नेपाली कांग्रेसले आफ्नो शाख जोगाउन के गर्नुपर्छ ?
- रामकृष्ण पोखरेल
- सोमबार, ११ मङ्सिर, २०८०- ११:००:००/ Monday 11-27-23

काठमाडौं । नैतिकता र अनैतिकताको अर्थ र आख्यानहरू असंख्य छन । तर यो पंक्तिकारले केहि सिमित अर्थहरूलाई समेटी नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता एवं पार्टीका उच्चपदस्थ पदाधिकारीहरूलाई केन्द्रमा राखी पार्टीको स्थापनाकाल देखिका ऐतिहासिक दस्तावेजलाई आधार मानेर केहि टिप्णी गर्ने घृष्टता गरेको छ ।
नैतिकताको अर्थ नीतिपुर्ण मार्गको अवलम्बन गर्नु र नीति नियमको पुर्ण रूपमा पालना गर्नु गराउनु नै पार्टीको मुल उद्धेश्य हुनुपर्छ भन्ने आम बुझाई रहेको छ । यसको अर्थ आफ्ना र अर्कासंग कस्तो कस्तो कस्तो व्यवहार गर्छौं भन्ने कुराप्रति पार्टीका उच्चपदस्थ पदाधिकारीहरू संवेदनशिल र सचेत हुनुपर्छ भन्ने आम कार्यकर्ता र शुभेच्छुकहरूको रहने गर्दछ ।
यदि पार्टिको नेतृत्व चरम स्वार्थी भयो भने महाभारतको चरम स्वार्थी पात्र धृतराष्ट्र हुन जान्छ । “मै खाउँ, मै लाउँ, सुख सयल वा मोज म गरूँ“ भन्ने कवि शिरोमणी लेखनाथ पौड्यालको कविताको भावजस्तै पार्टीका नेता तथा उच्चपदस्थ पदाधिकारीहरूले यो मोज गर्ने र आफ्नालाई पोस्ने प्रवृति त्याग गर्नै पर्छ । यो लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो ।
पारिवारिक विरासतको जगमा बनेको एकतन्त्रिय राणा शासनको शासन सत्ता फाल्न उद्धत नेपाली समाजले आ-आफ्ना कालका राजनेताहरूलाई साथ दिंदै गर्दा वर्तमान नेपाली कांग्रेसको स्थापना तत्कालिन बेलाको नेपाली कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस यी तिनै दलहरू चैत २७ गते २००६ सालमा एकिकरण गरी एकतन्त्रिय राणा शासनका विरूद्ध क्रान्तिको बिगुल फुकेका थिए ।
यो पार्टीको एकिकरण उच्चपदस्थ नेता र नेताहरूको उच्च नैतिक बल भएका नेताहरूको आह्वानमा क्रान्ती सफल भएको थियो । नेपाली कांग्रेसका नेताहरूको आदर्श र उच्च नैतिकताको मार्गलाई नेपाली जनताले विश्वास गरी तीन तीन पटकसम्म एकलौटी सरकार बनाउन नेपाली कांग्रेसले जनमतबाट अधिकार पाएको थियो ।
२००७ सालमा राणा र नेपाली कांग्रेस बिचको सम्झौता पश्चात् मोहन शमशेरको नेतृत्वमा बनेको राणा र नेपाली कांग्रेसको सरकार ढलेपछि नेपाली कांग्रेसका नेता मातृका प्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । तर तत्कालिन राजशाही र नेपाली कांग्रेसका बीच चुनाव कस्को गर्ने संविधान सभा वा सार्वभौम संसदको भन्ने विवादमा झन्डै ७ वर्षको समयसम्म आम चुनाव नहुँदा जनताद्वारा निर्वाचित सरकारको गठन नै हुन सकेन ।
अन्ततः नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको नेतृत्वको सरकारले २०१५ साल फागुनमा संसदको चुनाव सम्पन्न गरी नेपाली कांग्रेसले अपार सफलाता प्राप्त गरेसंगै नेपाली कांग्रेसका जननेता विश्वेस्वर प्रसाद कोइरालाको नेतृत्वमा २ तिहाई जनमतको सरकारले जनपक्षिय कार्य गर्दै गर्दा तत्कालीन राजशाहीले हठात रूपमा जनप्रतिनिधित्व गरिरहेको सरकारलाई सत्ताच्युत गरी एकतन्त्रिय राजशाही सत्ता देशमा थोपर्ने कार्य गरी सरकारका प्रधानमन्त्री, मन्त्री, नेता कार्यकर्ता एवं शुभेच्छुकहरू समेतलाई जेल र नेलमा राखी अपार यातना र प्रताडित गरि देश र जनतालाई अन्धकारमा राखी शासन गरे ।
यस अवधिभरिमै नेपाली समाजमा प्रजातान्त्रिक संस्कारको विकास हुन सकेन। यसै कारणले नेपाली समाज आज पर्यन्त पनि सामन्ती संस्कारबाट मुक्त हुन सकेका छैन। २०१७ पौषको गैर संवैधानिक कदमको विरुद्ध २०१७ साल देखि नेपाली कांग्रेस पार्टीली त्रिकोणात्मक आन्दोलनको नीति अवलम्बन गरी एउटा कोंणमा सुवर्ण शमशेर जसले तत्कालिन राजशाहीसंग वार्ता र समझदारी बनाउन प्रयासरत रहने, नेता कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा नेपालभित्रै बसेर अहिंसात्मक आन्दोलन गर्ने र विद्रोहका लागि विभिन्न पेशागत संगठनहरू परिचालन गर्ने गराउने नीति थियो। यता जननेता श्री विश्वेस्वर प्रसाद कोईराला निर्वासनमा रही राज्य सत्ताको विरूद्ध सशस्त्र विद्रोह र विदेशी कुटनीतिक पहल र समन्वय गरि प्रजातन्त्रको पुनर्वहाली गर्ने नैतिक जिम्मेवारी लिने गरेको इतिहास हाम्रो सामु रहेको छ ।
मुलुकमा सुधार र नैकिकताको जग स्थापना गर्न सफल नेपाली कांग्रेसका नेताहरूको योगदानलाई पछ्याउँदै गरेका नेपाली कांग्रेसका कार्यकर्ता, बुद्धिजीवी र शुभेच्छुकहरूका बिच हिजो आज खासै उत्साह देखिने गरेको छैन । साना साना बिरोधको झिल्काहरू संग पनि नेपाली कांग्रेसको नेतृत्व डराउनु पर्ने परिस्थिती सृजना गर्ने गराउनेको त इमान्दार नेता, कार्यकर्ता, इमान्दार बुद्धिजीवी र शुभेच्छुकहरूले खुट्टाउनु पर्ने समय आएको छ । मै खाउँ, मै लाउँ, मेराले नै सुखशयल गरुन भन्ने मनोकांक्षाबाट संघिय लोकतन्त्रका मुलधारका पार्टीका उच्चपदस्थ नेताहरू ग्रसित देखिएका छन । चाहे त्यो नेपाली कांग्रेस होस्, चाहे नेपाल कम्सुनिष्ट पार्टि ( एमाले), चाहे त्यो माओवादी केन्द्र ।
यी सबै दलका उच्चपदस्थ नेतागणमा चरम नैतिक ह्रासका कारण आम नेपालीले दुखः कष्ट र पिडा भोगिरहेका छन् । यीनै दलहरूले सिन्डिकेट बनाई मनमौजी निर्णयहरू गरी नेपाली जनताको थाप्लोमा बजारिरहेको आम नेपालीले महसुस गरिरहेका छन् । नव उदय भएका दलहरू पुराना दलका किनाराका साक्षीको रूपमा काम गरिरहेको आम बुझाई छ ।
गणतान्त्रिक नेपालको मुलधारका तीन पार्टीहरू उस समयको भुमिकाको ब्याज र स्याज खाँदै गर्दा वर्तमान व्यवस्थाको विरुद्ध जालो (ढोक्सा) थाप्दा नेकाहरू अत्तालिएका छन । यसको मुलकारण यी संघीय गणतन्त्रको स्थापनाकालमा आफुले गरेका बाचा, व्यवहार, कर्मबाट चुक्दै जाँदाको परिणाम हो भन्ने बौद्धिक ठम्याई रहेको छ । अतः यी नयाँ र पुराना दलको सिन्डिकेट भत्काउन इमान्दार, निष्ठावान र चारित्रिक स्वच्छता भएका नेता कार्यकर्ताहरू आ-आफ्नो दल विशेषमा परिवर्तनको चाहना राखी आजैदेखि संघर्ष गर्नुपर्ने समय आएको छ ।
नत्र गाडिएको भुत र यसका नन्दी भ्रिंगीहरूले मुलुकमा अस्थिरता सृजना गरी गणतन्त्रलाई नै खोपामा नपुर्याउलान् भन्न सकिन्न । नेपाली युवा युवतीहरू परिवर्तनका संवाहक हुन् भन्ने कुरा स्थापित गर्न आ-आफना दल विशेषमा परिवर्तनको जत्था तयार गरौं भन्ने आम युवा युवतिहरूको माग रहेको छ । लोकतन्त्रको जग - बलियो र स्वच्छ लोकतन्त्रवादी व्यक्ति एवं समुहमा अडेको हुन्छ ।