• बुधबार, २८ जेठ, २०८२
  • ०६:२१:४७

 १० महिनामा साढे १३ खर्ब रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्कमा आधारित भएर मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । 

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  ४ लाख ५ हजार ६१० जनाले अन्तिम स्वीकृति र २ लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । 

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु ८ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत रु ४ खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । 

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।