चीनले तयार गर्यो मानव दिमाग पढ्न सक्ने यन्त्र
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- १७:५१:००/ Friday 01-03-25
बेइजिङ। प्रविधिको क्षेत्रमा चीन दिन प्रतिदिन अगाडि बढिरहेको छ। हालै चीनले दिमागको सोचाइ डिकोड गर्न सक्ने यन्त्र निर्माण गरी सफल परीक्षण गरेको छ।
चिनियाँ स्टार्टअप ‘न्यूरोएक्सेस’ ले फ्लेक्सिबल ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) प्रविधिको परीक्षण सम्पन्न गरेको हो। यो यन्त्रले मस्तिष्कमा चोटपटक लागेका बिरामीको सोच विचारलाई वास्तविक समयमा डिकोड गर्न सक्षम देखिएको छ। थप परीक्षणमा यो यन्त्रले मानिसको सोचलाई चिनियाँ भाषामा अनुवाद गर्न सफल भएको थियो।
बीसीआई प्रविधिको प्रयोगले बिरामीहरूलाई आफ्ना विचारमार्फत सफ्टवेयर नियन्त्रण गर्न, विभिन्न उपकरणहरू चलाउन र डिजिटल अवतारहरूसँग कुराकानी गर्न सकिने सम्भावना देखिएको छ। चीनको प्रतिष्ठित फुडान विश्वविद्यालयसँग सम्बद्ध हुआशान अस्पतालका न्यूरोसर्जनहरूले २०२४ अगस्टमा एक २१ वर्षीया महिलाको मस्तिष्कमा बीसीआई प्रत्यारोपण गरेका थिए। ती महिलाको भाषा सम्बन्धी क्षेत्र नजिक ट्यूमर रहेको थियो।
पाँच दिनभित्र बिरामीका सोच संकेतहरूको विश्लेषण गर्दै १४२ वटा सामान्य चिनियाँ सिलेबल्समा आधारित परीक्षण गरिएको थियो। यस क्रममा यन्त्रले ७१ प्रतिशत सोचलाई सटिक रूपमा डिकोड गर्न सफल भएको बताइएको छ। न्यूरोएक्सेसले यन्त्रमा प्रयोग गरिएको न्यूरल नेटवर्क मोडेललाई मस्तिष्कको उच्च–गामा ब्यान्डबाट आएका संकेतहरूको डाटा डिकोड गर्न विशेष रूपमा तालिम दिएको थियो।
यस यन्त्रले केवल ६० मिलिसेकेन्ड भित्रै काम गर्न सुरु गरेको र एक वर्णको डिकोडिङमा १०० मिलिसेकेन्डभन्दा कम समय लागेको उल्लेख गरिएको छ। चीनको यो प्रविधिले मस्तिष्क अध्ययन र कृत्रिम बौद्धिकतामा नयाँ युगको सुरुवात गर्नसक्ने विश्वास गरिएको छ।