• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:०५

नेपालको प्रजातान्त्रिक समाजवादको धार हराएकै हो ?

  • Netizen Nepal
  • सोमबार, १८ भदौ, २०८०- १६:२२:००/ Monday 09-04-23

रामकृष्ण पोखरेल 
समाजवादको हाँगा बिंगा १८ औं शताब्दीको अन्त्यतिर समाजवादी चिन्तक तथा महान दार्शनिक कार्ल मार्क्सले प्रतिपादन गरेको साम्यवाद समाजवाद र औद्योगिक क्रान्तीका प्रतिपदकको सम्झना हामी सबैलाई मे ०५ का दिन उनको जन्म जयन्ती मनाएर सम्झिने प्रचलन विश्वव्यापी रूपमा रहेको छ । 

१९ औं र २० औं शताब्दीतिर सामन्तवाद, पुँजीवाद र साम्यवादको विचारबाट थिचिंदै गर्दा  र दोस्रो विश्व युद्धबाट थलिएको विश्वलाई नयाँ विचार र नयाँ सोचबाट विश्वलाई एउटै लय र तालमा ल्याउन केहि देशहरूको पहलमा असंलग्न आन्दोलनमा सामेल गराउन एसियाली र अफ्रिकी देशका नेताहरूको पहलमा सन् ६० को दशकतिर यो आन्दोलनले आकार लिंदै गर्दा झन्डै ६० भन्दा बढी देशहरू एक थलोमा उभिइ दुई ध्रूविय ( एउटा ध्रुवको नेतृत्व अमेरीकाले गरेको र अर्को ध्रूवको साम्यवादी विचारको विस्तार गर्न अगाडी बढेको तत्कालिन सोभियत संघले नेतृत्व लिएको) अवस्थामा विश्व विभाजित भएको थियो । अतः यो दुई ध्रूविय वैश्विक परिवेशमा प्रजातात्रिक समाजवादले दोस्रो युद्ध पछि आफ्नो विचारलाई विस्तार गर्ने प्रयास भएको देखिन्छ । यस अर्थमा यो पंकतिकारले गीताको एउटा श्लोकको स्मरण गराउँछ ।  जुन श्लोक महाभारतको युद्ध भुमिमा श्री कृष्ण भगवानले अर्जुनलाई युद्ध गर्न उत्प्रेरणा दिन भनेको भाष्यलाई उद्रित गरिन्छ ।  
          यदा यदा हि धर्मस्य ग्लानिभवति भारत  !
         अभ्युत्थानम धर्मस्य तदात्मनं सृजाम्हम !!

यो श्लोकले तत्कालिन विश्वलाई पनि सन्देश  दिन खोजेको परिणाम असंलग्न आन्दोलनमा विश्वका विभिन्न देश एकजुट हुंदै गर्दा प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने विचारकहरू पनि हाम्रो समाजमा देखिन थालेका हुन् । यी विचारकहरूमा भारतका डा. राम मनोहर लोहिया, नेपालका श्री विश्वेश्वर प्रसाद कोईराला, इजरेलका गोल्डा मेयरहरू अग्रणी स्थानमा देखिएका थिए । यसरी नै जर्मनका विल्ली ब्रान्ट त्यसरी नै चिल्ली, ग्वाटेमाला आदि देशमा पनि प्रजातान्त्रिक समाजवादका अनुयायीहरू सत्तामा गइ यस विचारवाट समाज र देशलाई समाजिक र आर्थिक रूपमा अगाडी बढाउन प्रयास गरेको देखिएको छ । माथि उल्लेख गरेका विचारक र अभियन्ताहरू बाहेक दर्जनौं प्रजातान्त्रिक समाजवादका विचारक र अभियन्ताहरू आ-आफ्नो लेखन र विचारबाट समाजमा स्थापित हुने प्रयास गरेको पनि देखिन्छ । नेपालमै पनि नेका नेता प्रदिप गिरी, वामपंथि नेता पुष्पलाल श्रेष्ट लगाएत दर्जनौ राजनितिक र बुद्धजिवी विचारकहरू समय समयमा देखा पर्ने गरेका छन् ।

खेत बारीको डिललाई समाएर नेपालका समाजवादी र साम्यवादीहरु भोलि होईन आजै मुलुकलाई समाजवादको नीतिमा दोहोर्याउँछौं भन्ने कर्णप्रिय शब्दहरू नेपालको संघिय गणतात्रिक संविधान जारि भएदेखि नै नेताहरूको भाषणमा सुन्ने गरेको कर्णप्रिय शब्दहरू नै  यहि हो । 

यहि समयमा महान अहिंसाका प्रतिपादक भगवान बुद्धले भने जस्तो ‘ आफ्नो बत्तीको दियो आफैं बन’ अर्थात समाजमा आफु चारित्रिक बन, आफुमा करूणा जागृत गराउ, आफुमै समता र समानता रहेको अनुभुति समाजलाई गराउँन आफैंबाट सुरू गर भन्ने प्रेरणा दिनु भएको कुरा हाम्रो मानस पटलमा घुमिरहन्छ । यस अर्थमा कर्णप्रिय भाषण भन्दा बुद्धले भने जस्तै 'आफ्नो बत्तीको दियो आफैं बन' भने अर्ति हाम्रो देशका नेता तथा राजनैतिक व्यक्तित्वहरूलाई चसक्क गडोस् भन्ने आम जनताको माग रहेको छ ।

नेपाली समाजमा वर्ण व्यवस्था- अर्थात चार वर्ण: ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको व्यवस्था र यसै भित्रका जात जातीहरूको विभाजन नै समाजवादको विचार, नीति र कार्यनीति लागु गर्ने बाधक हुनु भन्ने हाम्रो बुझाइ छ । यो वर्ण व्यवस्थाबाट उच-निच र छुवाछुतको पुरातन व्यवस्था नै समाजवाद र प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्न बाधक नै हुन् भन्ने ठम्याई  छ । यसमा गहन अध्यनको जरूरी पनि छ भन्ने यो पंक्तीकारलाई  लागेको छ । 

भारतका समाजवादी सिद्धान्तका हस्तीको रूपमा नेपाल र भारतमा पहिचान बनाएका डा. राम मनोहर लोहियाको नाम पनि जोडिन्छ । भारतको स्वतन्त्रता पश्चात भारतको संसदमा प्रतिनिधित्व गर्ने डा. लोहियाले समाजवादको नीति र शिद्धान्तको वकालत गरेता पनि भारतका तत्कालिन सरकारलाई समाजवादी बाटोमा डोर्याउन सक्नु भएको थिएन । यसको धेरै कारणमध्ये वर्ण व्यवस्था पनि एउटा बाधक रहेको थियो भन्ने बौद्धिक ठम्याइ छ । नेपालमा पनि डा. लोहियाका अनुयायीहरु पनि थिए तर त्यस सिद्धान्तलाई सामाजिक समानताका लागी प्रयोग गर्न र समाजलाई आर्थिक रूपमा समृद्धि स्तरमा लग्न नेतृत्वमै जान चाहेनन् अथवा जानै सकेनन् । 

भारतकै तत्कालिन प्रधानमन्त्री श्री लाल बहादुर शास्त्री सन् २०६४ मा प्रधानमन्त्री भएपछि प्रजातान्त्रिक समाजवादको प्रयोग भारतका साना किसान र मझौला उद्यमीहरुलाई राज्यको तर्फबाट विशेष सुविधा प्रदान गर्ने नीतिहरू अवलम्बन गरि अगाडि बढाएका थिए । यसरी नै इजरायलका तत्कालिन प्रधानमन्त्री गोल्डा मेयरले पनि प्रजातान्त्रिक समाजवादको नीति अवलम्बन गरि इजरेलीलाई एकतावद्ध गराउन सफल भएको चर्चा परिचर्चा समाजवादी बृतमा हुने गरेको पाइन्छ । 

नेपालका राजनेता श्री विश्वेश्वर प्रसाद कोईरालाले पनि इजरेल, भारत, तत्कालिन बर्मा ( हालको म्यानमार) मा अवलम्बन गरेको समाजवादी नीतिहरुलाई नजिकबाट नियाल्नु भएको थियो । यी मुलुकहरूको समाजवादी नीति र कार्यनीतिलाई आफ्नो समाजको संरचना र लामो समयसम्म नेपालको राज्य सत्ता र श्रोत र साधनमा सामन्ती समाजको पकडमा रहेको कुरा बुझेर नै होला नेपाली समाजलाई १५ बर्षको समय सिमा तोकेर नै समाजिक र आर्थिक परिवर्तन ल्याउने हिसाबबाट एक हल गोरू, एउटा दुहना गाई/ भैंसी र सबैलाई शिक्षा र स्वास्थको पहुचमा पुर्याउने अठोट गरेर आफ्नो नेत्रितयको एकमना सरकार डोर्याउने प्रयासगरेको कुरा हाम्रा अगाडी समय समयमा आउने गर्छ । १०४ बर्षे राणाकालको रैति सरकारलाई विस्थापित गरि नेपाली समाजलाई अधुनिक विकासको जगमा उभ्याउन नै  नेपाली समाजलाई आर्थिक रूपान्तपण गर्न हरेक नेपालीको घरमा ‘एक हल गोरू एउटा दुहना गाई/भैंसी का साथै बाल बलिकाहरुलाई स्कुले शिक्षामा पहुँच र नेपालीलाई सरल र शुलभ तरिकाबाट स्वास्थ सेवामा पहुँच बढाउने उद्धेश्य राखि काम गर्ने अठोट रहेको कुरा श्री कोईरालाले समय समयमा आफ्ना संस्मरणहरूमा लेखेको र भनेको पाइन्छ । 

नेपालको वर्तमान संघिय गणतान्त्रिक संविधानले नेपाली समाजको सामाजिक समानता, सामाजिक न्याय र समृद्धिका लागी समाजवादको शब्द र उच्चारण वर्तमान संविधानमा आलंकारिक नै छ भनेमा अत्युक्ती हुने छैन । नेपालमा पुराना पाका र ग्रामिण समाजमा जन्मेका हुर्केका व्यक्तिहरु प्राकृतिक (organic) थिए भन्दा अन्यथा हुने छैन भन्ने सो पंतिकारलाई लागेको छ । यो पंकतीकार पनि जन्मिदा दुर्गम ग्रामिण भेगमा न  कुनै अस्पकाल नै थियो, न कुनै हेल्थपोष्टनै थियो । फगत गाउँ समाजकै पाका महिलाहरू मिलि जुलि सुत्केरी गराएर म जस्तै लाखौं नेपालीहरू यो धरातलमा ( विश्व) आएका थिए । आधुनिक स्वास्थ सेवा, जीवनयापनका लागि खेतबारी पनि नहुँदाको अवस्थालाई नजिकबाट नियालेर नै होला । विपी कोईरालाको समाजवादको जामालाई  २१औं शताब्दीको प्रजातान्त्रिक समाजवादलाई परिष्कृत गर्न समयको माग रहेको छ । 

सरोकारवालाहरूले प्रजातान्त्रिक समाजवादको रोडम्याप तयार गर्न सक्नु पर्छ भन्ने ठम्याई यो पंक्तिकारको पनि रहेको छ । vision, mission र achievement केके हुन तिनीहरूको  सुचांक खुट्टाई जिम्मेवार समुह वा दल विशेषलाइ गिदी मंथन गरेर अगाडी बढे संविधानको समाजवाद उन्मुख सामाजिक र प्रशासनिक संरचनातर्फ सरकार र सरोकारवाला दलहरूको प्रयासबाट नेपाल र नेपालीको समाजलाई समृद्धितर्फ डोर्याउन सक्नेछन् । 

नेपालको संविधानले समतामुलक समाजको परिकल्पना गर्दै गर्दा यो पंकतीकार दक्षिण एसियाली देशहरूमा सबै प्रकारका गरिबी उन्मुलनका लागी संयुक्त राष्ट्रिय विकास कार्यक्रमको (South Asian Poverty Alleviation Program- SAPAP) संग आबद्ध हुँदै गर्दा समग्र समाजिक परिचालन (Wholistic Socialization Mobilization ) को विधिबाट दक्षिण एसियाली देशहरूमा सामाजिक परिचालनको विधि र मन्त्रलाई अवलम्बन गरि गाउँ गाउँमा वृहत सामुदायिक समुहहरू गठन गर्ने जसमा गाउँमा बसोबास गरेका सबै जात जाती र सबै वर्गका महिला एवं पुरूषहरूलाई आ-आफ्ना समुहमा आवद्ध गराइ  गरिब र धनी र उचनिचलाई वेपरवाह  गरि पुरूष र महिलाहरू एक अर्कोको पुरकको रूपमा काम गर्न गराउन प्रेरणा दिने गर्थ्यो । 

यिनै सामुदायिक समुहरूमा विभिन्न पेशा, क्षमता र समाजमा पृथक पृथक क्षमता धारकहरूको पहिचान गरि गाउँको सामुदायिक समुह भित्र पनि उपसमुहहरु बनाइ सामाजिक समानता र समृद्धिको लागी गाउँका अगुवाहरूको छनौट गर्न सामुदायिक समूहहरूले आफैं आफैं छनौट गर्ने गर्दथे । यसमा कुनै पद र वर्गसंग पूर्वाग्रह राख्दैनथे । यो समाजिक अभियानबाट नै समग्र गरिबी निवारणको कार्यक्रमको विस्तार दक्षिण एसियाली देश - नेपाल लगायत भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, मालदिभ्स समेतमा संचालित थियो । यस अर्थमा यो समग्र सामाजिक परिचालन ( Wholistic Socialization Mobilization) को नमुना (model) ले हाम्रो समाज भारत समेत वर्ण व्यवस्था र जड सुत्रीय, जातिय व्यवस्थालाई क्रमशः कम गर्दै गरेको अनुभव यो पंक्तीकार लगायत गरिबी निवारणमा लागेका हजारौं अभियानताले महशुस गरेको थियो ।

समाजवाद अभियानलाई जतिय र वर्गीय जड सुत्रबाट बाहिर ल्याई समतामुलक,  समावेशि र समृद्धशाली नेपाली समाज बनाउन पुरातन डा. राम मनोहर लोहिया अथवा कार्ल मार्क्सको जडसुत्रवादी समाजवादको पुनरावलोकन गरि नयाँ प्रजातान्त्रिक समाजवादको बाटोमा नेपाली समाजलाई डोहोर्याउन सक्ने नेता र राजनेताको खाँचो छ । 

दक्षिण एसियाली देशहरूमा सन् नब्बेको दशकमा प्रयोग गरिएको नमुना सामाजिक परिचालन विधिलाई अगाडी बढाउन सन सत्तरीको दशकमा विपी कोईरालाले खुट्याएको प्रजातान्त्रिक समाजवादलाई समेत आधार मानि यसको भिजन, मिसन र लक्ष्यको रोडम्याप तयार पारी काम गर्नुपर्ने बुद्धजिवीहरूको ठम्याई छ । अब नेपालका राजनितीक दलका नेता कार्यकर्ता एवं बुद्धिजीविहरूले आ-आफ्नो तह र तप्काबाट गिदी मंथन गरि परिष्कृत प्रजातान्त्रिक समाजवादको  नीति कार्यनीति बनाउनुपर्ने भएको छ । नेपालको संघिय गणतान्त्रिक संविधानको उल्लेखित समाजवादको अभियानलाई नेपाली समाजका लागि सार्थक बनाउन सबै नेतृत्वदायी दलहरूले आ-आफ्नो ठाउँबाट प्रजातान्त्रिक समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्छ भन्ने आम बुझाइ रहेको छ ।