• आइतबार, ३० असार, २०८१
  • १०:३३:४९

विश्वभर मोटा मानिस कति छन् ? 

काठमाडौं । विश्वमा प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । द लान्सिट जर्नलमा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क अनि १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ ।

सन् १९९० को तुलनामा बालबालिकामा मोटोपना हुने दर चार गुनाले अनि वयस्कहरूमा दुई गुनाले बढेको अनुसन्धानले देखाएको छ । मोटोपना बढेको उच्च गतिप्रति अनुसन्धानकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन्।

अमेरिकामा ४० प्रतिशत मानिसको वजन धेरै

वजन धेरै भएका मानिसहरूको अनुपात अमेरिकामा कुल जनसङ्ख्याको ४० प्रतिशत पुगिसकेको छ । क्यारिबिअन तथा प्यासिफिक क्षेत्रका टापु देशहरूमा जनसङ्ख्याको ६० प्रतिशत मानिसमा मोटोपनाको समस्या देखिएको बताइएको छ।

सबभन्दा धेरै मोटोपना भएका महिला टोङ्गा र अमेरिकन समोआमा अनि पुरुष चाहिँ अमेरिकन समोआ र नाउरुमा पाइएका छन्। ती देशमा ७०-८०% वयस्क मानिसहरूमा मोटोपना छ।

द लान्सिटमा प्रकाशित अध्ययनअनुसार पुरुषहरूमा मोटोपनाको अनुपात हेर्दा संयुक्त राज्य अमेरिका विश्वमा दशौँ स्थानमा रहेको छ भने महिलाहरूको हकमा ३६औँ स्थानमा छ।

उक्त सूचीमा पुरुषहरूमा कम मोटोपना भएका देशहरूमध्ये भारत २१औँ अनि चीन ५२औँ स्थानमा छन्। महिलाको हकमा भारत १९औँ अनि चीन ११ औँ स्थानमा छन्।

वरिष्ठ अनुसन्धानकर्ता तथा इम्पेरिअल कलेज लन्डनका प्रा मजिद इजाटीले बीबीसीसँग भने: “यी कैयौँ टापु देशहरूमा स्वास्थ्यकर एवं अस्वास्थ्यकर खानाको उपलब्धता मुख्य विषय देखिएको छ।” “कतिपय ठाउँमा स्वास्थ्यरक खानाको लागत र उपलब्धतामा समस्या भए पनि अस्वास्थ्यकर खानाको आक्रामक विज्ञापन भएका पाइन्छ ।” संसारभरिका वर्षौँको तथ्याङ्क अध्ययन गरिरहेका प्रा इजाटीले मोटोपना फैलिएको गतिले आफू छक्क परेको बताए।

अहिले धेरै देशका निम्ति मोटोपना समस्या बन्दै गएको छ भने कम वजनका समस्या झेल्ने देशहरूको सङ्ख्या चाहिँ घट्दो छ । कम वजन वा कुपोषण भएका वयस्कहरूको सङ्ख्या करिब ५० प्रतिशतले घटेको अनुसन्धानमा उल्लेख छ। तर पनि केही गरिब समुदायमा कम वजनको समस्या गम्भीर रहेको उसले औँल्याएको छ ।

नियन्त्रण आवश्यक

मोटोपनाका कारण कैयौँ स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन सक्छन्। तिनमा मुटुरोग, टाइप-टू डाइअबिटिज र केही प्रकारका क्यान्सर पर्छन् । द लान्सिटमा छापिएको अनुसन्धानले सन् १९९० देखि सन् २०२२ सम्मको तथ्याङ्क केलाएको छ।अनुसन्धानकर्ताहरूले यो अवस्था नियन्त्रण गर्न थप कदम चाल्न आग्रह गरेका छन्।

स्वास्थ्यकर खानालाई सुलभ बनाउन अनि शारीरिक गतिविधि बढाउन प्रोत्साहन गर्न विश्व स्वास्थ्य सङ्गठनले आह्वान गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानम गेहब्रेयससले भने, “यो नयाँ अध्ययनले मोटोपनाबाट जोगिन जीवनको प्रारम्भिक कालदेखि वयस्क हुँदासम्म नै उचित आहार, शारीरिक क्रियाकलाप, र हेरचाह महत्त्वपूर्ण हुने औँल्याएको छ।”

यसको निम्ति सरकार तथा समुदायहरूका साथै निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको उनले बताए। “निजी क्षेत्र पनि तिनका उत्पादनका स्वास्थ्य असरबारे उत्तरदायी हुनुपर्छ।”

अध्ययनमा सहभागी अनुसन्धानकर्ता मद्रास डाइअबिटिज रिसर्च फाउन्डेशनकी डा गुहा प्रदीपाले धेरै र कम वजनका समस्यालाई अहिले विश्वले झेलिरहेका अन्य चुनौतीले झन् बढाइदिने उल्लेख गरिन् । “जलवायु परिवर्तन, कोभिड-१९ महामारीले ल्याएका उथलपुथल तथा युक्रेन युद्धजस्ता विषयले गरिबी बढाइदिने तथा स्वास्थ्यकर खानाको लागत बढाइदिने हुँदा त्यसले मोटोपना वा कुपोषण दुवैथरी समस्या चर्काइदिन सक्छन्,” उनले भनिन्। “यसका अन्य प्रभाव भनेको केही देश वा परिवारमा खानाको अभाव हुनु र कम स्वास्थ्यकर खानाको उपभोग बढ्नु हुनसक्छ।”

डब्ल्यूएचओसँगको समन्वयमा १,५०० अनुसन्धानकर्ताहरूले विश्वभरिका पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको वजन र उचाइ अध्ययन गरेर उक्त प्रतिवेदन बनाइएको हो । उनीहरूले वजन र उचाइको अनुपात नाप्ने 'बडी मास इन्डेक्स' (बीएमआई) को प्रयोग गरेका थिए । बीबीसी ।