पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा
-
नेटिजन संवाददाता
- मंगलबार, २७ जेठ, २०८२- १६:००:००/ Tuesday 06-10-25

काठमाडौं। काभ्रेको पनौतीमा १ हजार ४ सय २१ वर्षदेखि मनाइँदै आएको हिले जात्रा सोमबारदेखि शुरु भएको छ ।
परम्परा अनुसार पहिलो दिनसाँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगणहरू सुस्तरी तरेपछि विशेष जात्रा शुरु भएको मानिन्छ ।
राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ ।
विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण–तिन वटा रथको दौड र जुधाइ–आयोजना गरिन्छ । भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ ।
स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम–क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् । अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो ।
जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ । जात्रा सकिएको भोलिपल्टैदेखि रोपाइँ सुरु गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबिर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मङ्गलबार र बुधबार सार्वजनिक बिदा समेत दिएको छ ।