• बुधबार, २३ माघ, २०८१
  • १२:३५:४८

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक

झापा। शिवसताक्षी नगरपालिकाले स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग भएका माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक नरमाया कार्कीका अनुसार माछालाई धेरै दिनसम्म ताजा देखाउन प्रयोग हुने फर्मालिनले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने जनगुनासो बढेपछि यो निर्णय लिइएको हो। "फर्मालिन प्रयोग गरिएको माछा सेवनले क्यान्सरजस्ता गम्भीर रोग लाग्न सक्छ। त्यसैले यस प्रकारका माछाको बिक्रीमा पूर्ण रोक लगाइएको छ," उनले बताइन्।

नगरपालिकाले व्यवसायीलाई फर्मालिन प्रयोग नगर्न र मरेका माछा बिक्री नगर्न स्पष्ट निर्देशन दिइसकेको छ। प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेका अनुसार, बजारमा हानिकारक रसायनयुक्त र मरेका माछा नआउन नियमित अनुगमन भइरहेको छ। यसका लागि स्थानीय बजार व्यवस्थापन समिति र प्रहरीले संयुक्त रूपमा कार्य गरिरहेका छन्।

भारतबाट आयात गरिएका माछामा सड्न नदिन फर्मालिनको प्रयोग भएको जनगुनासो आइरहेको छ। यस्तो माछाको बिक्री रोक्न नगरपालिकाले कडाइ गरेको र यसबारे जनतालाई पनि जानकारी दिन सार्वजनिक सूचना जारी गरिएको छ।

यसअघि, पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले पनि यस्तै कदम चालेको थियो। झापामा माछापालनको प्रगति सकारात्मक रहेको र स्थानीय उत्पादनले माग पूरा गर्ने हुँदा भारतबाट आयात हुने मरेका माछाको बिक्री रोक्नुपर्ने माग उपभोक्ताबाट उठ्दै आएको छ।

उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिनजस्तो हानिकारक रसायनको प्रयोगले मानव स्वास्थ्यमा ठूलो खतरा पुर्‍याउने भएकाले यस्ता रसायनको प्रयोगलाई सम्पूर्ण खाद्य वस्तुमा निरुत्साहित गर्नुपर्ने बताए। उनले शिवसताक्षी र बिर्तामोड नगरपालिकाको यो निर्णयलाई स्वागत गर्दै पूर्ण कार्यान्वयनका लागि नियमित अनुगमनको माग गरेका छन्।

रासस