जापानी कम्पनीले ल्यायो अत्याधुनिक मान्छे धुने मेशिन
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- १८:०५:००/ Friday 01-03-25
टोकियो – जापानको ओसाकामा रहेको एक प्रतिष्ठित कम्पनीले मान्छे धुने नयाँ मेशिन सार्वजनिक गर्ने तयारी गरेको छ। बाथटब र शावरहेड उत्पादनमा लामो समयदेखि क्रियाशील ‘साइन्स कम्पनी’ले ‘मिराई निन्गेन सेन्ताकुकी’ (भविष्यको मानव धुने मेशिन) नामक अत्याधुनिक यन्त्र निर्माण गरेको हो।
सन् १९७० मा ओसाकामा भएको ‘कान्साई एक्सपो’ मा जापानकै सान्यो इलेक्ट्रिक कम्पनी (हालको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले पहिलोपटक मानव धुने मेशिन प्रस्तुत गरेको थियो। त्यसबेला ‘बबल टेक्नोलोजी’ आधारित अन्डाकार मेशिनले ठूलो चर्चा पाएको थियो। मेशिनलाई हेर्न मानिसहरूको घुइँचो लागेको थियो।
त्यो भीडमा रहेका यासुआकी आयोयामा अहिले ‘साइन्स कम्पनी’का अध्यक्ष हुन्। सानै उमेरमा यस्तो प्रविधिले आफूलाई प्रभावित पारेको अनुभव सुनाउँदै उनले भने, “सन् १९७० को त्यही प्रविधिलाई अहिलेको अत्याधुनिक स्तरमा पुर्याएर नयाँ संस्करण ल्याउन लागेका छौं।”
आयोयामाका अनुसार नयाँ मान्छे धुने मेशिन सन् २०२५ को अप्रिलमा ओसाकामा हुने कान्साई एक्सपोमा प्रदर्शनीका लागि राखिनेछ।
यस मेशिनमा सूक्ष्म (माइक्रोस्कोपिक) एयर बबल प्रविधि प्रयोग गरिएको छ। प्रयोगकर्ताको शारीरिक अवस्था बुझ्न नाडीको चाललगायत विभिन्न डाटालाई मापन गर्न विशेष सेन्सरसमेत जडान गरिएको छ। यसले शरीरलाई सफा गर्नुका साथै आरामदायी मसाजसमेत दिनेछ।
सबैभन्दा रोचक कुरा, यो मेशिनमा जडित एआई प्रणालीले प्रयोगकर्ताको भावनात्मक अवस्था– तनाव, उत्तेजना वा शान्त स्थिति कस्तो छ भन्ने पत्ता लगाउन सक्षम हुनेछ।
आयोयामाले पत्रकार सम्मेलनमा भने, “हामी यसलाई ५० वर्षअघि सुरु भएको प्रविधिको नयाँ अध्यायका रूपमा हेर्छौं। आगामी एक्सपोमा यो मेशिनबाट कम्तिमा एक हजार व्यक्तिलाई नुहाउन दिने योजना छ।”
यो यन्त्र बजारमा आउनु प्रविधिको क्षेत्रमा अर्को ठूलो फड्को सावित हुनसक्ने अनुमान गरिएको छ।