• शनिबार, १ मङ्सिर, २०८१
  • ०७:२४:२१

नेपालकै सबैभन्दा पुरानो सालिक

काठमाडौं । संग्रहालय एउटा यस्तो थलो हो, जहाँ प्रमाणित इतिहास, मानव सभ्यता, विकासक्रम र सम्पदाहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । नेपालमा पनि यस किसिमका ज्ञान आर्जन गर्न सकिने धेरै संग्रहालयहरु छन् । त्यसतै मध्येको एक हो नेपालकै सबैभन्दा पुरानो संग्रहालय राष्ट्रिय संग्रहालय । यो संग्रहालयमा भएका धेरै वस्तुहरु मध्ये हालसम्म भेटिएको सबैभन्दा पुरानो वस्तु हो राजा जय बर्माको सालिक । 
यो सालिक काठमाडौं उपत्यकाको मालीगाउँबाट प्राप्त भएको थियो । मालीगाउँ हाँडीगाउँनजिकै छ। त्यसैले कहिलेकाहीं यो सालिकलाई हाँडीगाउँबाट प्राप्त भन्ने गरिन्छ। मालीगाउँका रामभक्त खड्काले आफ्‌नो घर बनाउने क्रममा जग खन्दा यो सालिक फेला पारेका हुन। पूर्ण कदको यो सुन्दर प्रस्तर सालिकको पादपीठमा प्राचीन लिच्छवि लिपिमा राजा जयबर्मा संवत् १०७ अङ्कित छ। पुरातत्वविदहरूले उक्त संवतलाई इस्वी संवतमा रूपान्तरण गरी १८५ हुन आउँछ भनेका छन्। त्यसो हुँदा यो मूर्ति नै अहिलेसम्म प्राप्त प्रामाणिक र आधिकारिक इसाको दोस्रो शताब्दीतिरको प्राचीन प्रस्तर मूर्ति हो । राष्ट्रिय संग्रहालयको प्रदर्शनमा राखिएको यो मूर्तिलाई विद्वान्हरूले नेपालको प्रारम्भिक युगको मूर्ति मानेका छन् ।


यो सालिक अत्यन्त बलिष्ट छ। लगभग ६ फिट उचाइको यो सालिकको टाउको, हात र गोडाका केही भाग फुटेका छन् । उत्खनन्‌का समयमा अज्ञानवस ती अग्रहरू फुटेका हुन् । त्यस बेलाका जति पनि मूर्तिहरू पाइए ती विशेषतः हिन्दू धर्म तथा धार्मिक सम्प्रदायसँग सम्बन्धित देउदेउताका थिए । तर यो मूर्ति भने देउदेउताको होइन, शासकको हो । त्यसैले यसलाई मूर्तिभन्दा सालिक शब्द प्रयोग गर्नु सान्दर्भिक देखिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार यो सालिकले नेपाली मूर्तिकलाको इतिहासमा एउटा नौलो प्रयोग र प्रस्तुतितर्फ सङ्केत गरेको छ । संग्रहालयको अभिलेख अनुसार यो मूर्तिको लम्बाइ १५५ र चौडाइ ७६ सेन्टिमिटरको छ । 

यो मानव सालिक राजा जय वर्माको  हो । सालिकको प्राप्तिले त्यस बेला प्रस्तरकला र संस्कृतिको धरम उन्नति र विकास भइसकेको पुष्टि गर्दछ। शिरमा सुन्दर फेटा (पगडी) कानमा कुण्डलपाटीमा कण्ठहार, छातीमा दोसल्ला (खास्टो)  शरीरको भागमा मुजामुजा परेको धोतीजस्ता गरगहना तथा वस्त्रको प्रयोग देखिन्छ ।  सालिकका दुईवटा हातमध्ये दायाँतर्फको हात भाँचिएको छ । हाल छैन। त्यसले केलिएको थियो, भन्न सकिदैन । बायाँतर्फको हात भने कम्मरमा  अड्याइएको देखाइएको छ।

पादपीठमा अंकित अभिलेखले यो मालिकल प्रामाणिक र आधिकारिक बनाउन सहयोग पुयाएको छ । संवत् १०७ श्री परमदेव महाराज जयवर्मा अंकित सालिकको श्री, परमदेव र महाराज भन्ने शब्दहरूले यिनि त्यस बेलाका शक्तिशाली शासक थिए भन्ने पुष्टि गर्न मद्दत गर्दछन् । गोपाल वंशावलीमा लिच्छवि राजाहरू वंशक्रमभन्दा अगाडि बर्मा वंशको क्रम उल्लेख भएको पाइनछ ।  यस सन्दर्भले जय बर्माको ऐतिहासिक पृष्ठभूमि स पार्दछ । सालिकमा प्रयोग गरिएका गरगहना, बस्त्र तथा शिल्पशैली र कालीगढी हेर्दा यसमा कुषाणकलाको प्रभाव देखिन्छ । राष्ट्रिय संग्रहालयको कला सम्पदा भाग एक बाट ।