो । धेरै चीनियाँ फौजको मृत्यु पनि भयो ।
त्यसपछि चिनियाँ काजि टुंगथ्यांगले 'दुवैतिरबाट हात थामौं 'भनि चिठी पठाए । आफ्नो देश नै जोखिममा रहेकाले नेपालले पनि सम्झौता गर्नुमै बुद्धिमानी देख्यो । नेपालले 'हामीले पनि हात थाम्यौं, तिमीहरु पनि हात थाम' भनि धैबुङ्ग छाडिदिए। लड़ाइं थामियो ।
सम्झौताअनुसार नेपालले बन्धक बनाएका व्यक्तिहरु छाडिदिनुपर्ने थियो । तर सम्झौता अघि नै टुंगथ्यांगले निहुँ खोजे र नुवाकोट पनि आफुलाई चाहिएको कुरा गर्न थाले । त्यसपछि राजा रणबहादुर शाहले आफ्ना सेनालाई 'चीनियाँ फौज बलैसित आइलाग्यो भने हान्नु' भनि आदेश दिए।
भाद्र ८ गते बेत्रावती तरी १० हजार चीनियाँ फौज तीनतिरबाट भिड्न आयो। नेपालीका फौजहरु वेत्रावतीवारि चोकदे, दुधे थुम्को र गेर्खुमा गरि तीन गढीमा थिए । तीनै तिरबाट नेपालीले चीनियाँलाई लखेटे । त्यसपछि नेपालीसंग जोरी खोज्न नसक्ने ठानी टुंगथ्यांगले सन्धि गर्ने निश्चय गरि चिठी पठाए । बलभद्र खवाससहितको टोली चीन गए र सम्झौता गरे। सम्झौताअनुसार हरेक ५ वर्षमा नेपाली दुतमण्डली चीन जाने भयो । चीनले कब्जा गरेको नेपालको भुमिबाट आफ्ना सेना हटायो । सो जग्गा नेपालकै भयो।
चीनियाँ फौज लड्दै नेपालको भूमिमा आइसकेको अवस्थामा विग्रह गरिराखे उता अंग्रेजले अर्कोतिर दबाब बढाउने सम्भावना हुन्थ्यो । त्यसैले यो बेला नेपालले चीनसंग सम्झौता गर्नु धेरै बुद्धिमानीपूर्ण काम थियो । यस सन्धिमा नेपालले चीनको अधीनता स्वीकार गर्ने तथा नेपालको हानि हुने कुनै सर्त थिएन । सम्झौतापछि नेपालको दूत मण्डली सोझै चीन जान थाल्यो । नेपाल- चीनको सम्बन्ध अझै मझबुद भयो ।
राजा रणबहादुर शाहले आफ्ना भारदारहरुलाई लेकको पत्र यस्तो थियोः
स्वस्ति श्रीगिरिराजचक्रचुडामणि नरनारायणत्यादिविविधबिरुदावालीबिराजमान मानोन्नत श्रीमन्महाराजधिराज श्रीश्रीश्रीमहाराजे रणबहादुरशाहबहादुरसम्सेरजंगदेवानाम सदा समरविजयीनाम
स्वस्ति श्रीसर्वोपमायोग्यराजभारासामर्थश्रीकाजी जगजीतपाडे श्रीसर्दार अम्बरसिंह थापा श्रीकप्तान गोलान्जा षवासके आशीषपूर्वक पत्रमिदप।
यहाँ कुसल ताहा कुसल चाहिये पत्र आयो अर्थ मालुम भयो, आगे यहाँको समाचार भलो छ उप्रान्त कौड्यामा वैरी आई बस्याको कतिले तहाँ अर्का मुष आयाकालाई थामन बसी अम्बरसिं थापाले पल्टन अरु फौज समेत ग्वाहार दिन गयाको वैरीलाई घर्काइ कत्तल गरी काट्याको हानमार गार्याको फर्दसमेत विन्ती गरि पठाया छौं विस्तार मालुम भयो। लडाई फत्य गर्या छौं बनाया छौं। फागुणमा लेख्याको चिठी रहेछ, असौजको ८ दिन जाँदा यहाँ आइपुग्यो।
उप्रान्त आजकाल भन्या तहांबाट आयेनन। उप्रान्त धैवुसम्म चिनियाको लस्कर आइपुग्दा र हाम्रा मानिसको मनसुभ घट्ता ढुंगा थमन्या घरी पर्यो र दोहोरो फौज राषी पनी बैरी हटाउनु पर्यो। एस्तो काज परि आउँदा ताहा तिमीहरुसँग जान्या भारा तिलंगा ढलेट खोसिन गयाका हुन्। कहिँ न्या पनि कहिँ अन्याय पनि पर्यो तापनी कसैलाई धान कसैलाई दाम गरि बक्सनेछौं। यसमा कसैले उदास हुनु पर्दैन। विवेक हामी राषनेछौँ सबैले यो कुरा सुनी षातिरजामा रहनु बाँकि बैरिदेषी काठमाडौँ येक दिनको दरम्यान रहदा थमिन्या ठाउँ थामी मनाइ सनाइ सप्रन्या ठाउमा मनाई छोडी यहां यस्तो पर्न गयो तिमीहरु धावा गरि आउ भनि लेषी पठायाथ्यौ (इश्वरी) का कृपाले आयाको बैरी जुझ बुझ ढुङ्गो ठाडो राषी फर्कायौ।
उप्रान्त तहां तिमीले पनि कुलच्याको जिमी थामी आयाको बैरी टार्याछौ जहाको बन्दोबस्त भयापछि काज तेतै येकोहोरियो। तसर्थ ती जगा बडा ऐश्वर्यले मिल्याको छ नछाड। यहाँ यस्तो पर्दा केहि कुरामा थामपुर पुग्न गयेन तापनि अब हाम्रो हो। थामपुर गरिबक्सनेछौं। उप्रान्त देवनिधि पन्तले चिठी लेख्याको ४० दिनमा यहाँ आइपुग्यो तस चिठीमा क्या लेषेको रहेछ भन्या श्रीमोरिया राजाको फौज मदतलाई लंगुरगढमा थिया. गढवालका राजाले कबोल्याको रुपैंया नदिंदा फौज फिर्यो नवाफका सल्लाहसित अलखनन्दमा भेट भै घाको बन्दोबस्त भयो.
श्रीयमुनापार श्रीमोरियाले षानु वार गोर्षाले षानु यो वन्दोवस्त गरि राजा फिर्यो श्रीनगर गोर्षाको अम्बल भयो भनी लेष्या छन यहि समाचार बस्न्या २-४ जना मानिसले पनि लेष्याछन् ताहाबाट आइपुग्याको छैन तपनी समाचार साचै ठहरायौ। समाचार साचै भयापछि त बढियै काम गर्याछौ भनि षुसी भयौ। अब गर्न्या काजका अर्थकन कालु पाडे भगु षवासलाई ताहा पठायाको छ इ २ समेत इनको पल्टन ओ जोगमल भक्तिथापा तस नया देसका सुवा ताहा राषी यति फौजले ताहा संभार रहने भनि काजी जगजीत पाडेका चित्तमा देष्या सरदार सुवा उमरा सुवेदारलाई तैले षटाई तहा राषनु काजीले षटायाका मानिसले ष टनमा रहनु,जो रहदैन सो अपसरिया जो रहला सो सरिया काजी जगजीतपाडेले चाहिदा मानिस ली तहाको बन्देज गरी यस समय पजनी सबेरै मोहर देषत हजुर आ.
उप्रांत हाम्रो फौज डिगर्चा पुगी फिरि आयाको विस्तार अघि तिमीहरुलाई लेषेकै हो ताहा पछि यहाँ भयाको समाचार डिगर्चा लुट्याको र भोटका काजीहरू पक्रियाको समाचार चीन पुग्दा चीनका बादसाहाको उजीर ज्वाइ टुंगथाङ भन्याको र अरु च्यानचुन हैकुन अंवा गैह्र सर्दार फौज औ चिनिया सोक योग्या गरुम्बा षम्बा गैह्र समेत निगलदा फागुनमा लासा आइ पुग्याथ्या लासाबाट १-२ चिठी केही कुरा सलुकको साह्रो कुरा भन्या हाम्रा पोछा पर्न आयाका स्यामरपा लामालाई र तिनीहरुले छेक्याको लासाका धुरिन काजी इतो काजीलाई हाम्रा छेउ पठाईदेउ भनि उसले २३ पटक लेषता हाम्रा पीछा परेकालाई पीछाको धर्म थामना निमित्त नासौपदा उजीर टुंगथाङ आफ्ना जीय अघि सरी फौज ली आषाढ सुदी २ रोज ५ का दिन कुकुरघाटका हाम्रा छुट्टै ठाना मिच्यो १ ठाना रहेको छ भनि केरुङ हाम्रा लस्करका सर्दार छेउ षबर आउँदा सर्दार शत्रुभंजन मल्ल आफ्ना तैनाथी सिपाहीसमेत तुलाराम उधौँ २ सुबेधार कंपनी समेत केरुङबाट हिड्याछन् बैरिले कुकुरघाटको ठाना छिनो गुहार आउने फौज हानौला भनी आफ्नो चाँजो पारी वाटमा बस्याको रहेछ. बैरीको चाँजो नबुझी पाङसिङटारका पल्लाछेउ हाम्रा गुहार जाने मानिस पातलै पुग्न गयाछ। तेसै ठाउमा लडाई जोरियेछ तुलाराम सुवेदार समेत २०-२५ मानिस हाम्रा षेत रह्याछ्न बैरिका पनि १०-१५ षेत रह्याछन केहि घाईता भयाछन. हाम्रा पछि हटतै लड्दै केरुङ आयाछन। केरुङका ठानाका ढोकामा हाम्रा उधौ षवास सुवेदारलाई गोली लागी मरेछन। शत्रुभंजन मल्ल सर्दारले पनि १-२ आफुले पनि हानी आफुलाई पनि कडामा र पाषुरामा तीरको घाउ लागि भागी लस्करसंग केरुङमा आई सामेल भयाछन केरुङभित्र २ गढी बाहिर १ गढी हाम्रा थिया। हाम्रा कुहन्या मानिस पातलै रह्याछन उसै दिन किल्लामा बैरीले हमला गरेछ. किल्ला नफुट्ता पछि हति बसेछ। उसका भोलिपल्ट फेरि लडाई गर्न आयेछ २ पहरसम्म लडाई भइ नसकी पछि हटेछ। चौथा दिनपछि येक पहर रात बाकी छ भन्दा आइलागेछ.
बन्दुक तीर बारुदका सिधिया झारपात आगो फुलटा हाली मिची पहिले बाहिरको किल्ला ४÷५ घडी दिन चड्दा अम्बल गरेछन भित्रका २ किल्लामा तमाम दीन लडाई भयेछ बैरिका पनि ३-४ सय मरेछन। हाम्रा पनि २ सय मरेछन घडी ४ येक रात चढ्दा हाम्रा २ किल्ला फुटेछ हाम्रा मानिस केहि निसकी भागी आया। उसै दिनमा लपेटा ली २ घडी दीन चढ्दा रसुवा आइपुगेछ। दिनभर वारपारबाट गोलीको लडाई भयेछ १०-८ बैरिका मर्या छन. रसुवा षोला माथिबाट भाग्याका हाम्रा र यताबाट जान्या भास्कर जगबल सुवेदार कंपनी समेतको भेट स्याप्रु कमा भयेछ. षोला वारपार बैरीको र हाम्रो आड वारावार भयेछ गाउ स्यप्रुकका शह्वारलाई प्रवलराना भारत षवास रणकेषर पाडे श्रीनाथ कम्पनी केहि उमरा समेत पुगेछन। पुग्याका ७-८ दिन पछि तर्न्या भैकन बैरि आउँदा बारीबाट हाम्राले बन्दुकको सनक लाउदा तर्न पायेनछ हटेछ २-३ दिनपछि माथिबाट बाकलो फौज तर्याको देषता हाम्रा लस्करलाई उकालो पर्दा स्याप्रुकमा गाउबेसीमा बस्याका हाम्रा फौज सल्लाहसित धुंचे सर्याछन.
उपर हाम्रो भारी फौज दामोदरपाडे समेत धुन्चेमा बस्याका थिया. भास्कर गजवाल सेवेदार कम्पनी समेत धुंचेको थापलो देउराली भन्याको जग्गामा हातमाला पुगंया गरी बस्याका रह्यछन. बैरिले उसै जग्गामा कटक गर्न आउँदा २ पल्ट हाम्राले घर्काइ तेस्रो पटक हाम्रा २ सुवेदार ४०-५० पर्याछन। बैरिका २ सय अढाई सये परी उ जगा अंचल गरेछ। उसै जगालाई धुन्चेबाट गुहार गयाछन् बिचैमा बैरीले हान्न आइलागेछ. येक पटक हाम्राले हटायाछन फेरी उसको भारी फौज आउँदा हाम्रा २-४ उसका २-४ मानिस मरेछन। हाम्रा हटी धुंचेका भारादारसंग सामेल भै असजिलो जग्गा थियो र धुंचे छोडी धैवुङ आया बैरीले पछेडा लिई आउँदा कमार्यागढछेउ लडाई जोरियेछ.
हाम्राले जित्याछन ४०-५० बैरी गोली तरबारले मर्याछन सय डेढ सय भीरमा लडी मर्याछन लामच्यामा बैरिका लस्कर बसेछ धैवुङमा हाम्रा लस्कर बस्याछन तेस्तै बीचमा धुंचेबाट बैरीले सलुक गर्न्या आसएको चिठी उसले पठाउदा हामीले इहाबाट उस चिठीको प्रतिउत्तर ली चिनिया पांडे र धुरिन काजीका साथको ढेवा १ छेकी राष्याको चिनिया १ पठायाथ्या इनले हाम्रा भारदारलाई धैवुङ भेटी रामच्या गयाछन उजीर टुंगथांगछेउ पठायाछन हाम्रा जान्यालाई मुषजवानी क्या अराया छन भने हाम्रा लश्कर भाला मानिसलाई बस्न यो जगा सागुरो छ धैवु छाडिदेउ गोर्षाका भला मानिस कुराकहानी गर्नालाइ आउन भनि राता कपरामा अक्षर लेषी उही कपरातिरमाआ उनि हाम्रो देउरालीको मुखतिर पनि यहि तीर अक्ष्र देखा तेरा लस्करलाइ पनि देषा हामीले पनि हात थाम्यौ तिमीहरुका लस्करमा हाथ थाम भनी अह्राइ पठायेछ सोहि तीर देउरालीका लस्करतीर पनि देषाइ दोहरै हाथ थामियो. धैवुङमा हामीलाई जुझ्न पनि असजिलो थियो उसले पनि भनि पठाउदा भारादारले पनि छाडीदियेछन्.
वेत्रावती सांध वारी हाम्रो लस्कर पारी भै रहे। ताहा छेकी राष्याका चिनिया र धुरीन काजी इतो काजीलाई पठाई देउ भनी उजीर टुंगथांगले धैवुबाट चिठी लेख्याको थियो र ई मानिसलाई ली रणजीतपाडे, भोटुपाडे नरसिंह टक्सारी, रामदास पन्थ, बलभद्र षवासलाई उजीर टुंगथांगछेउ पठायौ सावनका ३१ दिन जाँदा शनि स्चरवार बेत्रावती तरी परी बैरिका लस्करका मुहुडाका अम्बाहरुसँग रातीमा भेटघाट भयेछ उसै रात यहाँ रह्याका चिनिया र धुरिन काजीलाई उजीर टुंगथांगछेउ लैगयेछ वीहायापछी आदित्यवार हाम्रा यताबाट जाने भारदारहरुलाई दोपहरमा उजीर टुंगथांगसंग मुलाकाद भयाछ. इहाबाट लै गयाका चिठीको प्रतिउत्तर ली मंगलबारका दिन रणजीतपांडे र बलभद्रषवासलाइ यता पठाइ दिया छन. बुधबारका दिन यहा आइपुग्या चिठीमा बहुत तरहका कुरा लेष्याका रह्याछन असली कुरा भन्या हामीलाई धैवुं सागुरो छ नुवाकोट आइ मुष्य राजा र राजाका काका नुवाकोटे हामीछेउ आइ मोल सलुकका बन्दोबस्त गरौँ राजा र राजाका काका नआया भलामानिस भारा आउँ कुराकहानी गरौँ. हामीलाई नुवाकोट आउँ पनि दयेनौ तिम्रा दुइ मुषका लस्कर पनि झिक्तेनौ त हामी बलैसित आउछौ भनि चिठीमा लेष्याको रहेछ, फेरी दोस्रो चिठी लगत्तै यस बुझको आयो. पछिल्ला चिठीको जवाफ हामीले लेषीराख्याथ्यौ बलैसंग वारी आया हान्नु भनि हाम्रा लस्करलाई हुकुं बक्सी राष्याको थियो. भदौको ८ दिन जाँदा सोमबारका बिहान बैरिका १००० नौ दस वेत्रावती तरी चोकदे दामोदरपाडे भयातिर १ मुष साम्ने दुध्या थुम्कामा १ हाम्रो ठाना थियो उता १ मुष मुलबाटो गेर्शुतिर कृतिमान सिंह भया पट्टि १ मुष गरि आयेछ तिनै मुषतिरबाट हटाई काट्दै वेत्रावतीसम्म लपेट्दै लै गयाछन. वेत्रावतीका सांगुमा मुष्य चिनिया भाराले आफ्नु भागन्या लस्करलाई काट्न लाग्येछ। सांगुबाट बाटो नपाउदा वेत्रावतीमा धेर बग्याछन भीरबाट लडी मर्याका तरबार गोली काडमा पर्याका बेत्रावतीमा बग्याका सब जम्मा वैरीका हजार बाह्रसय पर्याछन हाम्रा तरबार गोली तीरले घाइत्या १५-१६ भयाछन। चिनिया जो भागी पारी गयामध्ये सरदार २ को नाक काटी दिया छन् र देषता देषतै वेत्रावतीमा फाल हाली मर्याछन बाकी बैरिका लश्करमा भोटुपांडे नरसिंह टक्सारी छदैछन् त्यो कटक भया पनि घाको संला बैरीले छाडेको छैन हामीले पनि छाडेको छैन.
बादसाहलाई चिठीपत्र सर सौगात ली पगरी बाधन्या भारा चीन जान्या भै पठाउदा दिगर्चा लुटो ल्यायाका तम्रा दरवारमा आइपुग्याको केहि माल पठाइदिनु अघि केरुङमा भोटका काजी स्यामरपा लामा तिमीहरुका भारा बसी गर्याको धर्मपत्र त्यो पनि पठाउ स्यमरपा लामा भन्या मरी गयो उनका परिवार आलमाल चाकर पनि पठाईदेउ उनैका गुम्बामा राषिदिउला भनि बारम्बार उजीर टुंगथांगले २÷३ चिठी लेष्दा यो सबै थोक ली हरे बलभद्र षवासलाई बडा टुंगथांग का साथ चीन जान बिदा गरि हिडायौ. वाद्साहलाई चिठीपत्र सर सौगात ली पगरी बाधन्या भारदारलाई चीन पुगन्या बादसाहको दर्शन गर्न्या आफ्नो केहि बताउन्या गरि पठाउछौ। पठायाका भारालाई ली घाको ठेगाना बाधी आफ्नो लस्कर ली फिर्यो भन्द्या बढियै भयो.
उप्रान्त असौजका ५ दिन जाँदा चीन बादसाहलाई अर्जी सौगात ली काजी देवदत्त थापा सुवा प्रतिमान राना जेठा बुढा नरसिंह टक्सारीका छोरा जयन्त साही सर्दार बिष्णुसंकरको छोरो बलभद्रलाई बडा टुंगथाङका साथ चीन बिदा गरि हिडायौ. असौजका १० दिन जाँदा उजीर टुंगथाङछेउ धैवुंमा भेट मुलाकात भयेछ. हाम्रा भारा काजीहरुलाई देषी उजीर टुंगथाङ बहुत षुसी भया छन.
चिनियाको लस्करलाई पनि षानालाइ गाह्रो पर्याको रहेछ दुषता पनि बहुतै दुषता रह्याछन. मर्दा पनि बहुतै मर्दा रह्याछन हाम्रा भारा पुग्यापछि दुषन्या बिरन्या लस्कर षजना फिराउन लाग्या छन आफु टुंगथाङ उठ्तासाथ हिडन्या लश्कर मात्र रह्याछन. असौजका २४ दिन जाँदा शनिबार ६ तिथिका दिन उजीर टुंगथाङ लस्करसमेत धैवुं छाडी हाम्रा काजीहरू साथ ली चीनलाई फिर्या। इति संवत १८४९ साल कार्तिक बदि ७ रोज १ मुकाम कान्तिपुर राजधानी शुभम्. (धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालद्वारा सम्पादित 'ऐतिहासिक पत्रसंग्रह' पुस्तकमा आधारित ।)