• बुधबार, २ माघ, २०८१
  • ११:००:५७

के बुध ग्रह 'उल्टो दिशातिर जाँदा' हामीलाई असर गर्छ?

काठमाडौं । प्रत्येक वर्ष तीन वा चार पटक सामाजिक सञ्जालमा बुध ग्रहको चर्चा हुने गर्छ। तर नयाँ वैज्ञानिक तथ्य पत्ता लागेको वा अन्तरिक्ष अभियान सञ्चालन हुन लागेको भएर त्यसो हुने होइन।


उक्त ग्रह 'वक्र चालमा' पुग्दा वा 'उल्टो दिशातिर' लाग्दा ज्योतिषशास्त्रमा विश्वास गर्ने मानिसहरू 'दुर्दशा' निम्तिने ठान्छन्। त्यही विषयमा धेरैले रुचि देखाउँछन्।  

बाटोमा कुदेका दुइटा गाडीमध्ये तीव्र गतिमा रहेको गाडीबाट हेर्दा अर्को गाडी पछाडि सरे जस्तो देखिनु र पृथ्वीबाट हेर्दा बुध उल्टो दिशातिर गएको देखिनु समान कुरा हुन्।

 

बुध ग्रह सूर्यसँग सबैभन्दा नजिक भएको ग्रह हो। यो हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो ग्रह पनि हो। "बुध वक्री" एउटा स्वाभाविक र निरन्तर भइरहने खगोलीय घटना हो। वक्री हुँदा उक्त ग्रह अन्य ग्रहका मार्गसँग तुलना गर्दा आफ्नो स्वाभाविक मार्गभन्दा उल्टो दिशातिर गएको देखिन्छ।

यस्तो घटना सौर्यमण्डलमा भएका सबै ग्रहमा हुन्छ। ग्रहहरूले भिन्नभिन्न गतिमा सूर्यलाई परिक्रमा गर्ने हुँदा त्यसो हुन पुग्छ।

वक्री हुँदा बुध ग्रह आकाशमा उल्टो दिशातिर लागे जस्तो देखिन्छ। पृथ्वीबाट हेर्दा त्यस्तो दृष्टिभ्रम हुन्छ। पृथ्वी र बुधले सूर्यलाई फरक गतिमा परिक्रमा गर्दा बुध उल्टो बाटोमा देखिन पुग्छ।

बुधले पृथ्वीले भन्दा चाँडै सूर्यको फन्को मार्छ। पृथ्वीलाई उछिनिसकेपछि बुध उल्टो दिशातिर लागे जस्तो देखिन्छ। यद्यपि बुध आफ्नै कक्षमा रहेर सूर्यको परिक्रमा गरिरहेको हुन्छ।

बाटोमा कुदेका दुइटा गाडीमध्ये तीव्र गतिमा रहेको गाडीबाट हेर्दा अर्को गाडी पछाडि सरे जस्तो देखिनु र पृथ्वीबाट हेर्दा बुध उल्टो दिशातिर गएको देखिनु समान कुरा हुन्।

पृथ्वी र बुधले यसरी सूर्यको परिक्रमा गर्छन्

यो खगोलीय घटना हजारौँ वर्षदेखि देख्दै आइएको छ। पूर्वीय र पाश्चात्य ज्योतिषशास्त्रीहरू बुध ग्रह वक्री हुँदा हाम्रो जीवनमा नराम्रो प्रभाव पर्ने मान्यता राख्छन्। 

एक वर्षमा बुध ग्रह तीन वा चार पटक वक्री हुन्छ। प्रत्येक पटक त्यसको अवधि तीन साताजति हुन्छ। अर्थात् एक वर्षमा एकचौथाइभन्दा कम समय बुध उल्टो चालमा देखिन्छ।   

ज्योतिषशास्त्रले इस्लामिक संस्कृतिमा ग्रीक परम्पराको बाटोबाट प्रवेश पायो। अनि मध्यकालतिर अरबी भाषा सिक्ने रुचि बढेपछि युरोपेली समाजमा त्यो फर्किएको 'इन्साइक्लोपिडिआ ब्रिटानिका'ले उल्लेख गरेको छ।

 

यो वर्ष (सन् २०२४ मा) बुध ग्रह एक पटक वक्री भइसकेको छ। यूकेलाई आधार मान्दा बुध ग्रह तीन पटक वक्री भएको देखिने अवधि -

  • एप्रिल १ देखि २५
  • अगस्ट ५ देखि २५
  • नोभेम्बर २६ देखि डिसेम्बर १५

तर विश्वका विभिन्न स्थानमा समय भिन्न हुने भएकाले दिन यताउता पर्न सक्छ।

खगोलशास्त्र र ज्योतिषशास्त्रको सम्बन्ध

"विगतमा खगोलशास्त्र र ज्योतिषशास्त्रको धरातल नजिकै भएको भए पनि अहिले वक्रीजस्ता खगोलीय घटनाबाट मानिसको जीवनमा देखिने खालको कुनै प्रभाव पर्दैन भन्ने वैज्ञानिक मान्यता छ," खगोलविद् धारा पटेल भन्छिन्। उनी यूकेको लाइस्टरस्थित न्याश्नल स्पेस सेन्टरमा कार्यरत छिन्।

वैज्ञानिक प्रमाण नभए पनि मानिसहरू यो खगोलीय वा ज्योतिषीय घटनाको विषयमा विद्यमान परम्परागत धारणाप्रति विश्वास गर्छन्।

खगोलशास्त्रले ब्रह्माण्डको रहस्य बुझ्न खगोलपिण्डहरू तथा भौतिक, रासायनिक र गणितीय प्रक्रिया वा घटनाको अध्ययन गर्छ। फलित ज्योतिषशास्त्रले भने विभिन्न राशि, ग्रहगोचर र नक्षत्र आदिबाट मानिसमा पर्ने प्रभावको अध्ययन र अनुमान गर्छ।

प्राचीन मेसोपोटामियामा इसापूर्व तेस्रो शताब्दीतिर ज्योतिषशास्त्रको उदय भएको र त्यहीँबाट प्राचीन भारतीय सभ्यतामा त्यसले प्रवेश पाएको ठानिन्छ। वैदिक परम्परामा ज्योतिषलाई वेदको अङ्ग मानिन्छ र अहिले पनि धेरै सर्वसाधारण मानिसका संस्कार र जीवनमा ज्योतिषशास्त्र अनुसरण गरिन्छ।

प्राचीन ग्रीस पुगेपछि पाश्चात्य ज्योतिषशास्त्र अहिलेको स्वरूपमा आएको ठानिन्छ।

ज्योतिषशास्त्रले इस्लामिक संस्कृतिमा ग्रीक परम्पराको बाटोबाट प्रवेश पायो। अनि मध्यकालतिर अरबी भाषा सिक्ने रुचि बढेपछि युरोपेली समाजमा त्यो फर्किएको 'इन्साइक्लोपिडिआ ब्रिटानिका'ले उल्लेख गरेको छ।

आधुनिक कालमा ज्योतिषशास्त्र

आधुनिक विज्ञान मान्नेहरूले फलित ज्योतिष र राशिफललाई 'छद्मविज्ञान' भन्छन्। तर ज्योतिषशास्त्रलाई पत्याउने मानिसहरू विभिन्न ग्रह, तिनको स्थान र चालले हाम्रो दैनिक जीवन, भावना, विचार, भविष्य र भाग्यमा प्रभाव पार्ने विश्वास गर्छन्।

प्राचीनकालमा सङ्गठित भएर बस्न थालेपछि मानिसहरूलाई मौसम कस्तो हुन्छ, वर्षा कहिले हुन्छ, आर्द्रता वा तापक्रम कस्तो हुन्छ, हावा र घाम लाग्छ कि लाग्दैन जस्ता कुरा थाहा पाउन आवश्यक भयो। आफ्नो अस्तित्वका लागि पनि ती कुराको ज्ञान हुनुपर्थ्यो।

ग्रीकहरूले बुध ग्रहलाई भाग्य, रक्षा, उर्वरता, सङ्गीत र छलका आफ्ना देवता हर्मीजसँग जोडिदिए।

रोमन मिथकहरूमा बुधलाई 'मर्करिअस' भनिएको छ। मर्करिअस व्यापार र सञ्चारका देवता हुन् अनि अरू देवताका दूत पनि हुन्। त्यसबाहेक मर्करिअसले पातालमा भएका आत्माहरूलाई मार्गदर्शन पनि गर्छन् भन्ने मान्यता छ।

वैदिक ज्योतिषमा बुधलाई बुद्धि, वाणी, वृद्धि र समृद्धिसँग सम्बन्धित फल दिने ग्रह मानिएको छ। बुध ग्रह सामान्य चालमा हुँदा र वक्री हुँदा जन्मिएका मानिसमा उक्त ग्रहको प्रभाव र स्वभाव विभिन्न अवस्थामा भिन्नाभिन्नै ज्योतिषीहरू बताउँछन्।

'पूर्वाग्रह'

कुनै ग्रह वक्री हुँदा त्यसबाट मानिसमा प्रभाव पर्छ भन्ने वैज्ञानिक प्रमाण छैन। मनोविज्ञानमा प्रचलित सिद्धान्तहरूका अनुसार पूर्वाग्रहका कारण मानिसहरू ज्योतिष वा राशिमा विश्वास गर्छन्। मानिसहरूमा त्यस प्रकारको पूर्वाग्रह प्रायः देखिन्छ। 

 "कतिपय मानिस ज्योतिषलाई मिथ्या भन्छन्," बेइरुतस्थित रेइकी विशेषज्ञ मिरेल हामाल भन्छिन्। "तर ग्रहहरूको प्रभावबारे जान्नु र सतर्क हुनुपर्छ," उनी भन्छिन्, "अनि पूर्णतः लिप्त हुने स्थितिमा नपुगी आफ्नो मान्यतानुकूल के गर्ने वा नगर्ने छान्नुपर्छ।"

 

आफूले मान्दै आएको कुरालाई पुष्टि गर्ने खालका कुरामा मानिसहरूको रुचि हुन्छ। मानिसहरू बलियो प्रमाणबिनै पनि आफ्नो पूर्वाग्रहबाट प्रेरित भएर त्यस्ता कुरामा विश्वास गर्छन् वा तदनुरूप विश्लेषण गर्छन्।

"मानिसहरूलाई सुखद लाग्ने कुरा पत्याउन खोज्छन् अनि मस्तिष्कले सधैँ उक्त कुरा वा स्थितिको विश्लेषण वा पुनः परीक्षण गर्छ भन्ने हुँदैन," मनोविद् जैनब आजमी भन्छिन्। उनले अहिले युक्रेनमा मानिसहरूको मानसिक स्वास्थ्यमा अनुसन्धान गरिरहेकी छन्।

"आफूले भोग्नुपरेका समस्याका वास्तविक सम्भावित कारण र तिनमा भएका विभिन्न पक्षको जाँच वा अनुसन्धान नगरीकनै मानिसहरूलाई ज्योतिषशास्त्रले तत्कालै र सजिलै के हुन सक्छ भनेर भनिदिन सक्छ," उनले भनिन्।

वैज्ञानिक प्रमाण नभए पनि धेरै मानिसहरू ज्योतिषशास्त्रलाई प्रेरणा, मनोरञ्जन र आध्यात्मिक शान्तिको मार्गमा लाग्ने स्रोत मान्छन्।

"कतिपय मानिस ज्योतिषलाई मिथ्या भन्छन्," बेइरुतस्थित रेइकी विशेषज्ञ मिरेल हामाल भन्छिन्। "तर ग्रहहरूको प्रभावबारे जान्नु र सतर्क हुनुपर्छ," उनी भन्छिन्, "अनि पूर्णतः लिप्त हुने स्थितिमा नपुगी आफ्नो मान्यतानुकूल के गर्ने वा नगर्ने छान्नुपर्छ।"

उनी बुध वक्री भएको अवधिमा जीवनमा ठूलो प्रभाव पार्ने कार्य र किनेबेच गर्नु नहुने धारणा राख्छिन्। रेइकी अदृश्य ऊर्जा प्रयोग गरेर उपचार गरिने लोकप्रिय विधि हो। तर यसको प्रभावकारितालाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण भेटिँदैन।बीबीसी।