• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:२०:५८

१५ सय वर्षअघि पैसाको प्रचलन बसाएका राजा मानदेव

  • Netizen Nepal
  • बुधबार, १९ असोज, २०७९- १५:३३:००/ Wednesday 10-05-22

पार्वती अधिकारी
काठमाडौँ, १९  असोज । आजभन्दा झन्डै १५ सय वर्ष अघि लिच्छवी राजा मानदेवले भक्तपुरमा बसेर नेपालको शासन सत्ता चलाएका थिए । इतिहासका कतिपय कुराहरु पुस्तान्तरण हुँदै र परिस्कृत हुँदै पछिल्लो पुस्तासम्म आइपुग्छ । इतिहास इतिहासमै सिमित रहनुको मुख्य कारण हो, त्यसको आधिकारिकता नहुनु । मानदेवको जन्म, शिलालेखमा लेखेको मितिप्रतिको द्विविधा, उनले बनाएका दरबारलगायतका धेरै कुराहरुको आधिकारिक प्रमाण अझैसम्म पनि भेटिन सकेको छैन । तथापि, मानदेवलाई नेपालको इतिहासमा लिच्छविकालका प्रथम प्रमाणिक राजा पनि भनिन्छ ।


उनको नाम तथा कामको उल्लेख गरिएका लिच्छविकालको करिब पन्ध्रवटा शिलालेखहरु प्रकाशित भैसकेका छन् । तिमध्ये लिच्छवि संवत ५२१ को चाँगुनारायणको स्तम्भलेखलाई सबैभन्दा पुरानो र आधिकारिक मानिन्छ । मानदेवका विषयमा चर्चिएका शिलालेख, उनका मुद्राहरु तथा उनका समयका मुर्तिकलाका आधारमा नै उनलाई प्रमाणिक राजा मानिएको हो । मानदेवको समयदेखी प्राचिन इतिहास भरपर्दो, स्पष्ट र प्रमाणीत भएको छ ।

उनलाई लिच्छविकालका एक दुरदर्शी र सहासी राजाका रुपमा चिनिन्छ । बाबु धर्मदेवको आकस्मिक मृत्युपछि लिच्छवि संवत ५२१ मा राजा भएका उनले लिच्छवि संवत ५२१ देखि ५६२ सम्म जम्मा ४१ वर्ष देशको शासन सत्ता संहालेको इतिहासकारले बताउने गरेका छन् । यिनले नेपालमा शान्त र स्थिर शासन व्यवस्था कायम गरेको पाईन्छ ।

चाँगुनारायण मन्दिरको अभिलेख अनुसार उनको पालामा राज्यको सीमाना उत्तरमा हिमालय, पश्चिममा गण्डकीपारि र पुर्वमा कोशी प्रदेशसम्म फैलिएको थियो । उनले चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना, मानगृहको निर्माण र मानाङ्क नामक मुद्रा प्रचलनमा ल्याएका थिए। काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक मन्दिर पनि मानदेवकै पालामा निर्माण भएको हो ।

आफू बैष्णव भए पनि बौद्ध धर्मको प्रचारमा कुनै बाधा विरोध नगरेको हुनाले यिनलाई धार्मिक सहिष्णुता भएका व्यक्ति मानिन्छ । उनले आफ्नी श्रीमती र छोरी विजयवतीलाई शैव धर्म मान्ने छुटसमेत दिएका थिए। यसबाट पनि उनले धर्म र आस्थाका लागि सबैलाई छुट दिएका थिए भन्ने बुझ्न सकिन्छ ।
यिनको समयमा आर्थिक उन्नतिको साथ साथै विद्या र कला क्षेत्रको विकास भएको थियो । त्यसैले उनको शासन व्यवस्थालाई लोककल्याणकारी शासन व्यवस्था भनिन्छ । यिनले गोकर्णमा मानव बस्ति बसाएको विभिन्न अभिलेखमा पाइन्छ ।

मानदेव शस्त्र विद्यासम्बन्धि ज्ञान भएका, आकर्षक व्यक्तित्व, नारीलाई सम्मान गर्ने, धार्मिक सहिष्णुताको भावना भएका, पराक्रमी, देशको माया गर्ने तथा कलाप्रेमी राजा थिए । केलटोलको शिलालेखमा यिनले आफ्ना प्रजाहरुलाई आफ्नो सन्तानलाई जस्तै माया गर्दथे भनेर पनि उल्लेख गरिएको छ । मानदेवले केहि उल्लेखनिय कामहरुको यहाँ चर्चा गरिएको छ ।

राज्यविस्तार

राजा मानदेवले आफ्नो कार्यकालमा राज्यविस्तारका साथै यसलाई सुदृढ पार्ने काम गरेका थिए । उनले राजगद्दीमा बस्नेबित्तिकै पुर्वका सामन्तहरुको दमन गरी हराए र पश्चिमको मल्लपुरीमा पनि आक्रमण गरे । उनले फौजलाई हात्ती, घोडासार र पैदल गरि तीन समुहमा विभाजित गरे । फौजलाई मात्र भिड्न लगाएनन्, आफु स्वयं पनि ति फौज संगसंगै लडे र विजय प्राप्त गरे । लडाईंबाट फर्किएपछि मानदेवले धेरै दान, धर्म गरे र एउटा गरुडको मुर्ति स्थापना गर्न लगाए । स्तम्भमा उनले आफ्ना पुर्खाहरुको गौरवका गाथासंगसंगै विजय वर्णन पनि लेख्न लगाए । जसलाई चाँगुनारायणको स्तम्भलेख भनिन्छ ।

नारी सम्मान

राजा मानदेव महिलालाई सम्मान गर्ने राजा थिए । उनले महिलाहरुलाई पनि राज्यको काममा सहभागी बनाएर यथोचित सम्मान प्रदान गरेका थिए । उनले आफ्नी आमालाई राजमाताको पदवीबाट सम्मानित गरेर राजकाज सम्बन्धि सल्लाह र सुझावसमेत लिने गरेका थिए । बाबु धर्मदेवको मृत्युपछि भावविह्वल भएकी रानी राज्यवतीले सति जाने निर्णय गरिन् । तर उनले सतिप्रथाको कठोर विरोध गर्दै आफ्नी आमालाई सति जानबाट रोकेका थिए । यसबाट, त्यसबखत महिलाहरुलाई सति जान अनिवार्य थिएन भन्ने कुरा बुझ्न सकिने पनि इतिहासकारहरुले बताउने गरेका छन् ।

मानदेवले आफ्नी रानीहरुलाई पनि उत्तिकै सम्मान गर्थे । उनले आफ्नी जेठी रानी भोगिनीलाई बडामहारानीको पदवीबाट सम्मानित गरेका थिए । साथै उनको नामबाट मुद्रासमेत प्रसारित गरेका थिए ।
राजा मानदेवले शिक्षाको क्षेत्रमा छोराछोरीमा भेदभाव राख्दैनथे । त्यसैले आफ्नी छोरी विजयवतीलाई शिक्षा, संगीत, धर्मलगायत सबै कलामा निपुर्ण बनाएका थिए ।

मुद्राको प्रचलन

राजा मानदेवभन्दा अघिका मुद्रा फेला नपरेको हुनाले उनलाई नेपालको इतिहासमा मुद्रा प्रसारित गर्ने प्रथम सम्राट मानिएको छ । उनको पालाको मुद्रा प्राप्त भएकै कारण उनलाई प्रथम प्रमाणिक राजाका रुपमा मानियो । उनले चलाएको तामाको सिक्कामा एकातिर ’श्रीमानाङ्क’ र अर्कोतर्फ ’श्रीभोगिनी’ भन्ने छापिएको छ । ’श्रीमानाङ्क’ लेखिएको ठाउँमा सिंहको चित्र र श्रीभोगिनी छापिएको ठाउँमा कमलको फुलमा बसेकी देवीको चित्र बनाइएको छ । यसमा मानदेवले आफुलाई सिंहजस्तो शक्तिशाली र आफ्नी पत्नी भोगिनीलाई लक्ष्मीको भक्त देखाउन खोजेको जस्तो देखिन्छ ।

मानदेवको संवत

मानदेवको चाँगुनारायणको स्तम्भलेखमा संवत ३८६ लेखिएको छ । लिच्छविकालमा यस संवतको प्रयोग अंशुवर्माको कार्यकालमा पनि भएको पाइन्छ । यस संवतको प्रयोग १४० वर्षसम्म भएको पाइन्छ । यो संवत मानदेवले चाँगुनारायणमा प्रयोग गरेको संवतको अन्तिम संवत हो । यसपछि उनले बेग्लै संवतको प्रयोग गर्न थाले । अंशुवर्माको बुङमतीको अभिलेखमा संवत २९ भनि नयाँ संवत प्रयोग गरिएको छ ।

यो संवतका विषयमा बिभिन्न विद्वानहरुले आआफ्नो तर्क प्रस्तुत गरेका छन् । जसमध्ये केहिले यसलाई उनले चलाएको ’गुप्त संवत’ भनेका छन् भने केहिले ’लिच्छवि संवत’ नाम दिएका छन । भारतका चर्चित सम्राट समुन्द्र गुप्तको अभिलेखमा सो संवतलाई ’शाके संवत’ नाम दिइएको छ । समुन्द्र गुप्तले पनि सोहि संवत उल्लेख गरेका कारण मानदेवले पनि सोहि शाके संवत नै लेखेका हुन् कि भन्ने धारणा पनि केहिले राख्ने गरेका छन् । तर यसको आधिकारिक निष्कर्ष भने निस्कन सकेको छैन ।

आजभन्दा १५ सय वर्ष अघिका उनका कामहरुले उनि निकै दुरदर्शी, प्रगतिशील र आँटिला राजा थिए भन्न सकिन्छ । अर्को कुरा महत्वपूर्ण घटना र परक्रमको शिलालेख लेख्ने उनको कार्य आज इतिहास अध्यनको महत्वपूर्ण दस्तावेज बनेको छ । त्यसैले अभिलेखका दृष्टिले पनि मानदेव एक ऐतिहासिक राजा भएको मान्न सकिन्छ । मानवदेवका अरु पनि थुप्रै कार्यहरु इतिहासमा भेटिन्छन् । यी कार्यले उनलाई लिच्छवी कालका पृथक सम्राटको रुपमा अहिले पनि चिनाएका छन् ।