• बिहीबार, ३ असोज, २०८१
  • ०६:३६:४२

नेपाल र कोरियाबीचको व्यापारिक सम्बन्ध तिब्र रुपले बढ्दै

काठमाडौं । नेपाल र  गणतन्त्र कोरियावीचको जनस्तर तथा कुटनीतिक सम्बन्ध जस्तै व्यापारिक सम्बन्ध पनि तिब्र रुपमा बढ्दै गएकोमा सरोकारवालाहरु थप उत्साहित भएका छन् ।  गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीको अवसरमा यहि सेप्टेम्बर १४ तारिख शनिवारका  दिन  काठमाडौमा आयोजना गरेको नेपाल कोरिया इन्फ्रा बिज नाईट कार्यक्रममा उनिहरुले उक्त  उत्साह व्यक्त गरेका हुन् ।  गणतन्त्र कोरियाले सन् २०२४  भरी नै ५० औं वर्ष सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको  र  इन्फ्रा बिज नाईट कार्यक्रम पनि त्यसैको निरन्तरता भएको जनाएको छ । 

उक्त कार्यक्रममका प्रमुख अतिथि  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको आर्थिक विकासमा कोरियाली व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । मन्त्री दहालले गणतन्त्र कोरिया नेपालको ठूलो व्यापार  र विकास साझेदार मुलुक भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ले निरन्तरता पाउने अपेक्षा व्यक्त  गर्नुभयो ।  उहाँले नेपाल सरकारका लागि आत्मिय देश दक्षिण कोरियाबाट सहयोग विस्तारका साथै लामो अवधिका लागि सफ्ट लोनको आवश्यकता रहेको औंल्याउंदै कोरिया सरकारको सकारात्मक भूमिका रहने विश्वास व्यक्त  गर्नुभयो । 

त्यस्तै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालमा कोरियाली लगानी भित्र्याएर व्यापार प्रबद्र्धन गर्ने प्रसस्त संभावना रहेको र त्यसका लागि निरन्तर लागि पर्ने  बताउँनुभयो । उहाँले  नेपालको आर्थिक समृद्धिका लागि सहयोग गर्न गणतन्त्र कोरिया  सधै तयार रहेको  बताउँनुभयो । कार्यक्रममा सहभागि तथा प्रस्तोता उद्योगी, व्यवसायीहरुले पनि नेपाल कोरियाबीचको व्यापार अभिबृद्धिमा जोड दिनुका साथै नेपालमा लगानी बढाउन कोरियाली लगानीकर्ताहरुलाई आग्रह गरेका थिए।

उक्त कार्यक्रममा कोरिया सरकारले नेपाली व्यवसायी IJ  ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मान गरेको छ। गणतन्त्र कोरिया सरकारले कोरिया र नेपालबीच आर्थिक सहयोग विस्तारमा वर्षौं देखिको योगदानलाई कदर गर्दै अध्यक्ष श्रेष्ठलाई हौसला स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।  अध्यक्ष श्रेष्ठले कोरियासँग व्यापार सहजिकरणका लागि सन् १९९२ मा नेपाल–कोरिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री  (NKCCI)  स्थापना गरेर उक्त संस्थाको संस्थापक अध्यक्ष समेत रहेर गणतन्त्र कोरिया र नेपालबीचको लगानी तथा व्यापार विस्तारमा योगदान गर्दै आउनुभएको छ । 

 पूर्वाधार विकासका सम्बन्धमा कोरिया एक्जीम बैंकको आर्थिक साझेदारी कार्यक्रम  ( IDCF) सफ्ट लोन प्रयोग गरी नेपालमा चमेलिया जलविद्युत आयोजनाको निर्माणमा पनि सहभागी भएर कोरियासँगको सहकार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

गणतन्त्र कोरिया सरकारले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्ष्यमा नेपालसँग आर्थिक साझेदारी थप मजबुत बनाउने योजना बनाएको उल्लेख गरेको छ ।  गणतन्त्र कोरिया र नेपालबीच विभिन्न माध्यमबाट आर्थिक क्षेत्रको सहकार्य विस्तार हुने र नेपालमा रोजगारी सिर्जना गर्नुका साथै नेपालको आर्थिक विकासमा योगदान पुग्ने हिसाबले कार्यक्रम सञ्चालन गर्दै जाने  राजदुत पार्कले उल्लेख गर्नुभयो ।

 नेपाल राष्ट्र बैंकले यहि अगष्ट महिनामा प्रकाशन गरेको तथ्याङ्क अनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देश (पेडअप क्यापिटल) मध्ये कोरिया तेस्रो ठूलो वैदेशिक लगानी गर्ने देशको सूचीमा  रहेको छ। त्यसैगरी भविष्यमा पनि मझौला तथा ठूला लगानीकर्ता मार्फत नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने दुतावासले जनाएको छ । 

पछिल्लो समयमा कोरियाका चर्चित कम्पनी हुन्डाइ  तथा सामसंगले नेपालमा एसेम्बल उद्योगहरु स्थापना गरी नेपालको औद्योगिक क्षेत्रमा समेत चासो देखाएका छन् । कोरियामा नेपालीहरु काम गर्न जान थालेपछि नेपाल र कोरियावीच जनस्तरको सम्बन्ध मजबुत हुदै गएको छ । यसले दुईदेशको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी कारणले भविष्यमा कोरिया र नेपालवीचको व्यापारिक सम्बन्ध अझ बढ्दे सहभागिहरुले बताएका थिए ।