• शनिबार, १२ श्रावण, २०८१
  • ०६:४३:१८

जब छोटे राजाहरु आए...

  • Netizen Nepal
  • मंगलबार, ९ जेठ, २०८०- १५:३३:००/ Tuesday 05-23-23

उत्तम विचार
जनताले खाएपछि मात्र आफुले खाने राजा महिन्द्र मल्लद्वारा शासित नेपाल खाल्डोमा अहिले राजा एक हैन अनेक छन् तर ती जनतालाई ख्वाएर हैन भोकभोकै रुवाएर आफू गलगिद्ध ज्युनार गर्छन् । न केवल खाना, भ्रष्टाचारको मूलमन्त्र जप्दै सिङ्गो देश निल्न तम्सिन्छन् । यिनिहरूमा विकासको भुत त सवार छ तर राष्ट्र उन्नतिको नभएर आफ्नै भुँडीको स्तर उन्नतिको मात्र । आफ्नै बुझाईमा यिनिहरू त्यो बेलाका महिन्द्र मल्ल भन्दा कयौँ गुणा अब्बल ठानिन्छन् । हुन पनि कुन मूर्ख होला जो आफू नखाएर अरूको घरको चुलो र छतबाट निस्किने धुवाँ नियालेर बसोस् । 

इतिहास तिनैको लेखिन्छ जसले देश र जनताका लागि केही गरेर मरेको होस् । भक्ति र अमर थापा लगायत वीरको पसिना र रगतले सिँचिएका तिनै इतिहासका पानाहरूमा अहिलेका देश खाने कपुतका नाम कसरी लेख्न सकिएला चिन्ता थपिँदो छ । सन्तान हिजो पनि जन्मिएकै हुन् आज र भोलि पनि जन्मिने छन् । तर आफैँलाई सिध्याउन उद्धत कपुतहरूको जन्मप्रति नेपाल आमाको चिन्ता बढी रहेको देखिन्छ । 

हामी बाटो बिराउनेलाई मात्र दोषी देख्छौँ, त्यो खराब बाटोमा हिँड्न स्वीकारोक्ती जनाउनेहरू पनि कानुनी नजरमा दोषी नै हुन् जसले हिजो देश लुट्ने जाली फटाहाहरूका बिरुवामा मलजल हाल्ने काम गरिरहे ।

 

कोही किन अरूका लागि त्याग गरोस्, किन अरूका लागि रोग र भोक सहेर मरोस् । यो स्वार्थी दुनियाँ हो । मान्छे बाँच्छ र सोच्छ त आफ्नै भलाईका बारेमा । हो हामी यही स्वार्थी समाजमा बाँचेका छौँ । हाम्रो स्कुलिङ यस्तै छ, कसरी आफु सफल बन्ने, कसरी अरूलाई पछार्ने, कसरी दुनियाँका नजरमा छारो हाल्ने, झुट बोलेर अरूलाई कसरी प्रभावमा पार्ने भन्ने आदि प्रश्नहरू खेलिरहेका हुन्छन आज अधिकांश मानसपाटलमा । मान्छे यो सोच्दैन कि अरूलाई खनेको खाल्डोमा परिने अन्तत: आफैँ हो भनेर । अहिलेको जल्दोबल्दो भुटानी शरणार्थी प्रकारणमा  यिनै स्वार्थी समूह हाबी भएको देखिन्छ । एकाध मान्छेको जीवनस्तर उठ्यो पनि होला तर दुनियाँलाई रुवाएर, नेपाल र नेपालीको अन्तर्राष्ट्रिय जगतमा बदनामी गराएर रचिएको प्रपञ्च अत्यन्त निन्दनीय छ । भर्त्सना योग्य छ । 

हामी बाटो बिराउनेलाई मात्र दोषी देख्छौँ, त्यो खराब बाटोमा हिँड्न स्वीकारोक्ती जनाउनेहरू पनि कानुनी नजरमा दोषी नै हुन् जसले हिजो देश लुट्ने जाली फटाहाहरूका बिरुवामा मलजल हाल्ने काम गरिरहे ।

कोट्याउनुपर्ने बिषय धेरै छन् । पुरानो घाउ कोट्याएपछि निको पारिएन भने ढिलो चाँडो अलग कुरा बल्झिने निश्चित नै छ । आफुलाई पानी माथिको ओभानो सावित गर्ने अभिप्रायले कोही निर्दोशमाथि अन्याय नहोस् । राजा शासन अन्त्य भएपछी जनता अब देशमा सुशासनको लहर आउनेमा विस्वस्त थिए । राजा विदा भए, देश लुट्ने नवधनाड्य छोटे राजाहरू धमाधम उम्रिए । पहिले होस् या अहिले राजनीतिबाट नेपाली जनताले असन्तुष्टिबाहेक केहि पाउने सकेनन् । त्यसैले त यदाकडा महेन्द्र मल्लको सम्झना मानसपटलमा आइरहन्छ ।