भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
नेटिजन संवाददाता
- बुधबार, १३ चैत, २०८१- १०:५६:००/ Wednesday 03-26-25

काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, २ सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
सन् २०२४ मा सङ्घको सञ्जालमार्फत ९ लाख ७ हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताउनुभयो ।
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी २ लाख ५८ हजार ५ सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार ४ सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म ४ करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ भने ५३ लाख ९२ हजार २ सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिनुभयो ।रासस।