• मंगलबार, १ माघ, २०८१
  • ०४:०१:०३

तपाईँले पठाएका तर स्वीकार नगरिएका फेसबुक फ्रेन्ड रिक्वेस्ट यसरी हेर्नुस्

काठमाडौं । फेसबुक चलाउँदै गर्दा हामीले धेरैलाई फ्रेन्ड रिक्वेस्ट पठाएका हुन्छौँ। तर ती सबै रिक्वेस्ट स्वीकार हुन्छन् भन्ने छैन। कतिपयले बेवास्ता गरेका वा समयमै ध्यान नदिएका कारण पनि हाम्रो रिक्वेस्ट स्वीकार भएको हुँदैन। फेसबुकमा साथी बन्ने प्रक्रिया सरल छ, तपाईँले कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाउनुभयो वा अरूले तपाईँलाई पठाए। तर, यी रिक्वेस्टमध्ये कतिपय स्वीकार हुन्छन् भने कतिपय यत्तिकै रहन्छन्।


फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्नुका विभिन्न कारण हुन सक्छन्। अपरिचित व्यक्तिको रिक्वेस्ट स्वीकार नगर्ने, पहिला चिनेका भए पनि नजिकको सम्बन्ध नभएको कारणले बेवास्ता गर्ने, वा फेसबुकको अधिकतम ५००० साथीको सीमाले गर्दा पनि कतिपय रिक्वेस्ट स्वीकार नहुने हुन सक्छ। कहिलेकाहीँ व्यस्तताका कारण पनि तपाईँले पठाएका फ्रेन्ड रिक्वेस्टहरूले लामो समयसम्म कुनै प्रतिक्रिया पाउँदैनन्। अझ कति त तपाईँले पठाएको रिक्वेस्ट पाउने व्यक्तिले आफ्नो अकाउन्ट नचलाएको अवस्थामा पनि बेवास्ता हुन सक्छ।

तपाईँले अरूलाई पठाएका तर अहिलेसम्म स्वीकार नभएका फ्रेन्ड रिक्वेस्टको सूची एकै ठाउँमा हेर्न सकिन्छ। यसको लागि, आफ्नो स्मार्टफोनमा फेसबुक एप खोलेर माथि दायाँ कुनामा रहेको तीन धर्का भएको मेनुमा जानुपर्छ। त्यसपछि मेनुबाट ‘फ्रेन्ड्स’ (Friends) विकल्पमा जानुहोस्। त्यहाँ आफूलाई आएका फ्रेन्ड रिक्वेस्टको सूची देखिन्छ। त्यसको ठीक दायाँतर्फ रहेको ‘सी अल’ (See All) मा क्लिक गर्नुपर्छ।

अर्को चरणमा, माथि रहेको तीन थोप्ला भएको बटनमा क्लिक गरेर ‘भ्यु सेन्ट रिक्वेस्ट्स’ (View Sent Requests) भन्ने विकल्पमा जान सकिन्छ। यसपछि तपाईँले पठाएका तर स्वीकार नभएका सबै फ्रेन्ड रिक्वेस्टको सूची देख्नुहुनेछ। यहाँबाट तपाईँले चाहेको खण्डमा ती रिक्वेस्ट रद्द गर्न वा जस्ताको तस्तै छाड्न सक्नुहुन्छ।

यो प्रक्रिया पूरा गरेपछि तपाईँले आफ्नो फ्रेन्ड रिक्वेस्टहरूको स्थिति सहजै थाहा पाउन सक्नुहुन्छ। साथै, आवश्यकता अनुसार ती रिक्वेस्टलाई व्यवस्थापन गर्न सक्नुहुन्छ। फेसबुकमा धेरैजसोले साथीको संख्या बढाउन चाहन्छन्। तर, साथीहरूको सूची व्यवस्थापन गर्दै आफ्नो फेसबुकलाई व्यवस्थित बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।

फेसबुक चलाउने अनुभवलाई अझ सहज बनाउनका लागि अपरिचित व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउनुअघि विचार गर्नुहोस्। चिनेका व्यक्तिहरूलाई मात्र रिक्वेस्ट पठाउने बानी बसाल्नुस्। यसरी आफ्नो फेसबुक अनुभवलाई व्यवस्थित र सुरक्षित बनाउन सक्नुहुन्छ।