• बिहीबार, ३ असोज, २०८१
  • ०६:४९:४९

राष्ट्रिय बालदिवस बालबालिकाको पर्व

 

काठमाडौं ।  भाइबहिनीहरू, हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइन्छ । यस वर्ष ६०औँ राष्ट्रिय बाल दिवस मनाउँदै छौँ । हामी राष्ट्रिय बालदिवसकै बारेमा चर्चा गर्ने छौँ । घरपरिवार, समाज र राष्ट्रकै गहना बालबालिका हुन् ।

बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन । बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनै पनि हेला, भेदभाव, दुर्व्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभावक, समाज एवं सरकारको काम हो । 

 २०६४ सालदेखि हरेक वर्ष त्यसबेला ध्यान दिनुपर्ने कुनै एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ । २०६४/६५ सालको राष्ट्रिय बालदिवसको मूलनारा ‘सुनिश्चित बाल अधिकार : नयाँ नेपालको पूर्वाधार’ भन्ने रहन गयो । नयाँ संविधान बनाउने प्रयास भइरहेको बेला २०६६/६७ मा मूल नारा ‘हामी सबैको सरोकार : नयाँ संविधानमा सुनिश्चित बाल अधिकार’ भन्ने राखियो । राष्ट्रिय महत्वको विषयसँग जोड्दै २०६८/६९ सालमा ‘हामी सबैको सरोकार : शान्ति, संविधान र सुनिश्चित बाल अधिकार’ भन्ने नारा तय गरियो । 

 

त्यसैले सबैले बालबालिकाको हित भलाइका लागि काम गर्नु पर्छ भन्ने कुरा सम्झाइरहन, बालबालिकाका निम्ति के कस्ता राम्रा काम भए, के हुन सकेनन् भनेर छलफल गर्न हरेक वर्ष बालदिवस मनाइन्छ । यति मात्रै होइन बालबालिकाले पनि नयाँ ज्ञान, खेल, मनोरञ्जन गर्न पाउन्, आफ्ना क्षमता देखाउन पाउन्, अधिकारबारे थाहा पाउन्, खुसी–रमाइलो गर्न पाउन् भनेर हरेक वर्ष बालदिवस मनाइन्छ । 

नेपालमा २०२२ सालदेखि राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । देशमा राजाले शासन गरेको त्यस बेलामा तत्कालीन बडामहारानी रत्न शाहको जन्म दिन अर्थात् भदौ ४ गते बालबालिकालाई मिठाई, फलफूल बाँडेर र बडामहारानीको अगाडि नाचगान गरेर राष्ट्रिय बालदिवस मनाइने गरिन्थ्यो । २०६२/६३ सालको जनआन्दोलनबाट नेपालको शासन व्यवस्था परिवर्तन भयो ।

राजसंस्था रहेन, सङ्घीय गणतन्त्रात्मक व्यवस्था स्थापना भयो । बडामहारानीको जन्म दिन पारेर राष्ट्रिय बालदिवस मनाउनु उपयुक्त नहुने भएकोले नयाँ मिति छनोट गर्नुपर्छ भन्ने चर्चा भयो । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भयो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालियो ।

सम्झिइ राखौँ, बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले २०४७ साल भदौ २९ गते (तदनुसार १४ सेप्टेम्बर, १९९०) का दिन अनुमोदन अर्थात् त्यो महासन्धिमा लेखिएका बाल अधिकारका कुरा हामी पालना गर्दछौँ भनी स्वीकार गरेको थियो । यसरी जन्मदिनमा चकलेट, मिठाई, फलपूल बाँडेर, नाचगान गरेर मनाउने गरिँदै आएको राष्ट्रिय बालदिवसमा बाल अधिकार प्रतिको राष्ट्रिय प्रतिबद्धताका कुरासँग गाँसिन आयो । 

२०६४ सालदेखि हरेक वर्ष त्यसबेला ध्यान दिनुपर्ने कुनै एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ । २०६४/६५ सालको राष्ट्रिय बालदिवसको मूलनारा ‘सुनिश्चित बाल अधिकार : नयाँ नेपालको पूर्वाधार’ भन्ने रहन गयो । नयाँ संविधान बनाउने प्रयास भइरहेको बेला २०६६/६७ मा मूल नारा ‘हामी सबैको सरोकार : नयाँ संविधानमा सुनिश्चित बाल अधिकार’ भन्ने राखियो । राष्ट्रिय महत्वको विषयसँग जोड्दै २०६८/६९ सालमा ‘हामी सबैको सरोकार : शान्ति, संविधान र सुनिश्चित बाल अधिकार’ भन्ने नारा तय गरियो । 

यसै गरी हरेक वर्ष नयाँ नयाँ नाराका साथ राष्ट्रिय बालदिवस मनाउने गरियो । २०७८ सालमा कोभिड–१९ को महामारी चलेकाले ‘सामान्य अवस्था वा कोभिडको महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारा बनाइयो । २०७९ सालमा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ र २०८० सालमा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भनियो । यो सामग्री तयार गर्दासम्म यस वर्षको बाल दिवसको नारा तय भइसकेको छैन ।   

बालबालिकाका धेरै अधिकार छन् । वयस्क अर्थात् उमेर पुगेका ठुला मानिसले आफ्नो दायित्व राम्रोसँग पूरा गरिदिने हो भने बाल अधिकारका धेरै कुरा पूरा हुन्छन् । त्यसै गरी बालबालिकाले पनि आफ्ना जिम्मेवारी पूरा गर्नु पर्छ । नेपालको बालबालिकासम्बन्धी ऐनले बाल अधिकारको धेरै कुरा सँगसँगै अभिभावक वा संरक्षकको दायित्व, राज्यको दयित्व, सञ्चार क्षेत्रको दायित्व र बालबालिकाको कर्तव्यको पनि कुरा गरेको छ ।

 

एक दिन दिवस मनाउँदैमा सबै परिवर्तन भइहाल्छ, समस्या सबै सकिन्छ भन्न त सकिँदैन तर दिवस मनाइने दिनमा सम्बन्धित सबैको ध्यान केन्द्रित रहने, भएका प्रयासको समीक्षा, छलफल गर्ने र नयाँ प्रतिबद्धतासहित कार्यान्वयनमा जाने अवसर पनि हो । सबैलाई घचघच्याउने दिन पनि हो । बालदिवस त बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने दिन पनि हो । बालबालिकाले आफ्नो अस्थित्व र महत्व महसुस गर्ने दिन पनि हो । वास्तवमा बालदिवस घर घरमा, परिवार परिवारमा मनाइनु पर्छ । 

बालबालिकाप्रतिको जिम्मेवारी ठुला मानिसको हो । ठुला मानिसले आफैँले आफैँलाई बालबालिकाका निम्ति के गरेँ, के गर्न सक्छु भनी सोच्नु जरुरी छ । यस दिन बालबालिकाले पनि रमाइलो गर्नुका साथै आफ्ना कुरा राख्ने र बालबालिकाकै हैसियतमा आफ्ना जिम्मेवारीका बारेमा पनि छलफल गर्नु पर्दछ ।

प्रत्येक बालबालिकाको जीवन सुखमय र सुरक्षित होस्, खुसीका साथ बालापन बिताउन पाउन्, कतै कुनै पनि बहानामा जोखिम, समस्यामा नपरुन् भन्ने हामी सबैको चाहना हुन्छ तर समस्या र विपत् जीवनमा आइरहन्छन् । त्यस्ता समस्या आउन नदिन सतर्क हुनुपर्छ । 

मानिसको दिमागको विकास ३० प्रतिशत गर्भमा रहँदा नै हुने गर्छ, थप २५ प्रतिशत जन्मेको एक वर्षभित्र, अर्को २५ प्रतिशत दुई वर्षभित्र, अरू १० प्रतिशत पाँच वर्षभित्र र बाँकी १० प्रतिशत पाँच वर्षपछि हुने गर्छ भनी अनुसन्धानले देखाएको छ । गर्भमा रहेदेखि नै बालबालिकालाई उचित ध्यान दिइनु पर्छ । बालबालिकामा गरिएको उचित लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ । बालबालिकामा गरिएको लगानीले बालबालिका वा अभिभावकले मात्र नभई सारा मुलुकले लाभ लिन सक्छ । 

बालबालिकाका धेरै अधिकार छन् । वयस्क अर्थात् उमेर पुगेका ठुला मानिसले आफ्नो दायित्व राम्रोसँग पूरा गरिदिने हो भने बाल अधिकारका धेरै कुरा पूरा हुन्छन् । त्यसै गरी बालबालिकाले पनि आफ्ना जिम्मेवारी पूरा गर्नु पर्छ । नेपालको बालबालिकासम्बन्धी ऐनले बाल अधिकारको धेरै कुरा सँगसँगै अभिभावक वा संरक्षकको दायित्व, राज्यको दयित्व, सञ्चार क्षेत्रको दायित्व र बालबालिकाको कर्तव्यको पनि कुरा गरेको छ ।

बालबालिकालाई सबैले सम्मान गर्नुपर्छ, उनीहरूको कुरा सुनिनुपर्छ । त्यसै गरी ऐनमा सबैलाई सम्मान र आदर गर्नु प्रत्येक बालबालिकाको कर्तव्य हुने छ भन्ने कुरा पनि लेखिएको छ । बालदिवसमा यी सबैका बारेमा छलफल हुनुपर्दछ, सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।भदौ २०८१ को मुनाबाट