• मंगलबार, २३ पौष, २०८१
  • ०९:५४:४४

स्मार्टफोन क्यामेराका महत्वपूर्ण फिचरहरू जुन धेरैलाई थाहा नहुनसक्छ

काठमाडौं। के तपाईँ स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ? आजको युगमा लगभग सबैजसो मानिसहरूसँग स्मार्टफोन हुन्छ। तर, धेरैजसोले स्मार्टफोन क्यामेराका महत्वपूर्ण फिचरबारे जानकारी राख्दैनन्। त्यसैले, आज हामी तपाईंलाई स्मार्टफोन क्यामेराका केही अनिवार्य र उपयोगी फिचरहरूबारे जानकारी दिन गइरहेका छौँ।


एचडीआर मोड (HDR Mode)

अहिलेका अधिकांश स्मार्टफोनमा 'एचडीआर' (High Dynamic Range) फिचर उपलब्ध हुन्छ। यो फिचरले अत्यधिक उज्यालो वा धेरै अँध्यारो भएका क्षेत्रहरूलाई सन्तुलित बनाएर उत्कृष्ट गुणस्तरको फोटो खिच्न मद्दत गर्छ। एचडीआरले स्वचालित रूपमा विभिन्न एक्सपोजर स्तरका तस्बीरहरूलाई संयोजन गरी एक सन्तुलित तस्बीर उत्पादन गर्छ।

अपार्चर (Aperture)

'अपार्चर' भन्नाले क्यामेरा लेन्समा रहेको सानो छिद्रलाई जनाउँछ। एफ (F) अंकले यसको आकार तोक्छ, जस्तै एफ १.४, एफ २.०, एफ ८.०। एफको मान कम भए अपार्चर ठूलो हुन्छ, जसले गर्दा क्यामेरामा धेरै प्रकाश प्रवेश गर्न सक्छ। एफको मान उच्च भए अपार्चर सानो हुन्छ, र प्रकाशको प्रवेश सीमित हुन्छ। केही स्मार्टफोनमा अपार्चर म्यानुअली परिवर्तन गर्न सकिन्छ।

पोर्ट्रेट मोड (Portrait Mode)

'पोर्ट्रेट मोड' वा 'बोके इफेक्ट' धेरै स्मार्टफोन क्यामेरामा हुन्छ। यस फिचरले मुख्य विषयलाई केन्द्रित गर्दै पृष्ठभूमिलाई धमिलो पार्छ। यसलाई डेप्थ अफ फिल्ड (Depth of Field) पनि भनिन्छ। यसले फोटोको विषयलाई थप आकर्षक बनाउँछ।

अप्टिकल जुम र डिजिटल जुम (Optical Zoom & Digital Zoom)

अप्टिकल जुम लेन्सको शारीरिक सरंचना प्रयोग गरेर वस्तुलाई नजिक ल्याउँछ, जसले फोटोको गुणस्तर कायम राख्छ। डिजिटल जुम भने सफ्टवेयरको मद्दतले वस्तुलाई नजिक ल्याउँछ, जसले गर्दा फोटोको स्पष्टता कम हुन्छ। अप्टिकल जुम, डिजिटल जुमको तुलनामा राम्रो मानिन्छ।

ईआइएस र ओआइएस (EIS & OIS)

ईआइएस (Electronic Image Stabilization) सफ्टवेयरमा आधारित प्रणाली हो, जसले भिडियो र फोटो खिच्दा हुने हलचललाई नियन्त्रण गर्छ। ओआइएस (Optical Image Stabilization) हार्डवेयरमा आधारित प्रविधि हो, जुन ईआइएसभन्दा महँगो र प्रभावकारी हुन्छ। यी दुवै फिचरले फोटो र भिडियोको स्थिरता सुधार गर्छन्।

पानोरमा मोड (Panorama Mode)

'पानोरमा मोड'ले फराकिला र विस्तृत दृश्यहरूलाई समेट्न मद्दत गर्छ। मोबाइललाई निर्देशित दिशामा विस्तारै घुमाउँदै लामो र फराकिलो फोटो खिच्न सकिन्छ।

टाइम ल्याप्स (Time-Lapse)

टाइम ल्याप्स फिचरले लामो समयसम्म खिचिएको भिडियोलाई छोटो समयमा प्रस्तुत गर्छ। जस्तै, सूर्य उदाउने, बादलको गति, मानिसहरूको चहलपहल इत्यादि। यसले सामान्य गतिका गतिविधिहरूलाई तीव्र गतिमा देखाउँछ।

यी फिचरहरूलाई प्रयोग गरेर तपाईं आफ्नो स्मार्टफोन क्यामेराको पूर्ण उपयोग गर्न सक्नुहुनेछ।