• सोमबार, २२ पौष, २०८१
  • ०३:५०:३६

मालवेर के हो ? यसबाट कसरि बच्ने ?

काठमाडौं – आजकल हाम्रो फोनमा फोटो, भिडियो, मेसेज, बैंकिङ विवरण जस्ता महत्त्वपूर्ण जानकारीहरू मोबाइल तथा कम्प्युटरमा राख्ने गर्दछौं ।  कहिलेकाहीं, हामीले थाहा नपाउने  गरि  खतरनाक प्रोग्रामहरू पृष्ठभूमिमा चलिरहेका हुन्छन्, जसले हाम्रो व्यक्तिगत जानकारी चोरी गर्न सक्छ। यसले फोनलाई मात्र खराब पार्दैन, आर्थिक दृष्टिले पनि हामीलाई ठूलो संकटमा पार्न सक्छ। यसलाई हामी मालवेयर (Malware) भन्छौं।


मालवेयर भनेको के हो?

मालवेयर भनेको ह्याकरहरू द्वारा तयार गरिएको यस्तो प्रोग्राम हो, जसले तपाईंको डिभाइसलाई संक्रमित गर्न सक्छ र यसबाट महत्वपूर्ण डाटा चोर्न सक्छ। यी प्रोग्रामहरू प्रायः ईमेल, इन्टरनेट वा पेन ड्राइभजस्ता माध्यमबाट फैलिन्छन्।

मालवेयरका प्रकारहरू:

Spyware

Ransomware / Crypto-malware

Adware

Virus

Trojan

Worms

Bot & Botnets

Rootkits

Keyloggers

Spam / Phishing

मालवेयरको लक्षण के हुन सक्छ?

यदि तपाईंको फोनमा मालवेयर छ भने, यसको संकेत केहि लक्षणहरूको रूपमा देखिन सक्छ। यी संकेतहरूलाई समयमै थाहा पाउनु भनेको ठूलो समस्या बाट बच्नु हो।

  1. अत्यधिक विज्ञापन र एपहरू देखा पर्नु:
    यदि तपाईं इन्टरनेटमा फोटो वा भिडियो खोज्दा अनावश्यक विज्ञापन देखा पर्छ भने, यसलाई बेवास्ता नगर्नुहोस्। यस्ता विज्ञापनमा मालवेयर लुकेको हुन सक्छ। यस्तै, यदि तपाईंले आफैले इन्स्टल नगरेका एपहरू देख्न थाल्नुहुन्छ भने, यो मालवेयरको संकेत हो।

  2. फोन चाँडै तातिनु र ब्याट्री सकिनु:
    सामान्यतया, फोन प्रयोग गर्दा थोरै तातिन सक्छ। तर यदि फोन बिना कारण चाँडै तात्न थाल्यो भने, यो मालवेयरको संकेत हुन सक्छ। यस्तो अवस्थामा, फोनको ब्याकग्राउण्डमा कुनै एप अवैध काम गर्दै हुन सक्छ, जस्तै क्रिप्टो माइनिङ वा स्प्याम पठाउनु।

  3. फोन अड्किनु:
    सामान्य अवस्थामा स्मार्टफोनले राम्रोसँग काम गर्नुपर्छ। तर यदि फोन बारम्बार अड्किन थाल्छ भने, यो पनि मालवेयरको संकेत हुन सक्छ।

  4. फोन कल बारम्बार काटिनु:
    यदि तपाईंको फोन राम्रो नेटवर्कमा हुँदा पनि बारम्बार कल कट्दै जान्छ भने, यो मालवेयरको कारण हुन सक्छ। यो समस्या फोनको नेटवर्क सेटिङको कारण पनि हुन सक्छ।

  5. डेटा खपतमा अचानक वृद्धि:
    सामान्यतया, डेटा खपत फाइल डाउनलोड गर्दा, भिडियो स्ट्रिमिङ गर्दा बढी हुन्छ। तर यदि तपाईंको फोनमा सामान्य अवस्थामा पनि डेटा खपत लगातार बढ्दै छ भने, यो खतराको संकेत हो।

मालवेयरबाट कसरी बच्ने?

  1. असुरक्षित वेबसाइट र सामग्रीबाट बच्नुस्:
    फ्रीवेयर, पिरेटेड सफ्टवेयर/गेम, अश्लील सामग्री भएका वेबसाइटहरूको प्रयोग नगर्नुहोस्। यस्तो वेबसाइटमा जाँदा पप-अप विज्ञापनहरूमा क्लिक नगर्नुहोस् र त्यहाँबाट डाउनलोड नगर्नुहोस्।

  2. संकास्पद  लिंक र अट्याचमेन्टहरूमा क्लिक नगर्नुहोस्:
    फेसबुक, ट्विटर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालमा शंका जनक लिंक र अट्याचमेन्टहरूको क्लिक नगर्नुहोस्।

  3. फायरवाल र एंटी-भाइरस सफ्टवेयर प्रयोग गर्नुहोस्:
    तपाईंको फोन र कम्प्युटरको फायरवाल सधै सक्रिय राख्नुहोस् र नियमित रूपमा एंटी-भाइरस/एंटी-मालवेयर सफ्टवेयर प्रयोग गरेर स्क्यान गर्नुहोस्।

  4. अज्ञात पेन ड्राइभ र USB प्रयोग नगर्नुहोस्:
    तपाईंको कम्प्युटरमा प्रयोग नगरेका पेन ड्राइभ वा अनधिकृत USB डिभाइस प्रयोग नगर्नुहोस्।

  5. सुरक्षित ब्राउजर एड-अन प्रयोग गर्नुहोस्:
    असुरक्षित वेबसाइटहरू पहिचान गर्न "Netcraft" जस्ता सिक्योरिटी ब्राउजर एड-अन टुल्स प्रयोग गर्नुहोस्।

  6. अपडेटहरू समयमै गर्नुहोस्:
    तपाईंको सफ्टवेयर र ऑपरेटिङ सिस्टमको नियमित अपडेट गर्नुहोस् र सुरक्षा फिचरहरूको प्रयोग गर्नुहोस्।

  7. संवेदनशील जानकारी सुरक्षित राख्नुहोस्:
    आफ्नो पासवर्ड, पिन, बैंक खाता नम्बर जस्ता संवेदनशील जानकारीलाई सुरक्षित राख्नुहोस् र केवल आधिकारिक वेबसाइटमा मात्र आफ्नो जानकारी सेयर गर्नुहोस्।

यसरी सतर्क रहेर, तपाईं आफ्नो फोन र अन्य डिजिटल उपकरणलाई मालवेयरबाट सुरक्षित राख्न सक्नुहुन्छ।