• बुधबार, २३ माघ, २०८१
  • १२:३०:४३

ललितकलासंग समुदायलाई जोड्न संग्रहालय प्रभावकारी माध्यम  

 काठमाडौं । नेपालमा ललितकलाको महत्व र सम्बन्ध आम मानिससंग  इतिहास देखि नै भए पनि यसलाई व्यापक रुपमा समुदायसंग जोड्न नसकिएको भन्दै सम्बन्धित निकायले पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । श्री पञ्चमीका दिन आइकम नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ललित कलाको सार्वजनिक महत्व र संग्रहालय विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् । उनिहरुले ललितकलाको विकास गर्न र ललितलालाई आम मानिसहरुसंग जोड्नका लागि संग्रहाले महत्वपूर्ण भुीमका खेल्ने भएकाले यसका लागि काम गर्न समेत सुझाव दिएका छन् । 
 नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका अध्यक्ष लालकाजी लामाले ललितकलाको महत्वलाई समुदायसम्म पुर्याउनका लागि संग्रहालयको आवश्यकता बढेको र यो महत्वलाई व्यापक बनाउनका लागि ललितकलाको अलग्गै संग्रहालय स्थापनाका लागि तयारी भएको बताउनुभयो। उहाँले ललितकलाको सङ्ग्रहालयलाई कम्तिमा एसिया स्तरको बनाउने गरी काम गरिएको र उक्त संग्रहालय स्थापनाका लागि यो छलफल निकै उपयोगी भएको धारणा राख्नुभयो ।  उपकुलपति लामाले आगामी दिनमा यो छलफललाई निरन्तरता दिँदै अझ विशिष्टकृत ढङ्गले ललितकालका विषयवस्तुलाई उजागर गर्ने गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि तथा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले  ललितकलाको महत्वलाई सार्वजनिक रुपमा विस्तार गर्दै समुदायसंग जोडिनका लागि यस किसिमका कार्यक्रमलाई अझ व्यापक बनाउनुपर्ने, अनुसन्धान तथा तालिमका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ललितकला सम्बन्धीको  संग्रहालयको आवश्यकता बढेको भन्दै यस क्षेत्रमा जोडिएका रङ्गदेखि कला, उपकरण र कलाको इतिहासदेखि अन्य पक्षसम्मलाई समेत ख्याल गर्न सुझाव दिनुभयो।  उहाँले नेपालमा सङ्ग्रहालय खुल्ने क्रम बढेको र खुल्दै गरेका संग्रहालयहरू विभिन्न कानुन अन्तर्गत दर्ता भई फरक फरक निकाय अन्तर्गत नै नियमन समेत भइरहेकाले अब यी संग्रहालयलाई व्यवस्थित गर्नका लागि छुट्टै कानुनको आवश्यकता परेको बताउँनुभयो  । उक्त कानुनका लागि मन्त्रालयले तयारी गरेको समेत जानकारी दिनुभयो। 

त्यसैगरी आइकम नेपालका  अध्यक्ष रमेश प्रसाद दवाडीले यो कार्यक्रमले ललितकला र संग्रहालयको सम्बन्धको निककटतालाई  उजागर गर्नका लागि  महत्वपूर्ण सहयोग  गरेको भन्दै आगामी दिनमा यो सहकार्यलाई अझ व्यापक बनाउनका लागि आइकम नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । 

 कार्यक्रममा आइकम नेपालको तर्फबाट मीना लामा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट प्रदिप शाक्यले ललितकलाको सार्वजनिक महत्व र संग्रहालय विषयमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुति मार्फत सङ्ग्रहालय र ललितकलाको अन्तर सम्बन्ध तथा ललितकलाको सार्वजनिक महत्वलाई थप  विस्तार गर्नका लागि गर्न सकिने बारेमा सैद्धान्तिक तथा व्यवहारिक दृष्टान्त प्रस्तुत गर्नुभएको थियो ।

 कार्यक्रमका सञ्चालक ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले प्रज्ञा प्रतिष्ठानले ललितकलालाई व्यापक बनाउनका लागि अन्य सम्बन्धित निकायसँग विभिन्न छलफल तथा समन्वय गर्ने देखि प्रदेश तथा स्थानीय सरकारसंग समेत सहकार्य गरेर  ललितकलाको प्रदर्शनी लगायतका क्रियाकालपहरुलाई विस्तार गरिरहेको जानकारी दिनुभयो । ललितकलाको सार्वजनिक महत्व र संग्रहालय विषयमा केशव खनाल, ओमप्रकाश घिमिरे, कर्ण बहादुर महर्जन, प्रविता श्रेष्ठ लगायतका सहभागिहरुले जिज्ञासा तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।