• शनिबार, ६ पौष, २०८१
  • १०:३९:३२

सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता

८ बिघा क्षेत्रफलमा फैलिएको ताल यहाँका १ सय ३ घरपरिवारको जीविकाको आधार मात्र बनेको छैन, पर्यावरण संरक्षण तथा वन्यजन्तुको प्यास मेटाउने थलोका रुपमा समेत स्थापित भएको छ ।
 


कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं–९ तीनघरिया गाउँबाट झण्डै ५०० मिटर पश्चिममा अवस्थित गौरीशंकर सामुदायिक वनमा ८५ वर्षअघि झण्डै २ विघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र (स्थानीय भाषामा ताल) पुरिंदै जाँदा अस्तित्व नै संकटतिर धकलिएको थियो । जसले गर्दा स्थानीयलाई खडेरीमा आवश्यक पर्ने पानीको पूर्ति गर्न मुश्किल भएको थियो । वि.सं २०६५ सालबाट सिंचाई डिभिजन कार्यालय कपिलवस्तु र डिभिजन वन कार्यालय चन्द्रौटाको सहयोगमा स्थानिय समुदाय यो  सिमसार क्षेत्रको संरक्षणमा जुटे । स्थानीयको अग्रसरता र मेहनतले अहिले उक्त क्षेत्र ८ बिघामा विस्तार भई तीनघरिया तालको नामले परिचित छ । ताललाई स्थानियले बरगढी तालको नामले पनि चिन्ने गरेका छन् । यो ताल अहिले यहाँका १ सय ३ घरपरिवारको जीविकाको  आधार मात्र बनेको छैन, पर्यावरण संरक्षण तथा वन्यजन्तुको प्यास मेटाउने थलोका रुपमा समेत स्थापित भएको छ । 

तीनघरिया गाउँको वरिपरि खोला, नदी र पानीका स्रोतहरु छैनन् । पहिले सिंचाईको समस्याले गर्दा खेती गर्न गाह्रो थियो । अहिले तालले गर्दा वरीपरीका सबै किसानले कृषि उत्पादन तथा आयआर्जन बढाएको स्थानीयको भनाइ छ । स्थानिय जतेन थारु मंसिरमा गहुँ छर्ने बेला तालको पानी प्रयोग गरेर ढुक्कसंग  सिंचाई गर्न सकिएको बताउँछन् । स्थानीय संग्राम थारु अहिले वर्षैभरि आफ्नो खेतमा बाली लगाउँने गरेको अनुभव बाँड्दै भन्छन्, ’आजभोलि तरकारी र अन्न बाली लगाउन वर्षात कुरिरहनु पर्दैन । गत वर्ष असारसम्मै पानी नपर्दा पनि तालको पानीले सिंचाई गरी धान रोपेका थियौं ।’  

तीनघरिया तालमा झन्डै ९० प्रतिशत पानीको स्रोत वर्षा हो । बाँकी १० प्रतिशत पानी मात्र मूल, बोरिङ्ग लगायत अन्य स्रोतहरुबाट आउँछ । वर्षातका बेला चुरे पहाडदेखि बग्दै आएको पातपतिङ्गर र लेदोसहितको पानीलाई स्थानिय प्रविधिको प्रयोग गरी तालभित्र पठाउँने व्यवस्था गरिएको छ । तीनघरिया तालमा हिउँदका बेला पानीको कमी भयो भने बोरिङ्गमार्फत पानी तान्न अटोमेटिक मेसिन पनि जडान गरिएको छ । 

तीनघरिया तालमा झन्डै ९० प्रतिशत पानीको स्रोत वर्षा हो । बाँकी १० प्रतिशत पानी मात्र मूल, बोरिङ्ग लगायत अन्य स्रोतहरुबाट आउँछ। हिउँदका बेला तालमा पानीको कमी भयो भने बोरिङ्गमार्फत पानी तान्न अटोमेटिक मेसिन पनि जडान गरिएको छ । 

तीनघरिया ताल आफुहरुको जीवन आधार नै बनेको ताल संरक्षण समितिका अध्यक्ष जगदीश थारु बताउँछन् । उनी भन्छन्, ‘तालको अस्तित्व नै संकटमा गएको बेला यसको संरक्षणबाट हुने फाइदाका विषयमा स्थानिय समुदायसंग छलफल भयो । यसका लागि  स्थानिय संस्था अभियान कपिलवस्तुले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंगको  सहकार्यमा  अग्रसरता लियो । उक्त प्रयासले गर्दा ताल मर्मतसंगै  परम्परागत कला र सीपको संरक्षणलाई जोडियो । त्यसैगरी परम्परागत कृषि पद्धतिमा सुधारसहितका काम अघि बढाएपछि अहिले तीनघरियााबासीहरुले परम्परागत बालीको उत्पादकत्व बढाउँने देखि नयाँ कृषि उत्पादन समेत थप्न र तालमा माछा पालनसम्मका काम गर्न थालेका छन् ।’ तालको विस्तारसंगै भएका परिवर्तनले गर्दा यो ताल पर्यटकीय आकर्षण र चर्चाको विषय बन्न थालेको स्थानीयको भनाइ छ ।  

अध्यक्ष जगदीश भन्छन्, ‘ताल मर्मत संहारका लागि हामीले आइएम स्विडिसको सहयोगमा इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालद्वारा सञ्चालित घुम्ती कोषबाट ३६ लाख ५२ हजार रुपैयाँ विना धितोको ऋण लिएका थियौं । उक्त ऋणले गर्दा तालमा माछा पालन लगायतका काम विस्तार गरी थप आयआर्जन बढाउँन सकिएको छ ।’

ऋण लिएर ताल निर्माण, माछा बेचेर भुक्तानी 

वि.सं.२०१९ अघि गौरीशंकर सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको ताललाई अझ व्यवस्थित बनाउँन स्थानीयले अहिले तीनघरिया ताल संरक्षण समिति गठन गरेका छन् । ताल संरक्षण समितिले यसको रेखदेख गर्न थालेपछि ताल अझै सुरक्षित भएको तीनघरिया ताल संरक्षण समितिका अध्यक्ष थारु बताउँछन् । 

ताललाई थप आयआर्जन कार्यमा सदुपयोग गर्ने योजना अन्तर्गत समितिले माछा पालन पनि शुरु गरेको छ । अध्यक्ष थारुका अनुसार तालमा अहिले ५० हजार माछा हुर्कंदै छन् । तालका छेउमा थप दुइवटा साना पोखरी निर्माण गरिएको छ । त्यो माछाका भुरा पाल्न बनाइएको बताउँदै थारु भन्छन्, ‘ठुला र साना माछा एकै ठाउँमा पाल्न मिल्दैन । त्यसैले सानो पोखरीमा भुरा माछालाई हुर्काएर ठुलो पोखरीमा छाड्ने गरेका छौं ।’ साना पोखरीमा ठुलो पोखरीबाट लिफ्टिंग गरी पानी पठाउँने गरिएको छ । पानी तान्नकै लागि पोखरीसम्म बिजुली र मोटरको समेत व्यवस्था गरिएको छ ।  

ताललाई थप आयआर्जन कार्यमा सदुपयोग गर्ने योजना अन्तर्गत समितिले माछा पालन पनि शुरु गरेको छ । तालमा अहिले ५० हजार माछा हुर्कंदै छन् । माछा बिक्रीबाट आएको रकमले ताल मर्मतका लागि लिएको ऋणको किस्ता तिर्ने गरिएको छ ।

विगत तीन वर्षदेखि माछा पालन गरेका समुदायले माछा बिक्रीबाट प्राप्त भएको रकमबाट ताल मर्मतका लागि लिएको ऋणको किस्ता तिर्ने गरेका छन् । गत वर्ष पोखरीको माछा बिक्रिबाट प्राप्त रु ३ लाख आम्दानीबाट समितिले ऋण तिरेको थियो । 

ताललाई पर्यावरण संरक्षण, सिंचाईसंगै माछा पालन लगायतका बहुआयामिक कार्यमा प्रयोग गरेको देखेर कतिपय स्थानीय समुदायले समेत आफ्नो निजि जग्गामा पोखरी बनाएर माछापालन सुरु गरेका छन् । निजि पोखरीलाई पानीको अभाव भएमा तालबाट निशुल्क पानी भर्ने सुविधा समेत दिइएकाले किसानहरु माछापालनमा आकर्षित भएका हुन् । यसले गर्दा उनिहरुको आम्दानी बृद्धिसंगै पोषणमा समेत सुधार भएको जगदीश थारुको भनाइ छ ।

ताल संरक्षणले कृषि उत्पादनमा बृद्धि  

ताल संरक्षणसंगै अप्रत्यक्ष रुपमा वातावरण संरक्षण र प्रत्यक्ष रुपमा जीविकोपार्जनलाई जोड्ने कामले  खेतीपातीमा सहजता थपिएको किसानहरु बताउँछन् । उनीहरुलाई माछा पालन, प्राकृतिक कृषिसम्बन्धि तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम अभियान कपिलवस्तुले गरेको छ । जैविक मल तथा झोल मल बनाउँने र प्रयोग गर्ने तरिकाहरु सिकेपछि गाउँमा रासायनिक मल तथा विषदीहरुको प्रयोग घट्दै गएको छ । बिउ छर्नेदेखि  बाली भित्र्याउँने र उत्पादनलाई बजारसम्म पुर्याउँने सम्मका बाली चक्रमा आधारित तालिम निकै परिणाममुखी भएको अभियान कपिलवस्तुका कार्यक्रम संयोजक कृष्ण गौतम बताउँछन् । 

तालिम लगायतका सहयोगले गर्दा किसानहरुले आफ्नो उत्पादनमा बृद्धि गरेका छन् भने उत्पादनलाई स्थानीयस्तरमा सञ्चालन हुने हाट बजारमा बेचेर पहिलेको भन्दा थप आम्दानी लिन थालेका छन् ।  तरकारी बिक्रीबाट मात्र माशिक १२ देखि १५ हजार कमाई हुने स्थानिय सावित्री थारु बताउँछिन् । पहिले सिंचाई सुविधा अभावमा तरकारी तथा बालीनाली लगाउँन समस्या खेप्ने गरेका उनीहरु अहिले तरकारी बेचेरै घरखर्च टार्न सजिलो भएको बताउँछन् । 

गाउँमा मौसमी तथा बेमौसमी तरकारीका बेर्ना उत्पादन गर्न टनेलको व्यवस्था गरेपछि अहिले जगदीश सहित गाउँका ६ जना किसानले व्यवसायिक रुपमा टनेलमा तरकारीको बेर्ना उत्पादन गरी बिक्रि गर्न थालेका छन् । बेर्ना उत्पादनबाट राम्रो आय आर्जन भइरहेको बताउँदै उनी भन्छन्, ‘हामीले उत्पादन गरेको बेर्ना तीनघरवा वरिपरिका चम्पापुर, बर्कलपुर, इमिलिया, धमौली, बक्लिपुरलगायतका गाउँबाट समेत खरिद गर्न आउने गरेका छन् ।’ 

पहिला घरायसी प्रयोगका लागि मात्र खेती गरिने बेसार अहिले व्यवसायिक रुपमै खेती गर्न थालिएको छ । बाँदरलगायतका जंगली जनावरले पनि नखाने भएकाले आफुले बेसार खेती गरेको ५९ वर्षिया बाहुनी थारु बताउँछिन् । उत्पादित बेसार बिक्रिका लागि संस्थाले नै गाउँबाट नजिकैको एग्रो प्रोसेसिङ्ग मिलसंग किसानहरुलाई जोडिदिएको छ ।   

थारु समुदायका महिलाहरुले सदियौंदेखि बुन्दै आएको आएको ढकियालाई व्यवसायिक बनाउँन   बजारिकरणको तरिकाका बारेमा स्थानीय थारु महिला समुहलाई ३ दिने तालिम दिएपछि उनीहरुको सीपलाई आयाआर्जनमा बदल्न सहयोग पुगेको छ । आजभोली थारु महिलाले बनाएका  ढकिया बजारमा बिक्रि हुन थालेपछि यसलाई महिलाहरुले आम्दानीको माध्यम बनाएको र यसबाट घरखर्च चलाउँन सजिलो भएको उनिहरु बताउँछन् । 

पर्यावरणलाई नयाँ जीवनदान  

पहिले हिउँद सुरु भएसंगै गाउँबाट पर रहेको बर्किपुर ताल र बेल नदीमा पु¥याएर गाईबस्तुलाई पानी खुवाउनु पथ्र्यो । अहिले तालमा पानी टिलपिलाउँन थालेपछि गाउँमा सुकेका मुहानहरु समेत रसाउँन थालेका छन् । ताल संरक्षणपछि घरको नल्काको पानी पहिले भन्दा माथिको सतहमा आइपुगेको स्थानिय वेदप्रकाशको अनुभव छ । यति मात्र होइन, तालका कारण गाउँ वरिपरिको जमिनमा प्राकृतिक  रिचार्जको काम समेत भएको छ । जसले गर्दा जमिन ओसिलो तथा उर्भर भइरहने तथा बाली उब्जाउन पानीको धेरै आवश्यकता नपर्ने गरेको उनी बताउँछन् ।

तालमा पानी टिलपिलाउँन थालेपछि गाउँमा सुकेका मुहानहरु समेत रसाउँन थालेका छन् । ताल संरक्षणपछि घरको नल्काको पानी पहिले भन्दा माथिको सतहमा आइपुगेको स्थानिय वेदप्रकाशको अनुभव छ ।

अहिले पानीमा आश्रित जलचर जीवहरु र जंगली जनावर तथा चराचुरुंगीको संख्या समेत बढेको स्थानीय बताउँछन् । सुख्खायाममा वन जंगलमा डडेलोको जोखिम अत्याधिक भएकाले आगलागी भएका बेला यसको नियन्त्रणका लागि तालकै पानी प्रयोग गर्न सकिने भएकाले आगलागीको क्षति न्यूनिकरण गर्न समेत ताल उपयोगी भएको जगदिश बताउँछन् । 

ताल वरिपरिको जंगल संरक्षणका लागि वन समिति र स्थानिय समुदाय मिलेर झन्डै ७ हेक्टर जमिनमा वृक्षारोपण गरी सुख्खा डाँडाहरु हरियालीमा परिणत गरेका छन् । यसका अलावा, ९० जना स्थानियको घरमा सुधारिएको चुलो जडान गरिसकिएको छ । ‘सुधारिएको चुलो जडानपछि  वर्षमा २५ हजार २८ किलो दाउराको खपत कम  भइ  ३७ हजार ५ सय किलो कार्वन उत्सर्जन घटाउन मद्धत गरेको अध्ययनबाट देखिएको अभियान कपिलवस्तुले उल्लेख गरेको छ । सुधारिएको चुलो प्रयोगले श्वासप्रश्वास, आँखाको एलर्जीजस्ता स्वास्थ्य समस्या समेत घटेको थारु बताउँछन् ।  

ताल संरक्षणबाट तिनघरियाबासीको दैनिकीमै परिवर्तन आउँन थालेपछि उनीहरु वातावरण संरक्षणमा आफैंं जुट्न थालेको बताउँदै गौतम भन्छन्, ‘ताल संरक्षण गर्ने मात्र भनिएको भए मानिसहरु यति लगनशील भएर लाग्ने थिएनन् । ताल संरक्षणलाई उनिहरुको आर्थिक फाइदासंग जोडेर यसबारेमा बुझाएपछि स्थानीय समुदायको यो सक्रिय संलग्नता बढाएर नमूना काम गर्न सकिएको छ ।’ 

परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रममा पनि अगडिको अधुरा कामहरुलाई निरन्तरता दिने बताउँदै गौतम भन्छन्, ‘ताल संरक्षणका कामहरु सिमित थिए । त्यो लगभग सकिएको छ र किसानहरुलाई सहज पनि भइसकेको छ । अबको कार्यक्रममा हामी आयआर्जन तथा जीविकोपार्जनलाई नै केन्द्रमा राख्दै जैविक मल र झोल मल तथा प्राकृतिक खेती प्रणालीलाई जोड दिनेछौं । 

रासायनिक मल र विषादीहरुको प्रयोगलाई बन्द गर्दै तीनघेरवा गाउँलाई ’नमुना अर्गानिक गाउँ’ बनाउन स्थानियहरुलाई तालिम दिने, अवलोकन भ्रमण तथा प्राविधिक सामाग्रीहरु सहयोग गर्दै कृषि सम्बन्धि ज्ञान शिप बढाउँने काम निरन्तर भइरहेको उहाँको भनाई छ ।  
ताल वरपरका खाली जमिनलाई वनभोज स्थलका रुपमा विकास गर्ने तथा त्यहाँ घुम्न आउँने मानिसहरुका लागि डुङ्गा सयरको व्यवस्था गर्न सकिने सम्भावनालाई समेत उजागर गरी ताल संरक्षण समितिले आवश्यक सहयोगका लागि प्रदेश सरकारसंग पहलसमेत गरिरहेको उहाँको भनाई छ ।

‘ताल संरक्षण गर्ने मात्र भनिएको भए मानिसहरु यति लगनशील भएर लाग्ने थिएनन् । ताल संरक्षणलाई उनिहरुको आर्थिक फाइदासंग जोडेर यसबारेमा बुझाएपछि स्थानीय समुदायको यो सक्रिय संलग्नता बढाएर नमूना काम गर्न सकिएको छ ।’ 

पुरानो तरिकाबाट बाढीको पानी तालमा पठाउँदा ताल पुरिने जोखिम भएकाले यसको दीगो समाधानका लागि नयाँ प्रविधि  आवश्यक भएको भन्दै अभियान कपिलवस्तुका कार्यक्रम संयोजक कृष्ण गौतमले भन्नुभयो, ‘सिंचाईका लागि तालबाट गाउँमा पानी पठाउन पक्की आउटलेट निर्माण भइसके पनि वर्षातको पानी तालमा जम्मा गर्नका लागि पक्की इनलेट बनाउँन बाँकी छ । अब इनलेट निर्माण गर्ने तथा वर्षातको पानी थिग्रिएपछि मात्र ताल भित्र पठाउन ताल बाहिर प्राकृतिक आहालहरुमा डिल बनाउँने तथा पानी जम्मा गर्ने व्यवस्था छिट्टै गर्ने हाम्रो योजना छ ।’

गौरीशंकर सामुदायिक वनको मातहत रहेको तीनघरिया ताल कानुन अनुसार प्रदेशको डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र पर्छ । तर ताल तथा यसको संरक्षणमा भएका क्रियाकलापलाई स्थानीय सरकार अन्तर्गत व्यवस्थापन गर्न सकिएमा ताल संरक्षणबाट भएका लाभलाई अझ व्यापक र दीगो बनाउँन सकिने बुद्धभुमि नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रमोद आचार्य बताउँछन् ।

सम्बन्धित समाचार: 

मौरीको महबाट चम्किएका  दिनेश चेपाङ्ग

मसिने गाउँको माछामा सबैको आँखा 

ग्रामिण विकासमा नयाँ अभ्यासको अग्रसरता

कोभिडले कोरलेको सामागाउँको कान्ति