• बुधबार, १२ बैशाख, २०८१
  • १०:०९:४९

जिम्मेवार पत्रकारिताप्रतिको प्रतिबद्धता र कटिबद्धता

  • Netizen Nepal
  • सोमबार, ५ बैशाख, २०७९- १२:५८:००/ Monday 04-18-22

काठमाडौँ, ५ बैशाख । पत्रकारिता समाजको ऐना हो । समाजको यथार्थ मुहारलाई पत्रकारिताले प्रतिविम्वित गर्न सकेमा त्यो समाजको आर्थिक समाजिक रुपान्तरणमा रचनात्मक योगदान पुग्न सक्छ । नेपाल लामो समयको राजनीतिक आन्दोलन र परिवर्तन पछि अब राष्ट्रिय विकासको प्रयत्न गरिरहेको  छ । एकातिर संघीयताको अभ्यासले श्रृजना गरेको विकेन्द्रित र सहभागितामुलक विकासको अवसर तथा चुनौति, अर्काेतिर संविधानले परिकल्पना गरेको समावेशीपूर्ण राष्ट्रिय विकासको अपरिहार्यतालाई बहस र विवेचनामार्फत सार्थक बनाँउन संचारजगतको नयाँ भूमिका आवश्यक छ । 

नेपाल अति कम विकसीत मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुँदै गर्दा मुलुकको अबको विकास ढाँचा र आयाम अलि भिन्न हुनेछ । यी र यस्ता केहि अनिवार्य र अकाट्य आयामले अबको विकास यात्रालाई दिशानिर्देश गर्नेछ । यसका लागि मिडियाले चलाउँने विकास बहस र उठान गर्ने मुद्धाहरु अबका दिनमा स्वभाविक रुपले फरक हुनेछन् । 

हिजोको दिनमा राजनीतिक व्यवस्था परिवर्तन गर्न उल्लेखनीय भूमिका खेलेको पत्रकारिताले अबको दिनमा नयाँ परिवेशको समिष्टगत विकासलाई दिशानिर्देश गर्ने वहस चलाउँनुपर्ने आवश्यकता छ ।यसका लागि विकासमैत्री नीति, कार्यक्रम, श्रोत परिचालन र लगानीका मुद्धालाई जनस्तरमा जोड्दै नयाँ बहस र विचार निर्माणका लागि मिडियाले काम गर्नुपर्ने बेला आएको छ । 

संचार माध्यमको दृष्टिले पनि हिजोका दिनमा तिब्र रुपले विस्तार हुदै गएका रेडियो र टेलिभिजनहरु पूर्ण रुपमा विस्तारित हुन नपाउँदै  छाँयामा पर्दै गएका छन् भने छापा माध्यमहरु विविध सिमितताले गर्दा शहर केन्द्रित भएरै संकुचित हुँदै गएका छन् । यी सबै आमसंचार माध्यमको एकिकृत रुप र वैकल्पिक संचार मंचको रुपमा डिजिटल मिडियाको विस्तार भएको छ । डिजिटल मिडियाको विस्तार, व्यापकता, लोकप्रियता र सहजताले गर्दा  सूचना र ज्ञान प्राप्तिका माध्यममा तिव्र परिवर्तन भएको छ । 

यो परिवर्तनले एकातिर बृहत सहभागितामुलक बहस, टिप्पणी, प्रतिक्रिसहित विचार निर्माण र मन्थनको अवसर श्रृजना गरेको छ । अर्काे तर्फ डिजिटल प्लेटफर्ममा फैलिएका गैर जिम्मेवार विषयवस्तुले मानिसहरुमा भ्रम पैदा गर्ने जोखिम पनि बढ्दै जाँदा डिजिटल मिडिया प्रतिको विश्वसनीयतामा प्रश्न पनि उठ्ने गरेको छ । यो प्रश्नले उठाएका शंका निवारणका लागि जिम्मेवार डिजिटल पत्रकारिता आजको आवश्यकता हो । 

यहि तथ्यगत धरातललाई ख्याल गर्दै नेटिजन मिडिया प्रा.लि.ले ‘नेटिजन नेपाल’ समाचार पोर्टल सुरु गरेको छ । नेट अर्थात् इन्टरनेटमा आवद्ध व्यक्ति तथा यसका प्रयोगकर्तालाई आजभोली नेटिजन भन्न थालिएको छ । नेटिजन नेपालले सम्बोधन वा संकेत गर्न खोजेको नामको अर्थ हो इन्टरनेटमा जोडिएका सबै नेपाली वा सबै नेपालीलाई जोड्ने प्रयास । 

अबको केही समयमा सबै नेपालीहरु नेटिजन हुने निश्चित नै छ । सबै नेपाली नेटिजनले खोजेको, चाहेको, अपेक्षा गरेको र परिकल्पना गरेको रचनात्मक राष्ट्रिय अखण्डता, सार्वभौमिकता, समृद्धि, एकता, बन्धुत्वलाई सबलिकरण गर्ने उद्देश्यसहित नेटिजन नेपाल सबै नेपाली नेटिजनका लागि प्रकाशनमा आएको छ । विगत डेढ दशक देखि नेटिजन मिडियाले नेपालको भुगोल, प्रशासन, परियोजना, कार्यक्रम, नीति, राजनीति, अर्थतन्त्रलगायतका सवाललाई सुक्ष्म रुपमा केलाएर उठान गर्दै आएको छ । यस सिलसिलामा नागरिक आवाजलाई केन्द्रमा राखि उठान गरिएका विषयवस्तुहरुलाई खोज, पैरबी र दवाब तथा शिक्षा र सूचनाका माध्यमबाट अनवरत प्रवाह गर्दै आएको छ । यस सिलसिलामा भएका सिकाई तथा सुधारहरुले आमनागरिक केन्द्रित सूचना र सन्देश प्रवहमा आर्जित अनुभव हाम्रा लागि ठूलो सम्पती हो । 

यो यात्रामार्फत नागरिकको सूचनाको अधिकार मानव अधिकार, मौलिक अधिकारको सम्मान गर्दै नागरिक आवाजलाई अ झ मजबुत बनाउँन हामी प्रतिबद्ध र कटिबद्ध छौ । 

हाम्रो यस प्रयासमा पाठक, विज्ञापनदाता, शुभेच्छुक, सरोकारवालाको आलोचना, टिप्पणी, सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्छाै । हामी जिम्मेवार, रचनात्मक, विश्वासीलो र नैतिकतासहितको व्यवसायिक पत्रकारितामा अडिक छौ । यसका लागि हाम्रो साझेदारीपूर्ण यात्रा निरन्तर चल्नेछ । यो यात्रामा सबैको साथ रहने अपेक्षा र विश्वास लिएका छौ । 
प्रकाशक- सम्पादक