• आइतबार, १६ मङ्सिर, २०८१
  • ०६:३८:५०

पहिलो खेल जनकपुरले जित्यो, एनपिएल विजेताले १ करोड ११ लाख पुरस्कार पाउँने

काठमाडौं ।  जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल)  मा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो । श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुरले आफ्नो सजिलै तय गर्यो । 


जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाउनुभयो । उहाँले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । हर्ष थाकेरले अविजित २९ रन बनाउनुभयो । बलिङमा विराटनगरका चेरिस सोल र प्रतिश जिसीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेल्नुभयो । ५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाउनुभयो ।

यसैवीच  नेपाल प्रिमियर लिग (एनपीएल)  को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो। प्रतियोगिताको उपविजेताले ५० लाख पाउँछन भने तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।  

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। प्रतियोगिताको शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।