सुरु भयो लामो र ठुलो सिन्दुरे जात्रा
-
नेटिजन संवाददाता
- सोमबार, १८ चैत, २०८१- १२:०४:००/ Monday 03-31-25

काठमाडौं। नुवाकोटको सबैभन्दा ठुलो जात्रा सुरु भएको छ । लामो अवधिसम्म मनाइने प्रसिद्ध ‘सिन्दूरे जात्रा’ सुरु भएको हो । विदुर नगरपालिका २ टाकुरोस्थित भैरवी मन्दिर नजिकै रहेको भगवतीको मन्दिर परिसरमा नारायण जात्रा गरिएसँगै प्रसिद्ध सिन्दुरे जात्रासमेत सुरु भएको हो । पर्यटकीय तथा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्त्व रहेको नुवाकोटमा लामो समयसम्म मनाइने सिन्दुरे जात्रा सुरु भएको हो ।
नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा १५ दिनसम्म चल्छ । जात्राको पहिलो दिन नारायण देवता शेराबेसीस्थित ब्रमायणि मन्दिर गएर वैशाख पूर्णिमाको पर्सिपल्ट द्वितीयाको दिन भैरवी मन्दिरका धामी–धमिनीलाई सिन्दूर हालेर सो जात्रा मनाइने परम्परा रहेको स्थानीयवासी महेन्द्र श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार वैशाख शुक्ल पूर्णिमाको दिन नुवाकोटस्थित भैरवी मन्दिरको रथ देवघाटको जालपा देवीको मन्दिरमा पुर्याएपछि भव्यतासाथ प्रारम्भ हुने सिन्दुरे जात्राको मेलामा वैशाख शुक्ल पूर्णिमाका द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूर खेलिन्छ । चैत्र शुक्ल चतुर्दशीको दिन ऐतिहासिक सात तले दरबारसँगै रहेको भैरवी मन्दिरमा गरिने सिन्दुरे जात्राको निम्तो स्वरूप बहिनी भैरवीले त्रिशूली र तादी नदिको संगमस्थल देवघाटमा रहेको दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको द्वारे महेन्द्रकुमार शाहीको भनाई छ ।
प्रसिद्ध भैरवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थ र नेपाल सरकारका प्रतिनिधि (द्वारे) नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले संयुक्तरुपमा जात्राको कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् । यस जात्राको अवलोकन गर्न काठमाडौ, रसुवा, धादिङ, चितवन, तनहुंलगायत विभिन्न जिल्लावाट हजारौं सर्वसाधारणको सहभागिता रहने गर्दछ ।
सिन्दुरे जात्रा पांचसय वर्ष भन्दा पुरानो रहेको वुढापाकाहरु वताउंछन् । दिदी जालपादेवी वहिनी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुरे जात्रा गरी हर्षबढाइँ स्वरुपम मेला गरिएको हो ।
जालपादेवीबाट फर्किएका धामी, धमिनी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर परिसरमा पुगेपछि सरकारी अधिकारीको सहभागितामा सिन्दुरे जात्रा गरिन्छ । सिन्दुरे जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्राउने चलन रहेको छ । द्वितीयाको राती धामीले भैरवी परिसरमा रांगा र बोकाको बली चढाउने धार्मिक चलन छ । देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग दिन्छन् ।
यसैवीच, नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा मनाइने वर्षबन्धन–२०८१ अर्थात् सिन्दुरे जात्राको सार्वजनिक तालिका अनुसार जात्रा भइरहेको छ । लामो जात्राको रुपमा स्थापित यसवर्षको सिन्दुरे जात्रा फाल्गुण शुक्ल पूर्णिमादेखि सुरु भएर २०८२ को वैशाख कृष्ण दशमीको दिन लिङ्गो ढालेपछि सकिन्छ ।
प्रसिद्ध भैरवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थ र नेपाल सरकारका प्रतिनिधि (द्वारे) नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले संयुक्तरुपमा जात्राको कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् । यस जात्राको अवलोकन गर्न काठमाडौ, रसुवा, धादिङ, चितवन, तनहुंलगायत विभिन्न जिल्लावाट हजारौं सर्वसाधारणको सहभागिता रहने गर्दछ ।