• बिहीबार, ६ बैशाख, २०८१
  • ११:५१:४३

साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याए ५०० जरिवाना

  • Netizen Nepal
  • बिहीबार, ९ असार, २०७९- १४:५९:००/ Thursday 06-23-22

नेटिजन संवाददाता

काठमाडौँ, ९ असार। आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो ।  

कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । 

“यसअघि सबै किसिमको फोहर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन त्यसैले अहिले देखिनै बानी पार्नका लागि कामपाले सम्झाएको हो”, प्रमुख राईले भन्नुभयो । कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको छ । ३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमानै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि  कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन ।