• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:१८:५२

व्यवसायिक तरकारी खेतीबाट चम्केकी 'मुना भण्डारी'

  • Netizen Nepal
  • शनिबार, १९ कार्तिक, २०७९- ०९:४०:००/ Saturday 11-05-22

पार्वती अधिकारी 
काठमाडौँ, १९ कात्तिक । भनिन्छ, ‘हरेक मानिसमा एउटा न एउटा खुबि हुन्छ । समयमै पहिचान गर्न सकियो भने त्यसले नै मानिसलाई सफल बनाउन सक्छ ।’ सल्यान जिल्लाको शारदानगर नगरपालिका, वडा नं ४, बरलाकीमुना भण्डारी पनि यस कुराको गतिलो उदाहरण हुनुहुन्छ । उहाँमा काम गर्ने जोश, जाँगर, इच्छा, खुबि सबै थियो तर कसरी गर्ने र के गर्ने मेलोमेसो थिएन । दिनभरी खालि बस्दा उहाँलाई पट्यार लाग्थ्यो तर समयको सदुपयाग कसरी गर्ने भेउ पाउन सक्नुभएको थिएन ।उहाँको जिवनको मोड रेडियोको एउटा सुचनाले एकाएक परिवर्तन गरिदियो । सोहि सुचनाले नै मुनालाई सफल कृषि उद्यमी बन्ने ढोकासमेत खोलिदियो । 


आजभोलि उहाँको व्यस्तता निकै बढेको छ । कहिलेकाहीं त मुनालाईँ काम गर्दा गर्दै खाना खाने फुर्सद समेत हुदैन । ’आफ्नै हातले पौरख गर्न थालेपछि त भोक तिर्खा पनि नलाग्ने रहेछ’, लटरम्म फलेको भन्टा टिप्दै उहाँले भन्नुभयो । मुनाले व्यवसायिक तरकारी खेती गर्न थालेको ४ वर्ष भयो । पहिला पहिला साना भन्दा साना आवश्यकता पुरा गर्न श्रीमानको कमाइको भर पर्ने मुनाको जीवनमा यो चार वर्षको अवधिमा  उल्लेख्य परिवर्तन आएको छ । फलस्वरुप  घरायसी खर्च टार्ने, छोरीको पढाइ खर्चको जोहो गर्ने देखि आर्थिक लेनदेनका हरेक कार्य उहाँ आफैं  गर्नुहुन्छ । यति मात्र होइन, आत्मनिर्भरताले आत्मविश्वास त बढाएको छ नै, गाउँका अन्य मानिसका लागिसमेत उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । 

तालिमले खोलेको अवसरको ढोका 

मुनाको १६ वर्षको कलिलै उमेरमा विवाह भयो र कक्षा १० को पढाइ पछि  उहाँको पढ्ने धोको पनि पुरा हुन सकेन । विवाह भएको केहि वर्षपछि श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुक गए। घरमा सानी छोरी थिइन्, उनको स्याहार सुसार र घरधन्दामै उहाँको दिन बित्ने गथ्र्यो । उहाँले त्यो समयमा कुनै नयाँ काम गर्ने सोच र योजना बनाउनुभएको थिएन । 

एकदिन स्थानीय एफ.एम रेडियामा एउटा सुचना बज्यो । सुचनामा भनिएके थियो, ‘व्यवसायिक कृषिसम्बन्धि तालिम सञ्चालन हुँदैछ, इच्छुकले आवेदन दिनुहोला ।’ यो तालिम सिप्रेड संस्थाले स्किल अफ परियोजना अन्तर्गत स्थानीय शिवजन मा.विसंग सहकार्य गरेर आयोजना गर्न लागेको थियो । मुना यसबारे थप बुझ्न विद्यालयमा जानुभयो र फर्म पनि भर्नुभयो । स्थानीय बेरोजगार युवाहरु लक्षित निःशुल्क रुपमा आयोजना गरिएको यो ६० दिने तालिममा मुना छनौटमा पर्नुभयो । यहि तालिम नै मुनाको आयआर्जन र आर्थिक शसक्तिकरणको आधार बन्यो । 

यो तालिमबाट उहाँले व्यवसायिक तरकारी खेती, झोल मल उत्पादन तथा प्रयोग र किटनाशक औषधिको न्युनिकरण र किरा मार्ने घरेलु तरिका लगायतका शिपहरु सिक्नुभयो । त्यस्तै व्यवसायिक योजना निर्माण, कारोबारको अभिलेख,उत्पादनको बजारीकरण,  लगानी व्यवस्थापन, बैङ्किङ कारोबार लगायत विभिन्न महत्वपुर्ण विषयहरुका बारेमा समेत उहाँले तालिमबाट सिक्नुभयो । 

तालिम निकै नै सरल र व्यवहारिक भएकै कारण काम गर्ने प्रेरणा मिलेको बताउँदै उहाँले भन्नुभयो ’हुन त पहिला पनि तरकारी खेति गर्थें । तर मलाई कसरी गर्दा उत्पादन राम्रो हुन्छ भन्ने जानकारी थिएन । स्थानिय तरकारीको माग बजारमा धेरै रहेछ भन्ने कुरा पनि काम गर्न थालेपछि अनुभुत भयो’, उहाँले भन्नुभयो । दुई महिना तालिम लिएर निस्किएपछि उहाँले आफ्नो २ रोपनी जग्गामा तरकारी खेती गरेर सुरु  गर्नुभयो ।  उहाँको व्यवसायिक  तरकारी खेतिमा  साथ दिन परिवारका सदस्य पनि तयार भए ।  परिवारको उदारताले मुनालाई ‘तँ आँट म पुर्याउँछु’ भनेजस्तै भयो । तरकारी उत्पादन र बिक्रि वितरण पनि राम्रो हुन थाल्यो ।उहाँ भन्नुहुन्छ, ‘तरकारी खेतीाटै ३ वर्षमा ८ लाख ऋण तिरेर थप २ रोपनी जग्गा समेत किनियो । अहिले ४ रोपनी जग्गामा तरकारी खेति गरेको छु ।’

मुनाको ४ रोपनी जग्गामा कतै तरकारीका बिरुवा उम्रिंदै छन्, कतै फल्दै छन्, कतै चिचिला लाग्दै छन् । टिप्ने बेला भएका तरकारी पनि एकै किसिमका नभइ झण्डै दर्जन किसिमका छन् । टनेलको सोभासमेत बढ्ने गरि करेला, लौका, भिंडी, साग, खुर्सानी, धनियाँ, सिमि, बोडी, भ्यान्टा, चिचिन्डालगायतका तरकारीहरु लटरम्म छन् । यसरी थरिथरिका तरकारी लगाउँदा उपभोक्ताको मागअनुसार आपूर्ति गर्न सहज हुने र नियमित  आम्दानी पनि हुने उहाँको अनुभव छ । ’धेरै प्रकारका तरकारी लगाउँदा ग्राहकलाई खालि हात पठाउन पनि परेन र पैसाले आफ्नो हात पनि खालि नहुने भयो’, उहाँले भन्नुभयो ।  

विदेशबाट फर्किएका श्रीमानलाई घरमै रोजगारी 

मुनाको बिचारमा काम गर्न महिला या पुरुष भन्ने हुँदैन, बरु जाँगर र इच्छाशक्ति चाहिन्छ । श्रीमानले विदेशमा कमाएको केहि रकममा चित्त बुझाएर बस्नुको साटो उहाँ आफैं काम गरेर स्वरोजगार हुने आँट गर्नुभयो । जुन कुरा हजारौं महिलाका लागि प्रेरणा बन्न सक्छ । तरकारी खेतीबाट आफु मात्र होइन, सासु ससुरा सहित परिवारका सबैजना रोजगार भएका छन् ।

 चार वर्ष खाडिमा बसेर आएका श्रीमानलाई पनि मुनाले देशमै बसेर मिहेनत गर्न सुझाउनुभयो । स्वदेशमै बसेर परिश्रम गर्न उनका श्रीमान राजी भए  र विदेश जाने योजना रद्ध गरेर मुनासंगै काम गर्न थाले । मुनालाई अर्को सहयोगी हात थपियो । मुनाका श्रीमानले तरकारी खेती मात्र नभइ स्थानियले उत्पादन गरेको खुद्रा तरकारी किनेर बजारसम्म लैजाने काम पनि गर्न थाले । यसले गर्दा गाउँलेलाई थप सुविधा मिल्यो भने मुनाको व्यवसायमा थप आम्दानी बढ्न थाल्यो । 

उत्पादित तरकारी आर्मी ब्यारेक, जिल्ला अस्पताल, खलङ्गा कारागार, होटेल र पसल लगायतका स्थानहरुमा लगेर बिक्रि हुन्छ । बजारको मागअनुसार आपुर्ती गर्न अझै नसकिएको मुनाको भनाइ छ । अहिले बार्षिक ४ देखि ५ लाखसम्म आम्दानी गर्छन् उनिहरु । मुनाका श्रीमान् प्रदिप ओली पनि श्रीमतीको तरकारी खेति प्रतिको लगाव निकै राम्रो भएको भन्दै उनकै कारण आफू विदेश जान नपरेको बताउँछन् । प्रदिप पनि विदेशमा भन्दा स्वदेशमै धेरै कमाइ भएको बताउँछन् । 

सिजनमा धान र गहुँ लगाउने र बाँकी समय खालि हुने जग्गा अहिले बाह्रै महिना हरभरा हुन्छ । ‘धान र गहुँ बेच्दा मुस्किलले वर्षमा ३० हजार जति आम्दानी हुन्थ्यो । केहि रकम हात पार्न सिजन नै कुर्नुपथ्र्यो । तर अहिले हरेक दिन कमाइ हुन्छ । हातमा धेरथोर पैसा टुट्दैन’, मुनाले भन्नुभयो । तरकारी बिक्रिबाट मात्रै वर्षमा ६ लाख आम्दानी हुने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘३० हजार कहाँ, ६ लाख कहाँ ? काम गर्नुपर्ने रहेछ । पैसा कमाउन टाढा जानुपर्दैन ।’

प्राङ्गारिक खेती र विषादीरहित तरकारी 

पछिल्लो समय खाद्यान्न तथा तरकारीहरु विषदीरहित पाउन मुस्किल छ । मानिसमा एउटा भ्रम छ कि ‘विषदीले किरा मार्छ ।’ तर उनिहरुले यो कुरा विचार गर्न सकेका छैनन् कि विषदीले किरा मात्र नभइ प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा समेत ठुलो असर पारिरहेको छ । धेरै फलाउने र राम्रो, सलक्क देखाउने चक्करमा स्वास्थ्यमा खतरनाक असर परिरहेको छ । कृषकहरुलाई पनि बानी परिसकेकाले यसलाई तत्काल रोक्न सक्ने स्थिति पनि छैन । त्यसैले मुना जस्ता व्यवसायिक कृषकहरुबाट यसको न्युनिकरणका लागि सचेतनासमेत जगाउन सकिन्छ । 

उहाँले उत्पादन गरेको तरकारी विषदीरहित मात्र नभइ रासायनिक मलरहित पनि छ । उहाँ तरकारीमा किरा लागेमा विषादीको सट्टा झोल मल र अन्य कीरा मार्ने झारहरुको प्रयोग गर्नुहुन्छ र घरमै उत्पादन भएको कम्पोष्ट मल प्रयोग गर्नुहुन्छ । जसले गर्दा ग्राहकहरुले विषादीरहित अर्गानिक तरकारी उपभोग गर्न पाएका छन भने उनिहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभावसमेत परेको छ । मुना भन्नुहुन्छ, ‘ग्राहक स्वस्थ हुनु नै मेरो सन्तुष्टी हो । अब बिना विषदी र रासायनिक मलको कृषि उपज उत्पादन र उपभोग गर्न किसान र उपभोक्ता दुवै जागरुक हुन जरुरी छ ।’

आर्थीक सशक्तिकरण

बैंकिंग कारोबारका बारेमा त्यति धेरै नबुझेकी उहाँले अहिले तीनवटा बैंकमा कारोबार गर्नुहुन्छ । लेनदेनदेखि हिसाबकिताब राख्नेसम्म सबै कुरा आउँछ मुनालाई । पहिला घरधन्दामै सिमित मुना अहिले व्यवसायी मुना बन्नुभएको छ । बैंकमा मात्र होइन, गाउँको सहकारीमा पनि उहाँ रकम जम्मा गर्नुहुन्छ । 

तरकारी बेचेर आएको सबै रकम उहाँकै खातामा जम्मा हुने गरेको छ । आवश्यक खर्च र बचत उहाँ आफैं गर्नुहुन्छ । श्रीमानले पनि यो कुरामा साथ दिएका छन् । अधिकांश घर व्यवहारमा पुरुषको मात्र हालिमुहाली हुने गरेको तर मुनाको हकमा भने दुवैजनाले बराबर जिम्मेवारी वहन गर्छन् । जसले गर्दा परिवारमा समानताको कुरा समेत प्रष्ट रुपमा झल्किन्छ । महिला सशक्तिकरणका लागि आरक्षण या कोटा नभइ अवसरको खाँचो हुने मुनाको अनुभव छ । ‘महिला सशक्तिकरण नारा लगाएर हुँदैन । बरु अवसर दिनुपर्छ । महिला आर्थीक रुपमा सबल बन्न सकिन् भने उनलाई कुनै साहारा, आरक्षण या अधिकारको ठुलाठुला भाषणको जरुरी नै पर्दैन । उनको जिवन यसै परिवर्तन हुन सक्छ’, उहाँले भन्नुभयो । 

नेपालमा केहि नदेख्ने र पैसाको रुखै भएजसरी विदेश हानिने युवाहरुलाई मुना भन्नुहुन्छ, ‘पैसा कमाउन विदेश जानु पर्दैन, नेपालमै प्रशस्त संभावना छ । संभावनाको पहिचान गर्न सक्नुपर्छ र मेहेनत गर्ने सङ्कल्प पनि हुन जरुरी छ ।’ तरकारी खेतीमात्र होइन पशुपालन, फलफुल खेती, कुखुरापालन, अन्नबाली जे सुकै पनि गर्न सकिन्छ । आफ्नो गैरी खेत बाँझै छाडेर कोरियामा खोरिया खन्न जाने प्रबृत्ति कम भए देशलाई कृषिबाट पनि आत्मनिर्भर बनाउन सकिने उहाँको तर्क छ । 

आफ्नै व्यवसाय गर्न थालेपछि मुनालाई छरछिमेकी र आफन्तले हेर्ने नजरसमेत फेरिएको छ । व्यवसायिक तरकारी खेतिमार्फत आफ्नो आत्मासम्मान समेत बढेको बताउँदै उहाँले भन्नुभयो, ’आफुलाई आवश्यक खर्च गर्न मलाई कुनै चिन्ता छैन । साथिहरुले सरसापट मागे भने पनि सजिलै दिन सक्छु । छरछिमेकी र आफन्तले पहिला सामान्य महिलाका रुपमा हेर्थे भने अहिले सम्मानका दृष्टिले हेरेजस्तो महसुस हुन्छ ।’  

मुनाको  मेहनतको कदर गर्दै स्थानिय र प्रदेश सरकारले समेत टनेल निर्माण गर्न सहयोग गरेको छ । जिल्ला शाखा, कृषि विकासलगायत सरकारी निकायका कर्मचारीहरु आएर आफुलाई प्रोत्साहन गरेको उहाँ बताउनुहुन्छ । साथै उहाँको फार्मलाई नमुना फार्मको रुपमा हेर्न आउनेहरु पनि बढ्न थालेका छन् ।

 आफु यसरी आत्मनिर्भर हुनुको पछाडी मेहेनतको कुरा त भइहाल्यो तर तालिमको महत्वपुर्ण भुमिका रहेको बताउँदै उहाँ भन्नुहुन्छ’, ‘म अवसरको खोजि गर्दै थिएँ, सिप्रेड संस्था र स्किल अप परियोजना मेरो यो सफलताका आधार हुन्, म निकै आभारी छु । आफ्नो मात्र नभइ भर्खरै कखरा सिक्दै गरेकी छोरीलाई भविष्यमा राम्रोसंग पढाएर सफल बनाउनेसम्मका योजना छन् मुनासंग । 

१२ लाख कमाउने योजना

तरकारी खेतीबाट भएको सफलताले मुनालाई थप काम गर्न हौस्याएको छ । अब उहाँ आफु मात्र नभइ गाउँका केहि मानिसलाई पनि रोजगारी दिने गरी थप तरकारी खेति गर्ने र आफ्नो बार्षिक आम्दनीलाई १० देखि १२ लाखसम्म बनाउने उहाँको योजना छ , । अब वार्षिक आम्दानीलाई बढाएर डबल बनाउने सोच छ उहाँको । त्यसका लागि थप जमिन भाडामा लिएर छिट्टै खेति सुरु गर्ने बताउँँदै उहाँले भन्नुभयो, ‘मागअनुसारको तरकारी पुर्याउन सकेको छैन । त्यसैले थप जग्गा भाडामा लिएर खेति गर्ने योजना बनाएकी हुँ । जुन काम छिट्टै सुरु गर्ने तयारीमा छु’, उहाँले भननुभयो ।