कार्बन सङ्कलन के हो र कसरी जलवायु परिवर्तनसँग लड्छ?
- Netizen Nepal
- बिहीबार, १८ फाल्गुण, २०७९- १४:१६:००/ Thursday 03-02-23

नेटिजन संवाददाता
काठमाडौँ, १८ फागुन। यूकेको सरकारले अहिलेसम्मकै ठूलो ऊर्जा केन्द्र निर्माण गरिने तयारी गरेको छ। कार्बन सङ्कलन गर्ने यस्तो कारखानाले उत्पादन गर्ने अधिकांश कार्बन डाइअक्साइड हावामा जानबाट रोक्ने किसिमबाट तयार गरिएको छ।
बिजुलीको उत्पादनका लागि तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धन जलाउँदा कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ जुन जलवायु परिवर्तनको प्रमुख कारक हो। कार्बन सङ्कलन प्रक्रियाले ऊर्जा केन्द्रबाट निस्कने CO2 भनिने कार्बन डाइअक्साइडलाई बाहिर जानबाट रोक्छ र यसलाई पुन प्रयोग वा भूमिगत भण्डारण गर्छ।
यूके सरकारले कार्बन डाइअक्साइड सङ्कलन गरेर त्यसलाई नर्थ-सी स्थित तेल र ग्यास गोदाम वा त्यहाँको बलौटे चट्टानमा भण्डारण गर्न मिल्ने गरी नयाँ ऊर्जा केन्द्र बनाउन चाहेको छ।
कार्बन सङ्कलन किन आवश्यक
कार्बन सङ्कलन गर्ने ऊर्जा केन्द्रहरू सन् २०३५ सम्म यूकेको बिद्युत् उत्पादनबाट कार्बन उत्सर्जन हटाउने सरकारको प्रतिबद्धताकै एक अंश हो। यो प्रतिबद्धता पूरा गर्न यूकेले सन् २०२० को दशकको मध्यसम्ममा कम्तीमा एउटा यस्तो सङ्कलन केन्द्र बनाउने लक्ष्य राखे पनि त्यो समय सीमा भेट्न कठिन हुने देखिन्छ।
पछिल्लो दशकयता नवीकरणीय ऊर्जामा ठूलो बिस्तार भएको छ। विशेष गरी समुद्रको हावाबाट वायु ऊर्जा उत्पादनको प्रयोग व्यापक भएको छ। तर हावा कम भएको समयमा कसरी बिजुली बालिरहने भन्ने प्रश्न अनुत्तरित छ। यस्तो समस्याको समाधानको एउटा अंश कार्बन सङ्कलन गर्ने ऊर्जा केन्द्रहरू पनि हुन सक्छन्। सँगसँगै आणविक ऊर्जा र हाइड्रोजनबाट उत्पादन गरिने ऊर्जाको विकास पनि तीव्र भइरहेको छ।
निर्माण स्थलबारे तीन वटा प्रस्ताव छलफलमा छन्। तर जुन ठाउँमा निर्माण भए पनि सङ्कलन कार्बन डाइअक्साइड भण्डारणका लागि नर्थ सीको मुनीसम्म लैजान पाइप लाइनको आवश्यकता पर्छ। सन् २०२१ मा यूकेले ४२ करोड टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो। सन् १९९० को तुलनामा यो करिब ५० प्रतिशतले कम हो।
यसको तुलनामा प्रस्तावित ऊर्जा केन्द्रले सङ्कलन गर्ने मात्रा धेरै नै कम हो। प्रस्तावित तीन वटै कार्बन सङ्कलन केन्द्रहरूले प्रतिवर्ष २० लाख भन्दा बढी टन कार्बन सङ्कलन गर्न सक्दैनन्।
सरकारले सन् २०३० सम्म प्रतिवर्ष दुई देखि तीन करोड टन सम्म कार्बन सङ्कलन गर्ने लक्ष्य लिएको छ। जसमा अन्य औद्योगिक र ऊर्जा केन्द्रबाट उत्सर्जन हुने कार्बन पर्दछ।
यस्तो प्रविधि दशकौँ देखि उपलब्ध छ। यसको प्रयोग प्राय गरी उद्योगहरूमा गरिँदै आएको छ जहाँ सङ्कलित कार्बन डाइअक्साइड पुन प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि भूमिगत भण्डारहरूबाट तेल र ग्यास निकाल्न यसको प्रयोग हुन्छ। प्रस्तावित नयाँ ऊर्जा केन्द्रहरूमा भने कार्बन डाइअक्साइडको प्रयोग यस्तो काममा गरिने योजना छैन।
दश लाख मानिसहरूलाई बिजुली पुर्याउने ठानिएको नयाँ ऊर्जा केन्द्रको लागत ३५ करोड युरो हुने अनुमान गरिएको छ। ऊर्जा कम्पनी एसईईकी क्याथरिन रले यति नै क्षमतामा कार्बन सङ्कलन सहितको ऊर्जा केन्द्र बनाउँदा लागत दोब्बर हुने बताइन्। तर समयसँगै लागत कम हुनसक्ने अपेक्षा गरिएको छ। पछिल्लो दशकमा नवीकरणीय ऊर्जाको लागत पनि निकै कम भएको छ।
कतिपय मानिसहरूले कार्बन सङ्कलन धेरै महँगो भएको भन्दै यस्तो लगानी बरु नवीकरणीय ऊर्जा वा ब्याट्रीहरू जस्ता ऊर्जा भण्डारणमा गर्दा राम्रो हुने बताएका छन्। अभियान समूह ग्रीनपिस यूकेका डा. डग परले भने, “यस्ता ऊर्जा केन्द्रहरू सरकारलाई उसका तेल र ग्यास उद्योगी साथीहरूसँग उसको प्राथमिकता देखाउने र सबैलाई मर्का पर्ने गरी ऊर्जा अझै महँगो बनाउने अर्को बहाना भएको छ।”
अरू देशसँग पनि कार्बन सङ्कलन क्षमता छ?
ग्लोबल सीसीएस इन्स्टिट्युटको प्रतिवेदनका अनुसार सन् २०२२ को सेप्टेम्बरसम्म विश्वभरिमा जम्मा ३० वटा मात्र कार्बन सङ्कलन केन्द्रहरू थिए। यस्ता प्राय सबै केन्द्रहरू औद्योगिक कारखानामा छन् र प्राकृतिक ग्यास प्रशोधन तथा मल उत्पादनका लागि प्रयोग भएका छन्।
निर्माण भएपछि यूकेको ऊर्जा केन्द्रले बनाउने पाइपलाइन प्रयोग गरेर अरू उद्योगहरूले पनि समुद्र मुनी कार्बन डाइअक्साइड भण्डारण गर्ने ठानिएको छ। अहिले सञ्चालनमा रहेको कार्बन सङ्कलन गर्ने एउटै ऊर्जा केन्द्र क्यानडामा छ। यूकेमा बनाउने भनिएका जस्ता धेरै कार्बन सङ्कलन केन्द्रहरू अमेरिकामा पनि निर्माणाधीन छन्। बिबिसी