• मंगलबार, १ असोज, २०८१
  • ०२:३५:०८

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर

काठमाडौँ  ।विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ  । उक्त मुद्धाका आरोपित मध्ये १० जनालाई भने सफाइ दिएको छ ।  तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

अदालतको आदेशमा  ठाकुर र देवकोटाको हकमा १० करोड ६९ लाख बिगो ठहर  गरिएको छ भने  कँडेल, शिवकुमार शर्मा र तीन कम्पनीको हकमा १ करोड ५२ लाख बिगो ठहर भएको छ । यस्तै रेन्टल चार्ज शीर्षकमा गजेन्द्र कुमार ठाकुर र सूर्यराज कँडेललाई थप ३ करोड ८८ लाख बिगो माग भएको छ ।  

१५ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा पूर्वसचिव भीम उपाध्यायसहितका केही प्रतिवादीले भने सफाइ पाएका छन् ।   सोमबार विशेष अदालतमा अध्यक्ष टेकनारायण कुँवरसहित सदस्य तेज नारायण सिंह राईको इजलासले भ्रष्टाचार मुद्दामा फैसला गर्दै सजाय निर्धारणका लागि असोज ७ गतेका लागि अर्को पेसी तोकेको  छ ।