• शनिबार, १२ श्रावण, २०८१
  • ०१:३८:४७

विद्यालयमा महिनावारी स्वच्छता : केहि गर्न खोजे पनि नगरेजस्तो

  • Netizen Nepal
  • शुक्रबार, २ मङ्सिर, २०७९- १८:५२:००/ Friday 11-18-22

रजनी योगी 

सुर्खेत,२ मङ्सिर : दैलेखको गुराँस गाउँपालिकास्थित गुराँस आधारभूत विद्यालयमा अध्यनरत किशोरी उमेरका छात्राहरूलाई महिनावारीका बेला निकै समस्या पर्छ । महिनावारी हुँदा विद्यालयले स्यानिटरी प्याड उपलब्ध गराउने भएपनि प्रयोगपछि त्यसको व्यवस्थापन कहाँ गर्ने भन्ने चिन्ता उनीहरूलाई हुने गरेको हो । कक्षा ८ मा अध्ययनरत कल्पना विक प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा महिनावारीको समय आयो कि तनाब हुने बताउँछिन् । उनी भन्छिन्, ‘विद्यालयमा मात्र होइन घरमा पनि प्याड कहाँ फाल्ने भन्ने समस्या भइरहन्छ ।’ यसै विद्यालयको कक्षा ८ कै छात्रा पूर्णिमा बोहरा र करिस्मा चत्रिमगरको समस्या पनि उस्तै छ । प्याड प्रयोग गरेपछि त्यसको विसर्जनमा अप्ठ्यारो हुने गरेको उनीहरू बताउँछन् ।

विद्यालयले गत वर्षदेखि छात्राहरूलाई निःशुल्क प्याड उपलब्ध गराउन थालेको छ । प्याडको समस्या हटेपनि प्रयोग गरेपछि विसर्जन गर्ने ठाउँ नहुँदा छात्राहरूलाई असहज हुने गरेको विद्यालयकी शिक्षिका शान्ति कार्कीले बताइन् । ‘पहिले छात्राहरू महिनावारी भएको बेला तीन–चार दिन विद्यालय छुटाउँथे, पढाइ छुट्थ्यो,’ उनले भनिन्, ‘अहिले विद्यालयमा नियमित आउँछन् ।’ शिक्षिका कार्कीका अनुसार विद्यालयले सुरक्षित महिनावारी प्रवद्र्धनमा सहज वातावरण बनाउने कोसिस गरिरहेको छ । यति हुँदाहुँदै किशोरी र अपाङ्गमैत्री शौचालय विद्यालयमा छैन । न त पर्याप्त पानीको व्यवस्था छ । महिनावारीका बेला आराम गर्ने कोठा र प्याड विसर्जनको व्यवस्थासमेत यो विद्यालयले गर्न सकेको छैन । विद्यार्थी तथा विशेषगरी छात्राहरूले केही अप्ठ्यारो भोग्नुपरेकाले यसले आफूलाई निकै चिन्तित बनाउने गरेको कार्कीले सुनाइन् ।

विद्यालयमा विसर्जनको व्यवस्था नहुँदा छात्राहरू प्रयोग भएको प्याड आफ्नै झोलाभित्र राख्छन् । विद्यालयबाट निस्किएपछि वनजंगल र खोला, खोल्सा खोज्दै त्यतै फ्याँक्छन् । यस्तो गर्नु आफूहरूको रहर नभइ बाध्यता भएको छात्रा पूर्णिमाले बताइन् । ‘हामीलाई प्याड त दिइयो, विसर्जन गर्ने तरिका बताइएन र विद्यालयले यो सुविधा पनि उपलब्ध गराउन सकेन,’ उनले भनिन्, ‘प्लाष्टिकमा पोको पारेर जंगलमा फ्याँक्ने गरेका छौँ ।’ कल्पना, पूर्णिमा र करिश्मा जस्तै यहाँ अध्ययनरत सबैजसो किशोरी उमेरका छात्राको समस्या हो, यो । व्यवस्थापनको पाटो कमजोर हुँदा सुरक्षित महिनावारी प्रवद्र्धन लागि विद्यालयले सञ्चालन गरेका अभियान तथा कार्यक्रम पूर्णरूपमा प्रभावकारी बन्न नसकेका हुन् ।

एक वर्षअघिसम्म गुराँस आधारभूत विद्यालयका छात्राहरू महिनावारी भएका बेला विद्यालय जान हिचकिचाउँथे । यो बेला एकातिर स्वास्थ्यमा समस्या हुने र अर्कोतिर स्यानिटरी प्याड नपाइने समस्या थियो । रजस्वला भएका बेला लुगामा रगत लाग्ने र अरुले देख्लान् भनेर पढाइमा ध्यान नजाने भएकाले उनीहरू निकै समस्यामा थिए । किशोरी छात्राहरूलाई विद्यालयमा महिनावारीका बेला सहज वातावरण र स्यानिटरी प्याडको आवश्यकता देखिएपछि विद्यालयले प्याड त व्यवस्थापन ग¥यो । तर, सरसफाइका अन्य व्यवस्थापन भने अहिलेसम्म हुन सकेनन् । छात्रा करिस्माका अनुसार विद्यालयले हरेक महिना एकैचोटी पाँच वटा प्याकेट प्याड उपलब्ध गराउँछ । प्याडको प्रयोग गर्न थालेपछि महिनावारीका बेला सहज हुने गरेको उनी बताउँछिन् । सुरक्षित महिनावारी प्रवद्र्धनका लागि चेतनासँगै प्याडको प्रयोग र विसर्जनबारे पनि छात्राहरूलाई सिकाइनुपर्ने उनले बताइन् । महिनावारीका विषयमा चेतना बढ्दै गए पनि स्वच्छता र सरसफाइको बारेमा सचेतना कमै भएको गुराँस आधारभूत विद्यालयका छात्राहरूले बताएका छन् ।

महिनावारीको विषय केही वर्षअघिसम्म विद्यालयको पनि प्राथमिकताको विषय थिएन । त्यसैले विद्यालयमा छात्रा मात्र होइन, शिक्षिकाहरू पनि यस विषयमा खुलेर बोल्न सरम मान्थे । सरकारले ‘स्यानिटरी प्याड कार्यविधि २०७६’ निर्माण गरी सामुदायिक विद्यालयमा प्याड उपलब्ध गराउन थालेपछि यस विद्यालयमा पनि स्थानीय सरकारले प्याडका साथै सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । जसका कारण छात्राहरूको स्वास्थ्य र शैक्षिक सुधारमा सहयोग पुगेको विद्यालयकी शिक्षिका कार्कीले बताइन् । महिनावारीलाई स्वास्थ्यको सवालको रूपमा लिने, यसको बारेका छात्राहरूले खुलेर कुरा गर्ने जस्ता व्यवहारमा सुधार भएको उनको भनाइ छ ।

महिनावारी स्वच्छताको बारेमा भने धेरैलाई जानकारी छैन । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको बैठक तथा छलफलमा प्याड वितरणको विषयले प्राथमिकता पाएपनि स्वच्छताको सवालमा खासै सरोकार नराख्ने गरिएको छ । प्याड व्यवस्थापनमा समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले बताए । उनी भन्छन्, ‘छात्राहरूलाई प्याड वितरण गर्ने काम भयो, तर यसको विसर्जनको विषयमा हामीले ख्यालै गरेनाँै ।’ उनका अनुसार महिनावारी स्वच्छताका लागि विद्यालयमा किशोरीमैत्री शौचालय बनाउने योजना छ । प्रयोग भएका प्याडलाई भने खाडल खनेर विसर्जन गर्न सकिने भएकाले त्यो काम छिट्टै गरिने उनले बताए । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले महिनावारी स्वच्छता र महिलासँग जोडिएका स्वास्थ्यसम्बन्धी सवालको पालिकाले उचित सम्बोधन गर्ने बताउँछन् । ‘छात्राहरूलाई प्याडको प्रयोग र विसर्जनमा समस्या देखिएको छ,’ उनले भने, ‘यसका लागि विद्यालयसँग समन्वय गरेर आवश्यक व्यवस्थापन गरिनेछ ।’ विद्यालयहरूमा वितरण गरिने स्यानिटरी प्याड गुणस्तरी नहुँदा पनि समस्या भइरहेको गुराँस अस्पतालमा कार्यरत अनमी मीरा शाहीले बताइन् । पालिकाहरूले सस्तो पर्ने प्याड खरिद गर्दा गुणस्तर नहुने गरेको उनको भनाइ छ ।