चौधरी फाउण्डेसनको पहलमा ठडिएको नमूना वस्ती
-
पार्वती अधिकारी
- बुधबार, २३ चैत, २०७८- १६:३०:००/ Wednesday 04-06-22
22022-04-07-04-18-45.jpeg)
पार्वती अधिकारी
सिन्धुपाल्चोक,२३ चैत । वि.स.१९९० सालको भुकम्पमा कमान सिंह तामाङ १ वर्षको हुनुहुन्थ्यो । माघ महिनाको चिसो समयमा उहाँलाई घरको कोक्रोमा सुताएर बाबुआमा काम गर्न गएका थिए । त्यहि बेलामा ८ म्याग्नेच्युटको भुकम्प गयो । बाबु आमा दौडिएर घर आउँदा संयोगवश, घरको पछाडीको भागमात्र भत्किएको रहेछ, जसले गर्दा भर्खर तोते बोली बोल्न थालेका कमानसिंह सुरक्षित रहे । बाबु आमा निकै खुसी भए, जुन घटना उनका बाबाुआमाले पछिसम्म पनि उनलाई सुनाइरहन्थे ।
त्यसको झन्डै ८२ वर्षपछि अर्थात विसं २०७२ सालमा उनले फेरि अर्को भुकम्पको झट्का भोगे । यो विनाशकारी भुकम्पमा ८९ वर्षीय कमान सिंह तामाङले जीवनभरि दुःख गरेर बनाएको सुन्दर घर आँखै अगाडी ध्वस्त भयो । उहाँले कहिल्यै सोच्नुभएको थिएन कि वर्षौं लगाएर जोडेको घर ५६ सेकेन्डमा ध्वस्त हुन्छ भनेर । त्यतिखेर कमानसिंहको घर संगै गाउँका ६२ वटै घर त्यसैगरि भत्किए । कमानसिंहलाई आफ्नो घरमा बस्ने समय अब सकिएको महसुस भयो । नयाँ घरको संभावना उहाँले देख्नुभएन ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२ नाम्ड़ोललिङ गाउँका स्थानीय बासिन्दा कामनसिंहसंग भुकम्प गएको महिनौंसम्म सुन्दर गाउँ खण्डहरमा परिणत भएको हेर्दै टोलाएर बस्ने बाहेक अन्य विकल्प थिएन । तामाङ भाषाबाट नाम्डोको अर्थ “आकाश” र ललिङको अर्थ “पुण्य भुमी” हुन्छ । उहाँलाई लाग्थ्यो, यस्तो आकाशमुनि रहेको पुण्य भुमि कसरी एकाएक ध्वस्त भयो ? कसको नजर लाग्यो ?
गाउँ पहिलाकै अवस्थामा फर्किने कुरा त उहाँका लागि सपनाजस्तै थियो । तर कमानसिंहको सपना अहिले विपनामा परिणत भएको छ । वरिपरीको सुन्दर बस्ती देख्दा उहाँलाई अहिले पनि पत्यार लाग्न गाह्रो हुन्छ, आँखा तिरिमिरी भएर आउँछ । अहिले भूकम्पले थलिएको नाम्डोललिङ गाउँ पहिलेभन्दा फरक र नमुना बस्तीका रुपमा ठडिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसंगको सहकार्यमा चौधरी ग्रुपपको गैरनाफामुलक संस्था चैधरी फाउण्डेसनले नाम्डोललिङ गाउँलाई ’नाम्डोललिङ एकीकृत नमुना बस्ती’ का रुपमा विकास गरेको हो । वस्तीको निर्माण सकिएपछि यहि चैत १३ गते कमानसिंहलाई सम्मान गर्दै घर हस्तान्तरण गरियो ।
उनि वस्तीकै ज्येष्ठ नागरिक भएकाले उहाँलाई सम्मानसहित वस्ती हस्तान्तरण गरिएको हो । घरसंगै सम्मानसमेत पाउँदा कमानसिहंको खुसीको सिमाना थिएन । लठ्ठीको भर हिड्दै गरेका कमानसिंहले भन्नुभयो, ”बाँच्नु मात्र पर्छ के के दैख्न पाइन्छ भन्थे, साँच्चे हो रहेछ । यति राम्रा घर बन्नालन भन्ने मैले त सोचेको पनि थएन । तर आज आफैं बस्ने घर यति राम्रो बनेको छ । हिजोका दिनमा खेतका गरा र कान्लाको छेल परेर दिसा पिसाव गर्ने हाम्रो गाउँ अहिले चर्पीमा जाने भएको छ । ढुंगा र जस्ता पाताका घर पक्कि घरमा परिणत भएका छन् । यी सबै परिवर्तन भएको देख्दा म आफैंलाई अचम्म लागेको छ । म धेरै खुसी छु । ”
विनासपछिको विकास
भन्निछ, विपद्ले विनास त गर्छ तर नयाँ विकासको ढोका पनि खोल्छ । २०७२ सालको भुकम्पपछि यो बहस पनि हुनेगरेको थियो । अहिले नाम्डोललिङ गाउँलाई हेर्दा त्यो बहसले सार्थकता पाएको आभास हुन्छ । यहाँ योजनाबद्ध तरिकाले बनाइएका ६२ ओटा चार कोठे पक्कि घरहरु छन् । हरेक घरहरु फराकिलो बाटोसंग जोडिएका छन् । बाटोमा र घरमा बिजुली छ । सबै घरको रङरोगन र डिजाइनमा एकरुपता छ ।
घरहरु एकतले भएपनि दुई तलासम्म बनाउँन सकिने गरि जग निर्माण गरिएको छ । हरेक घरहरु भूकम्प प्रतिरोधात्मक छन् । गाउँमा भएको खानेपानीको असुविधालाई निराकरण गर्न झन्डै ५०० मिटर तलबाट लिफ्टिंग गरेर पानी ल्याइ सबै घरलाई पुग्ने गरी वितरण गरिएको छ । हरेक घरमा सफा सुग्घर चर्पी छन् । स्वास्थ्य चौकी भवन, स्ट्रिट लाइट, खुला ठाउँ र सडक छेउमा नालीको समेत व्यवस्था गरिएको छ । हरेक स्थानियलाई सरसफाइसम्बन्धि सचेतना छ । यी सबै कुराको संयोजनले यो वस्तीको रुप नै बदलिएको छ ।
यो नमुना बस्ती चैत १३ गते समुदायलाई हस्तान्तरण गरिएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद तथा चौधरी ग्रुप तथा चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले यो नमूना वस्ती निर्माणले पूर्वाधार विकाससंगै संस्कृति, भावना र एकतालई समेत जोडेको बताउँनुभयो । “नमुना बस्ती निर्माण गर्नु भनेको घर या संरचना ठड्याउनु मात्र होइन, ति बस्तिका समुदायलाई आत्मनिर्भर र रोजगार बनाउंदै आर्थिक सक्षमता पनि बढाउनु हो । त्यसैले अबको प्रयास स्थानीय सिप विकास र आर्थिक सक्षमता बढाउँने तर्फ हुन्छ,” चौधरीले बताउनुभयो । उहाँले यो कामका लागि फाउण्डेसन आवश्यक सहयोग गर्न सधै तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नमूना वस्तीका लागि नमूना निर्माण कार्य
६२ ओटा घर बनाउने योजना बनाउँदै गर्दा निर्माण सामाग्री कहाँबाट र कसरी ल्याउने भन्ने विषयमा छलफल भयो । छलफलका क्रममा आवश्यक ईंट्टा गाउँमै बनाउने निर्णय भयो । चौधरी फाउण्डेसनले सीप विकासको अवसर सदुपयोग गर्ने उदेश्यले स्थानीय स्तरमै ईंट्टा बनाउँने योजना बनायो । यसका लागि मेसिन खरिद गरियो र गाउँलेहरुलाई ईंट्टा बनाउँने तालिम दिइयो । घर बनाउँन आवश्यक पर्ने ईंट्टा गाउँले आफैंले बनाए । यसरी घर निर्माणसंगै इटा बनाउँने सिप पनि विकास भयो । यो सिपलाई आयआर्जन कार्यमा प्रयोग गर्नका लागि स्थानीयहरु थप काम गर्न लागि परेका छन् । सिजि फाउण्डेसनले पनि यो कार्यका लागि सहयोग गर्ने भएको छ । फाउण्डेसनले वस्ती नजिकै रहेको स्थानीय विद्यालयलाई डिजिटल कक्षा संचालनका लागि कम्युटर लगायतका उपकरण समेत सहयोग गरेको छ ।
नमुना बस्ती ग्रामिण विकासका क्षेत्रमा उदाहरणीय काम गर्नेहरुका लागि उत्प्रेरणा र सिकाइको थलो भएको छ । गाउँ पनि योजनाअनुसार निर्माण गरियो भने भुकम्प प्रतिरोधीका साथै सुन्दर र सुविधायुक्त बनाउन सकिन्छ भन्ने शन्देस पनि प्रवाह गरेको छ । साथै, पुनःनिर्माण भनेको उत्थानशिलताको आधार हो । जससंग बास, स्वास्थ्य, सरसफाई, शिक्षा र रोजगारीसमेत जोडिन्छ । नाम्ड़ोललिङ गाउँमा अब रोजगारीको खाँचो छ । यहाँका युवाहरुलाई विदेशिनबाट रोक्न विभिन्न योजना तथा कार्यक्रमको जरुरी रहेको स्थानियले बताएका छन् ।
समभावको अभ्यास
एकिकृत वस्ती निर्माणमा सबै सहमत भए । वस्तीको नक्सा अनुसार एक घरका लागि कम्तिमा ६ आना जग्गा घर निर्माणका लागि र २ आना बाटोको लागि गरि ८ आना जग्गा आवश्यक पर्ने भयो । फाउन्डेसन, स्थानिय सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा स्थानियबिचको छलफलपछि सबैलाई ८ आना जग्गा उपलब्ध गराउने र एकीकृत नमुना बस्ति निर्माण गर्ने सहमति भयो । समितिका सचिव विकेन्द्र स्याङतानका अनुसार ६ घरपरिवारसंग २ आना मात्र जग्गा थियो । जग्गा अपुग भएका ६ परिवारकालागि धेरै जग्गा हुनेहरुले दिए, जसले गर्दा सबैका लागि ८ आना जग्गाको पनि व्यवस्था गरियो । यो काम त्यति सहज भने थिएन । जग्गा छनौटपछि केहिले सहमति जनाए भने केहि व्यक्तिले त्यसको विरोध गरे ।
असन्तुष्ट पक्षको मागको सम्बोधन गर्न र उनीहरुलाई सहमतिमा ल्याउन नाम्ड़ोललिङ एकिकृत बस्ति तथा संस्कृति संरक्षण समितिले विशेष पहल गरेर सबैलाई सहमत गराएको समितिका अध्यक्ष कर्मश्री लामाले बताउनुभयो । लामाका अनुसार अहिले ६२ घरको जग्गा समितिको नाममा ल्याएर प्लानिङ गरिएकोमा अहिले हरेक घरधनीलाई उनिहरुको जग्गाको लालपुर्जा दिने तयारी भएको छ ।
गाउँलेको योगदान
वस्ती हस्तान्तरण कार्यक्रममा सिजि फाउण्डेसनका अध्यक्ष विनदो चौधरीले यो नमूना बस्ति बन्नुमा सबैभन्दा ठूलो योगदान स्थानीय समुदायको रहेको बताउनुभयो । उहाँले यसो भन्नुको पछाडी समुदायले वस्ती निर्माणका लागि देखाएको अग्रसरता, आवश्यक कुराको स्वीकार्यता र निर्माण प्रक्रियामा भएको उनिहरुको सहभागिता थियो ।
बस्ति निर्माणका क्रममा अपनाइएका हरेक इन्जिनियरिंग तथ्यलाई स्थानीयले स्वीकार गरेका छन् । त्यसैले नै नमूना वस्ती निर्माण संभव भएको हो । यी घर तयार गर्दा प्रति घर लागत १५ लाख रुपैयाँ लगानी भएको छ । हरेक घरधनीले झ्याल ढोकाको व्यवस्था आफैले गरे । निर्माण अवधिभर हरेक घरबाट एक जनाले आफ्नो घर निर्माणका लागि श्रम गरेका छन् । घर निर्माणका लागि आवश्यक २ लाख इटा पनि स्थानीय स्तरमै उत्पादन गरियो । इटा निर्माण गर्दाा धेरै जसो महिला सहभगिता थियो । इट्टा बनाउँने मेसिन र तालिम भने फाउण्डेसनले दिएको थियो ।
यसरी घर निर्माण प्रक्रियामा भएको उनिहरुको संलग्नताले गर्दा गाउँलेहरुले बलियो घर निर्माणको प्राविविधक पाटो र यसको महत्व समेत बुझ्ने मौका पाए । सचिव विकेन्द्र स्याङतानका अनुसार घर निर्माणमा पहिले हुने गरेका कमजोरीहरु अहिले थाहा भएको र अबका दिनमा यस्ता कमजोरीहरु दोहोरिने छैनन् । यो निकै ठूलो सिकाइ भएको उहाँको भनाइ छ ।
बस्ति निर्माणपछि....
नाम्ड़ोललिङ गाउँ तामाङ वस्ती हो । गाउँको सांस्कृतिक पहिचान झल्काउन एकीकृत नमुना बस्ति निर्माणपछि स्थानीयको लगानीमा बस्तिकै छेउमा एउटा गुम्बाको पनि निर्माण भयो । उनिहरुले नजिकै रहेका मठमन्दिर संरक्षण पनि गरेका छन् । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणबाट मानव सभ्यताको संरक्षण हुन्छ भन्ने मान्यताका आधारमा अहिले घर निर्माणसंगै सांस्कृतिक संरक्षणमा ध्यान दिंदै गुम्बा निर्माण गरिएको बस्ति निर्माण समितिका सचिव विकेन्द्र स्याङ्तानले बताउनुभयो ।
नाम्ड़ोललिङ नमुना बस्ति निर्माण निरन्तर खटेका इन्जिनियर शरद दुलालले घर निर्माणसंगै स्थानीय व्यक्तिले घर निर्माणका लागि ख्याल गर्नु पर्ने अति आवश्यक प्राविधिक पाटो समेत बुझेको बताउनुभयो ।
यो वस्ती निर्माणको क्रममा सरकारी निकायसंगको निरन्तरको समन्वय, विभिन्न विषयमा विज्ञता भएका संस्थाहरुसंगको हातेमालो र स्थानीयलाई साथमा लिएर गरिएको कार्य अन्य वस्ती निर्माणका लागि समेत महत्वपूर्ण सिकाइ भएको छ । भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता, अनुभव र सिकाइ बटुलेको नाम्ड़ोललिङ नमुना वस्ती यति काममा रोकिने छैन । यसपछि यो वस्तीलाई आर्थिक क्रियाकलापको नमूना बनाउँने कामलाई अघि बढाउँनका लागि पनि चौधरी फाउण्डेसन र स्थानीयले हातेमालो गर्ने बताएका छन् । तस्बिर: बिराबहादुर राना