लुम्बिनी प्रदेशमा संग्रहालय विकासलाई प्राथमिकता दिन सरोकारवालाको आग्रह
-
नेटिजन संवाददाता
- आइतबार, १७ चैत, २०८१- १६:५५:००/ Sunday 03-30-25

बुटवल ।लुम्बिनी प्रदेशको सांस्कृतिक सम्पदा, इतिहास र पुरातत्वजस्ता वैभवहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि समेत महत्वपूर्ण भएकाले यसको संरक्षण र प्रवर्धनका लागि जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
खासगरी सङ्ग्रहालयको प्रवर्धन मार्फत यहाँका सम्पदा र पुरातात्विक वस्तुको संरक्षण गर्दै यसको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने भएकाले सङ्ग्रहालय विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम नेपाल) ले एनसेल फाउन्डेसनको सहयोगमा लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषद्को सहकार्यमा आयोजना गरेको सङ्ग्रहालयका आधारभूत मान्यता र अभ्यास सम्बन्धीको अभिमुखीकरण कार्यक्रममा उक्त कुरा बताइएको हो ।
यही चैत्र १६ गते बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सङ्ग्रहालय तथा सम्बन्धित सरकारी एवं गैरसरकारी क्षेत्रका करिब ४० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा। सुरेश सुरस श्रेष्ठले कार्यक्रमको मुख्य सहजकताृको रुपमा सङ्ग्रहालयका आधारभूत मान्यता र अभ्यास सम्बन्धीको प्रस्तुति दिनुभएको थियो । उहाँले सङ्ग्रहालयका आधारभूत मान्यता र मापदण्ड स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय रूपमा स्थापित परिभाषा, आइकमको संग्रहालय सम्बन्धी आचारसंहिता लगायतका दस्तावेजले स्पष्ट पारेको तर नेपालमा भने उक्त मापदण्डलाई स्पष्ट पार्ने काम गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा यसका लागि काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले सङ्ग्रहालयको विकासले लुम्बिनी प्रदेशको वैभवलाई ज्ञानको स्रोतको रुपमा सदुपयोग गर्न समेत सहयोग गर्ने भएकाले आगामी दिनमा यसका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानुन तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशका सङ्ग्रहालयकर्मीहरूबाट प्राप्त सुझाव तथा गुनासोहरुलाई समेत सम्बोधन गर्ने गरी सङ्ग्रहालयको विकासका लागि आगामी दिनमा सबैसँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको र त्यसका लागि काम समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका रोल्पा, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायतका जिल्लाबाट विभिन्न सङ्ग्रहालयसंग सम्बन्धीत प्रतिनिधिहरुले सङ्ग्रहालय स्थापना र सञ्चालनका व्यावहारिक कठिनाइहरू बारे आफ्नो धारणा राखेका थिए । सहभागिहरुले लुम्बिनी प्रदेशमा संग्रहालय विकासको संभावना धेरै भएको तर अवस्था कमजोर रहेकाले संभावनाको उजागर गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा आइकम नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले आइकम नेपालले लुम्बिनी प्रदेशमा, काठमाडौँ बाहिर पहिलो पटक प्रदेश स्तरीय यस किसिमको छलफल कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रममा भएको उत्साहजनक सहभागिताले आइकम नेपाललाई आगामी दिनमा थप काम गर्नका लागि प्रेरित गरेको बताउनुभयो ।
उहाँले सङ्ग्रहालय स्थापना सञ्चालन तथा अन्य सन्दर्भमा विज्ञ तथा प्राविधिक सहयोग आवश्यक परेको खण्डमा संघीय सरकार, स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्ग्रहालयहरुलाई समेत आइकम नेपाल सहयोग गर्न सधैँ तयार रहेको र सङ्ग्रहालयको विकासका लागि मिलेर अघि बढ्नका लागि इच्छुक रहेको समेत बताउनुभयो ।
त्यसैगरी आइकम नेपालका कोषाध्यक्ष ओमप्रकाश घिमिरेले सङ्ग्रहालयले सांस्कृति सम्पदा, पुरातत्व र इतिहासको विकासमा योगदान गरेसँगै पर्यटन प्रवर्धन मार्फत आर्थिक विकासमा समेत उल्लेख्य सहयोग गर्न सक्ने अन्तर्राष्ट्रिय दृष्टान्त प्रस्तुत गर्दै लुम्बिनी प्रदेशले पनि सङ्ग्रहालयको विकासमार्फत पर्यटन प्रवर्धन गरी उल्लेख्य रुपमा आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा पाल्पा दरबार सङ्ग्रहालय तथा दाङको थारु सङ्ग्रहालयका प्रतिनिधिहरूले सङ्ग्रहालय सञ्चालनको समय अवधि, टिकट तथा आगन्तुकहरूको अभिलेख एवं व्यवस्थापन लगायतका क्षेत्रमा चुनौतीहरू रहेको भन्दै यसको समाधानका लागि यस किसिमका तालिम, बहस र छलफललाई सघन र श्रृंखलाबद्ध बनाउँन आग्रह गरेका थिए ।
विश्वविद्यालय, स्थानीय सरकारका जनप्रतिनिधि, सङ्ग्रहालयसँग सम्बन्धित प्रतिनिधि विभिन्न सामाजिक संघसंस्था, प्रदेश सरकारका प्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थित रहेको यसकिसिमका कार्यक्रम सान्दर्भिक र आवश्यक भएकाले अब यस्ता कार्यक्रमलाई जिल्ला विशेषमा समेत केन्द्रित गरेर विस्तार गर्नका लागि सहभागीहरुले सुझाव दिएका थिए ।